पाँच दलको बैठक निष्कर्षविहीन, सरकार गठनमा अवरोध नगर्न वाम गठबन्धनको आग्रह

पाँच दलको बैठक निष्कर्षविहीन, सरकार गठनमा अवरोध नगर्न वाम गठबन्धनको आग्रह

७ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको समर्थन गरेका छन् ।तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको विरोध गरेका छन् ।‘प्रधानमन्त्रीले राष्ट्रपति कहाँ जुन अध्यादेश प्रस्तुत भएको छ त्यसमा सहमति चाहियो भन्नुभयो’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न सकिएन ।’कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा उल्लेख रहेको एकल संक्रमणीय मतप्रणालीमा फोरम र राजपाको पनि सहमति जनाएको बताए ।  ‘एमाले अध्यक्ष ओलीलीले यो असंवैधानिक हो, एकल संक्रमणीय मिल्दैन भन्नुभयो,’ निधिले भने,’महन्थ ठाकुर र उपेन्द्र यादवजीले हामी एकलसंक्रमणीय पक्षमा छौं भन्नुभयो ।’बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् ।तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् । बैठकपछि नेता रामचन्द्र पौडेलले भने, ‘सरकारले पठाएको अध्यादेश रोक्न मिल्दैन । तपाईहरु (एमाले-माओवादी)ले रोक्न भन्न पनि मिल्दैन ।’प्रधानमन्त्री देउवाले भने आफू सरकार छाड्न तयार नै भएको बताएका छन् । ‘म छिट्टै मुक्त हुन चाहन्छु । जनताको जनोदश अनुसार सरकार बनोस् भन्न्न चाहन्छु’ देउवाको भनाइ उदृत गर्दै कांग्रेस नेता निधिले भनेका छन् ।

source onelinekhabar

Share