जीवन यदि यात्रा हो भने, यसले यात्राका केही नियम वा धर्म पक्कै पालना गरेको हुन्छ ।

जीवन यदि यात्रा हो भने, यसले यात्राका केही नियम वा धर्म पक्कै पालना गरेको हुन्छ ।

जीवन यदि यात्रा हो भने, यसले यात्राका केही नियम वा धर्म पक्कै पालना गरेको हुन्छ । यात्रामा केही कुरा आफूसँगै यात्रा गर्छन् । र, धेरै कुरा त छुट्छन् । परका कुराहरु वर हुँदै जान्छन् । अनि वरका कुराहरु पर छुट्दै जान्छन् । यात्रा भन्नु आखिर यस्तै त हो, कसलाई के थाहा र ? को कहाँ भेटिन्छन् अनि को कहाँ छुट्छन् । के थाहा को कहाँसम्म हुन्छ र कोसित कहाँसम्म भइन्छ !

जसै बाटो अगाडी हामी बढिरहन्छौँ, पछाडी छुट्दै जान्छन्, घरहरु, खेतहरु, जङ्गलहरु, रुखहरु, खोला, नदी, मानिसहरु, मन्दिर, चर्च, मस्जिदहरु, चोकहरु, अनि गल्लीहरु । गाउँ अनि सहरहरु । हामी हिँडिरहेको बाटो स्वयम् नै पनि छुट्दै जान्छ । अनि छुट्दै जान्छ हामी बाँचेको समय पनि ।

केही सहयात्री हामीसितको यात्राबाट छुटिएर जान्छन्, केही यात्री हामीसितको यात्रामा सहयात्री बन्न आइपुग्छन् । यस्तै चलिरहन्छ, कुनै गाडीमा चढ्ने अनि ओर्लनेहरु भएझैँ, जो कहीँ न कहीँ गएर आफूबाट छुट्छन् या आफैँ तिनबाट छुटेर जानुपर्ने अवस्था आउँछ ।

छुटे जीवनमा धेरै कुरा । उकालो चढ्दा चढ्दै, थाकेर चौतारोमा आराम गर्दा एकैछिनलाई बिसाएको टोपी, त्यहीँ छुटिगयो ।

बाबाको हात समाएर हिँड्दा हिँड्दै, कुन उमेरमा छुटेछ आफ्नै बाल्यकाल । छुटिगयो जीवनकै यात्रामा बढ्दै गरेको उमेरका कारण आफ्नै आमाको काख । छुट्यो स्कूलको एसेम्ब्लीमा गाउने राष्ट्रगान जब टेकेँ पहिलोपटक कलेजको प्राङ्गण । उमेरहरु छुट्दै गए । स्वभावहरु छुट्दै गए । जसै सबैका रहरमा पखेँटा पलाउन थाले, भाइ बहिनी, दिदी, दाजुहरुको सामीप्य छुट्यो । काँचो उमेरमा प्रेम छिप्याउन नसकेर छुट्यो प्रेयसीको साथ ।

र, म आफैँ ठाउँ ठाउँमा छुट्दै गएँ । अहिले, यतिखेर म, जो बाँकी रहेको छु, त्यो मबाट म छुट्दै छुट्दै गएर बाँकी रहेको सानो म हुँ ।

कति क्लासहरु छुटे, कति एक्जाम छुटे, कति बस छुटे, सिनेमाघरमा लागेका कति सिनेमाहरु हेर्न जाउँला भन्दा भन्दै छुटे, कति भेटहरु छुटे, कति साथी छुटे, कति पिकनिक छुटे, कति जागिरका इन्टरभ्यूहरु छुटे, कतिसितको प्रेमसम्बन्ध छुटे, कतिसितको अरु नै सम्बन्ध छुटे । कतिलाई के के कुरा भन्नु थियो, उतिबेलै छुटे । कतिका केही सुन्नु थियो ती पनि छुटे । कति अवसरहरु छुटे । कति रहरहरु छुटे । केही कुराहरु नछुटेर, जोगिएर धेरै समयसम्म रहेका थिए । पछि गएर ती कुरापनि छुटे । ठीक त्यसैगरी छुटे सब कुराहरु, जसरी छुट्छन् एक स्टेशनमा बदाम बेच्न बसमा चढेका दाइ अर्को स्टेशनमा । जसरी छुट्छन् मिठो सारङ्गी बजाउने भाइ दुइचार स्टेशन पश्चात् । त्यसैगरी छुटे जसरी छुट्छ बसमा यात्रा गर्दा हाइवेमा खाना खाएको ठाउँ । ठीक त्यसैगरी छुट्यो जसरी छुट्यो धाराबाट पानीको फोहोरा ।
कहीँ छुटे दुःखहरु, जो उही रुपमा कहिल्यै फर्केर आएनन् । कहीँ छुटे खुसीहरु पनि जो त्यही रुपमा फर्केर आउन सकेनन् ।

ती कुराहरु, जो छुटे, छुट्दै गए, ती सबै छुटेकाले नै तिनको महत्व आजपनि छ झैँ लाग्छ । ती नछुटेर हाम्रै साथमा आएको भए तिनको यति धेरै महत्व हुँदैन थियो । सायद तिनको सुन्दरता छुट्नुमा नै थियो । तिनको सुन्दरता भनेको हाम्रो यात्रामा नअटाउनु नै थियो । ती सब कुरा सम्झनामै सुन्दर हुँदा हुन् । छुटेका ती कुरा परबाट हेर्दा नै सुन्दर देखिँदा हुन् । केही कुरा, साथ हुँदा सुन्दर लाग्छन् । र केही कुरा साथ नहुँदा सुन्दर लाग्छन् । साथमा भएको कुरालाई महत्व दिउँ उसको अस्तित्वलाई खुल्ला हृदयले स्विकारेर । साथमा नभएको, जीवनको लामो यात्राको सुदुर अतीतमा छुटेको कुरालाई पनि महत्व दिउँ सम्झनामा बारम्बार ल्याएर ।

Share