माओवादी केन्द्रबाट चार मन्त्री थपिँदै

माओवादी केन्द्रबाट चार मन्त्री थपिँदै

माओवादी केन्द्रमा मन्त्रीको लागि रस्काकस्सी भइरहँदा अन्तिम अवस्थामा गिरीजामणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र बीना मगर मन्त्री बन्ने पक्का भएको छ । कुनै अप्रिय अवस्था नआएमा यिनै चारजनाले शुक्रबार अपरान्ह ४ बजे शपथ लिनेछन् । पुरानाले मन्त्रीको महत्वका‌ंक्षा राखेपछि नयाँले ‘चान्स’ पाउने सम्भावना कम देखिएकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी तथा माओवादी केन्द्रकी नेतृ बीना मगरबाहेक सबै पुरानै अनुहारका मन्त्री बन्दैछन् । माओवादीले ऊर्जा, सहरी विकास, वन र कृषि मन्त्रालय पाउने सम्भावना छ ।

प्रदेश २ बाट पोखरेल, प्रदेश ५ बाट पुन, प्रदेश ६ बाट शर्मा र प्रदेश ७ बाट मगर मन्त्री बन्ने भएका हुन् । प्रदेश ३ बाट रामबहादुर थापा‘बादल’ गृह र प्रदेश २ बाट मातृका यादव उद्योग तथा वाणिज्य मन्त्री यसअघि नै भइसकेको छन् ।

प्रदेश २ बाट दुईजनाले मन्त्री बन्ने अवसर पाउँदैछन् भने प्रदेश १ र ४ बाट कोही पनि मन्त्रिपरिषद्‍मा नपर्ने भएका छन् । मधेसवादी संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मधेसवादी दल पनि सरकारमा आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवटा मन्त्रालय थप्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीको कार्यालयसहित अब मन्त्रालयको संख्या २१ पुग्ने भएको छ। देश संघीयतामा गएपछि गठित उच्चस्तरीय समितिले १५ वटा मात्रै मन्त्रालय संघीय सरकारमा राख्न सुझाव दिएको थियो।

तर, तीन तिहाइको सरकार निर्माणमा अग्रसर प्रम ओलीले मधेसवादी दलका लागि मन्त्रालय थप्ने निर्णय गरेका हुन्। थपिएका मन्त्रालयहरुमा सिचाइँ, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन्। यी मन्त्रालय हाल रहेका मन्त्रालय फुटाएर बनाइएको हो।

ओली सरकारले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएको छ। जस अनुसार अबबाट शिक्षा र युवा तथा खेलकुद मन्त्रालय अलग्गै अस्तित्वमा हुनेछन्।

त्यसैगरी ओली सरकारले श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालय पनि फुटाएको छ। अबबाट श्रम तथा रोजगार र महिला तथा बालबालिका फरक फरक मन्त्रालय हुने भएका छन्।

दलहरुबीच भागबन्डा मिलाउने नाममा मन्त्रालय टुक्राउन नहुने विज्ञहरुले सुझाव दिएका छन्। धेरै जसो अधिकार प्रदेश र स्थानीय तहमा गइसकेको भनदै केन्द्रमा सानो मन्त्रिपरिषद् हुँदा राम्रो हुने प्रशासन विज्ञले सुझाएका छन्।

ओलीले सबैलाई भाग मिलाउन मन्त्रालय फुटाउन लागेका हुन्। फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। उसले दुई मन्त्रालय मात्र पाउने सम्भावना रहेको बुझिएको छ। यादवसँगै राजेन्द्र श्रेष्ठ पनि सरकारमा जाने करिब पक्का जस्तै छ। यसरी भागबण्डा मिलाउँदा माओवादीको तर्फबाट चारजना मात्र मन्त्री बन्ने भएका हुन्।

Share