सन्दीप लामिछाने जिम्बावे भ्रमणपछि दिल्ली जाने

सन्दीप लामिछाने जिम्बावे भ्रमणपछि दिल्ली जाने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा ‍स्पिनर सन्दीप लामिछाने जिम्बावे भ्रमणपछि इन्डियन प्रिमयर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्सको क्याम्पमा सहभागि हुने भएका छन्।

गत महिना दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै सन्दीपले इतिहास बनाएका थिए। दिल्लीमा आवद्ध  हुँदा अभ्यासका लागि दुबईमा रहेका सन्दीप त्यतैबाट नामिबिया प्रस्थान गरेका थिए।

नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए। डिभिजन–२ मा १७ विकेट लिँदै सन्दीप म्यान अफ दि सिरिज भएका थिए।

नामिबियाबाट नेपाली टिम आज स्वदेश फर्कदैछ। एक साता स्वदेशमै अभ्यास गरेपछि नेपाली टिम एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछ। प्रतियोगिता २५ मार्चसम्म हुनेछ। जिम्बावे भ्रणणका लागि सन्दीप सहितको नेपाली टिमको भिसा लागिसकेको छ। डिभिजन–२ खेलेका १४ खेलाडीसहित थप एक खेलाडी गरी १५ सदस्यीय नेपाली टिमले जिम्बावे भ्रमण गर्नेछ। जिम्बावे भ्रमणपछि सन्दीप आइपिएल खेल्न दिल्ली प्रस्थान गर्नेछन्।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सकिएको १४ दिनपछि आइपिएल सुरु हुनेछ। छनोट सकिए लगत्तै आइपिएल टिमको क्याम्प सुरु हुने छ। किनकी आइपिएल खेल्ने धेरै खेलाडी एकदिवसीय विश्वकप छनोटमा पनि सहभागी हुनेछन्।

आइपिएल साढे एक महिना चल्ने भएको हुँदा सन्दीपले धनगढी प्रिमियर लिग (डिपिएल) भने खेल्नेछैनन्।

विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। समूहमा नेपाल र आयोजक जिम्वाबेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्। नेपालले पहिलो खेलमा आयोजक जिम्वाबेसँग खेलेको चार दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसको २–२ पछि नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ।

त्यसअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ। नेपालले फागुन १५ मा युएई र फागुन १७ मा हङकङसँग वार्मअप खेल खेल्ने आइसिसीको आधिकारीक वेभ पोर्टलले जनाएको छ।

विश्वकप छनोटमा नेपालको खेल 
फागुन २० गते – जिम्वाबे विरुद्ध – क्विन्स स्पोट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोट्स क्लब
फागुन २६ गते–  अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोट्स क्लब

Source nepallive

Share