यूएईको ए टिमलाई नेपालको ३३४ रनको चुनौती, ज्ञानेन्द्रको १५४ रन

यूएईको ए टिमलाई नेपालको ३३४ रनको चुनौती, ज्ञानेन्द्रको १५४ रन

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा युएईको ए टिमलाई ३३४ रनको चुनौति दिएको छ । नेपालका ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनसँगै युएईको ए टिमलाई विशाल लक्ष्य दिएको हो ।

नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३३ रन बनएपछि युएईको ए टिमले ठूलो लक्ष्य पाएको हो । आईसीसी एकेडेमी ओभलमा भएको अभ्यास खेलमा नेपालका लागि ज्ञानेन्द्रले राम्रो ब्याटिङ गर्दै १५४ रनको पारी खेले । ज्ञानेन्द्रले १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाएका हुन् । पछिल्लो समयमा नेपालका ओपनर्सको राम्रो ब्याटिङ नभई रहेको अवस्थामा ज्ञानेन्द्रको शतकीय प्रदर्शनले केही राहत दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाएका थिए । दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउँदै आउट भए ।

ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाएर आउट भए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । ऐरी ३४ बलमा ३४ रन बनाएर आउट भए  ।

ऐरीपछि ब्याटिङ गर्न आएका आरिफ शेखले राम्रो ब्याटिङ गरे । उनले अविजित ३३ बलमा ४१ रन बनाए । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले युएईको ए टिमलाई २५ रनले पराजित गरेको थियो ।

Source baahrakhari

Share