धर्म तोडेर आफैले पढाएको केटीसंग मागी विवाह

धर्म तोडेर आफैले पढाएको केटीसंग मागी विवाह

–शक्ति–शायरा
शायरा खानलाई सानो छँदा शक्तिकुमार वंशकारले ट्युसन पढाए । जब हुर्किइन्, उनैको हात माग्न बुबा जुबेर खानकहाँ पुगे । भन्छन्, “कुरानले केटाको धर्म र चरित्रमा चित्त बुझे मात्र अभिभावकले छोरी दिन सक्छन् भन्ने उल्लेख छ । त्यसैले म छोरी माग्न इस्लाम बनेरै गएँ ।”

अनेक टीका–टिप्पणी सुनेरै भए पनि शायराका बुबा जुबेरले शक्तिकुमारलाई छोरी दिए । उनी विज्ञानका शिक्षक थिए तर आध्यात्मिक । नित्य मन्त्र पाठ गर्थे, शिवरात्रि र दुर्गापूजामा व्रत बस्थे । तर, एक ईश्वरको खोजी गर्दै जाँदा अल्लाहलाई भेटेको भन्दै १० वर्षअघि एकाएक इस्लाम कबुल गरे । छिमेकी र साथी–संगीहरू शक्तिले शायराको प्रेममा परेर धर्म फेरेको टिप्पणी गर्छन् ।

अहिले शक्तिकुमार फेरिएर मौलाना अब्दुल कविका नाममा चिनिन्छन् । मक्का–मदिनाको तीर्थयात्रा गरेर हाजीसमेत भइसके उनी । वंशज मुस्लिमहरूलाई उनी अहिले धार्मिक प्रवचन दिन्छन् । सुरुमा खान परिवारले शायरालाई पाउनकै लागि उनी इस्लाम बनेकाले छिट्टै हिन्दु धर्ममा फर्किने भन्दै विरोध जनाएका थिए । शायरालाई अर्कै केटासित बिहे गराउने प्रस्तावसमेत रातारात लगिएको थियो । तर, उनले प्रेममा मात्र होइन, धर्ममा पनि आफ्नो अडान छाडेनन् ।

उनका बुबा राजकुमारले पनि दैलेखकी मीना शाहसित अन्तरजातीय विवाह गरेका थिए । छोराले इस्लाम स्वीकारेपछि जीवनको अन्तिम क्षणमा उनी पनि इस्लाम भइदिए । आठ वर्षअघि जब उनको निधन भयो, कुन विधिबाट अन्तिम संस्कार गर्ने भन्नेमा छरछिमेक र आफन्त विभाजित भए । हिन्दुहरूले दाहसंस्कार गर्न खोजे, मुस्लिमहरूले कब्रस्थान लैजानुपर्ने दाबी गरे । दुई पक्षले शव तानातान गर्न थालेपछि बस्तीमा दंगाको स्थिति आयो । अन्त्यमा, प्रहरी सुरक्षा सहयोग लिएर इस्लाम संस्कार अनुसार राजकुमारको अन्त्येष्टि गरियो ।

राजकुमारको निधनपछि वंशकार परिवारमा अर्को रोचक दृश्य देखियो । “अहिले आमाले पनि इस्लाम कबुल गरिसक्नुभएको छ,” शक्ति भन्छन्, “पाइलट भाइ सूर्यकुमार हिन्दु नै छन् । तर, धर्मको निहुँमा परिवारमा कुनै द्वन्द्व छैन ।”

Source:America nepal

Share