के आइपीएलमा खेल्न पाउँलान् सन्दीप : यसो भन्छन् प्रशिक्षक पोन्टिङ

के आइपीएलमा खेल्न पाउँलान् सन्दीप : यसो भन्छन् प्रशिक्षक पोन्टिङ

काठमाडौँ । नेपाली युवा स्पीनर सन्दीप लामिछाने यतिबेला आइपीएल खेल्नका लागि भारतमा रहेका छन् ।

प्रतियोगिताको ११ औँ संस्करण यही अप्रिल ७ गतेदेखि शुरु हुँदैछ ।

यसैबीच, उनी आबद्ध दिल्ली डेयरडेभिल्सले बिहिबार पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलनमा पत्रकारले सन्दीपले टोलीमा स्थान बनाउने वा नबनाउने भन्ने बारे सोधेका थिए । प्रश्नबारे जवाफ दिँदै प्रशिक्षक रिकी पोन्टिङले सन्दीपको खुलेर तारिफ गरेका छन् ।

‘उनी निकै उत्कृष्ट क्रिकेटर हुन्,’ अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व कप्तानले भने, ‘उनको स्पीन बलिङ राम्रो हुनका साथै उनको मनोभाव पनि उत्कृष्ट छ ।’

पोन्टिङले सन्दीपमा केही गरेर देखाउन उत्साह आफूले देखेको पनि जिकिर गरे । ‘उनी हरेक दिन बलिङ गर्न चाहन्छन्,’ पोन्टिङले भने, ‘ट्रेनिङ सेसनमा हामीले उनलाई बलिङ नगर समेत भन्न परेको थियो । किनभने उनले हरेक पटक बलिङ गरिरहेका थिए । यसले उनलाई थकाउन सक्थ्यो ।’

पोन्टिङले लिलामीको बेलामा नै सही विदेशी स्पीन बलरलाई टोलीमा समावेश गर्न पाए टोलीका लागि बलियो पक्ष हुने कुराबारे छलफल भएको उल्लेख गर्दै यसमा सन्दीप फिट भएको बताए ।

‘सन्दीप निकै राम्रो कौशल भएका स्पीनर हुन् । त्यही भएर हामीले उनलाई टोलीमा समावेश गरेका हौँ,’ उनले भने ।

के सन्दीपले टोलीमा स्थान बनाउँलान् भन्ने प्रश्नमा पोन्टिङले सन्दीप अहिलेका लागि उनी ‘फिनिस्ड प्रोडक्ट’ नभएको र उनी अझै सिकिरहेको र आफ्नो खेल विकास गरिरहेको बताए । साथै, प्रतियोगिताको कुनै पनि समयमा उनले खेल्ने सम्भावना प्रबल रहेको पनि जानकारी दिए ।

‘उनले प्रशिक्षणको दौरान राम्रो बलिङ गरिरहेका छन्,’ पोन्टिङले भने, ‘यदी उनले यो कुरा बुझेर अहिलेको प्रयासलाई निरन्तरता दिए । उनी अवश्य पनि खेल्नेछन् ।’

उनले आफू सन्दीपसँग काम गर्न म निकै उत्साहित भएको कुरा पनि उल्लेख गरेका थिए ।

दिल्लीले आइतबार किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्दै आइपीएलको सुरुवात गर्नेछ ।

Source ratopati

Share