केन्याको पाँचौं विकेट गयो, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

केन्याको पाँचौं विकेट गयो, सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

खेलमा नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिएका छन् भने १ विकेट बसन्त रेग्मीले हात पारेका छन्।  सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे। ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए। यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।

सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके। सन्दीपले ८ ओभर बलिङ गर्दा ५ मेडन राखिसकेका छन् । उनले १२ रन खर्चिएका छन्।

पटेललाई आउट गर्नअघि बसन्तले केन्याका ‌ओपनर इर्फान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

ब्याटिङ गरिरहेको केन्याले ३६ ओभरमा ५ विकेट गुमाएर १०८ रन जोडेको छ।

यसअघिका नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो। केन्याले भने तेस्रो खेल खेल्न लागेको हो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो।

नेपाल र केन्याबीच पछिल्लो ३ वर्षमा पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपाल विरुद्धका पछिल्ला ४ मध्ये केन्याले ३ खेलमा जित हात पारेको छ। नेपाल १ खेलमा विजयी भएको छ।

डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत भएको पछिल्लो खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको थियो। टियु मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ५६ लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पार गरेको थियो। नेपालको जितमा ज्ञानेन्द्र मल्लले नटआउट ६४ र दीपेन्द्रसिंह ऐरीले ६२ रन जोडेका थिए। त्यसअघि टियु मैदानमै भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको थियो।

सन् २०१५ को डिभिजन-२ मा खेलिएका दुवै खेलमा नेपाललाई केन्याले पराजित गरेको थियो। समूह चरणमा केन्याले नेपाललाई ५ विकेटले हराएको  थियो। यस्तै तेस्रो स्थानको प्लेअफमा पनि नेपालमाथि केन्याले १५ रनको जित हात पारेको थियो।

जारी डिभिजन-२ मा नेपाल ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो। यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।

अंक तालिकाको तेस्रो स्थानमा युएई छ। युएईले एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोरिसकेको छ। २ खेलबाट २ अंक जोडेको आयोजक नामिबिया चौथो तथा ३ खेलबाट २ अंक जोडेको ओमान पाँचौ स्थानमा छ। दुवै खेलमा पराजित केन्या पुछारमा छ।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

Source nepallive

Share