घरमा उत्पादित सौर्य बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा

घरमा उत्पादित सौर्य बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा

४ पुस , काठमाडौं । घर-घरमा उत्पादित सौर्य ऊर्जाको मूल्य प्रतियुनिट सात रुपैयाँ ३० पैसा तय भएको छ ।घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् ।

घर-घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौर्य ऊर्जा खरिद गर्ने कार्यविधि ऊर्जा मन्त्रालयले तयार पारेको हो । त्यससँगै घरधनीहरुले प्राधिकरणलाई बिजुली बेच्ने बाटो खुलेको हो ।‘घरायसी तथा संस्थागत सौर्य विद्युत उत्पादन आयोजनाले प्राधिकरणबाट खरिद गरेकोभन्दा प्रणालीमा दिएको बिजुली बढी भएमा खरिद गरिने छ,’ कार्यविधिमा उल्लेख छ ।संस्थागत र घरायसी उत्पादन गणना गर्न ‘नेट इनर्जी मिटरिङ’ जडान गरिने व्यवस्था कार्यविधिमा छ ।‘ग्रिड कनेक्टेड सौर्य ऊर्जा विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार घरायसी प्रयोजनका लागि पाँच सय वाटदेखि १० किलोवाटसम्म उत्पादन गर्न सकिनेछ । त्यसका लागि विद्युत विकास विभागबाट अनुमति लिनु पर्दैन ।१० देखि चार सय ९९ किलोवाटसम्म विद्युत उत्पादन गर्नेलाई संस्थागत र पाँच सय वाटमाथिलाई व्यापारिक सौर्य ऊर्जा मानिने कार्यविधिमा उल्लेख छ ।१० किलोवाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनीले भने विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति लिनुपर्नेछ ।एक मेगावाट वा त्यसभन्दा बढीका सौर्य ऊर्जा उत्पादक आयोजनाले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र काम सक्नुपर्नेछ । एक वर्षभित्रमा अध्ययन हुन नसके थप एक वर्ष समय थप हुन सक्नेछ ।यस्तै, संस्थागत तथा व्यापारिक सौर्य ऊर्जा उत्पादन अनुमति पत्र प्राप्त गरेको दुई वर्षभित्रमा उत्पादन शुरु गर्नुपर्नेछ । दुई वर्षभित्र उत्पादन हुन नसकेमा स्पष्ट कारण खुलाए मात्र थप एक वर्ष समय बढाउन सकिने व्यवस्था पनि गरिएको छ ।साथै, सौर्य ऊर्जा ‘टेक अर पे’ अर्थात् खरिद नगरे पनि रकम तिर्ने गरी विद्युत खरिद सम्झौता गरिनेछ । र, यस्ता आयोजनाले पहुँच मार्ग र प्रसारण लाइन आफैं निर्माण गर्नुपर्नेछ ।

source online khabar

Share