‘तामाका मुना’ जस्ता सन्तानलाई छोडेर बिदा भइन् सिर्जना !

‘तामाका मुना’ जस्ता सन्तानलाई छोडेर बिदा भइन् सिर्जना !

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, चैत २८ – हँसिलो चेहेरा । मिजासिलो व्यवहार । कसैलाई नबिझाउने मिठो बोलीवचन ।  त्यसैले घरपरिवार, आफन्तको मात्र होइन सिंगो गाउँकै प्यारी थिइन् सिर्जना कुवँर । श्रीमान् नारायण कुवँर । उनी भारतीय सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन् ।

दोर्दी गाउँपालिका–२, अर्चलबोट बस्ने सिर्जनालाई नपुग्दो केही थिएन । उनले समयलाई कहिल्यै त्यसै खेर फालिनन् । निर्वाहमुखी ढंगले भएपनि उनी कृषि र पशुपालनमा रमेकी थिइन् । उनको काममा श्रीमानले पनि उत्तिक्कै सघाउँथे ।

उनीहरुको सुखदुःखका साथी थिए, ‘तामाका मुना’जस्ता २ छोरा र एक छोरी । छोराछोरी कलिलै छन् । छोराछोरीलाई असाध्यै माया गर्ने सिर्जना । उनै सिर्जनाले प्राणप्यारा छोराछोरीलाई मात्र नभई सिंगो परिवार, गाउँ, समाजलाई नै रुवाउँदै यस धर्तीबाट बिदा भएकी छिन् ।

भिरबाट लडेर ज्यान गयो सिर्जनाको

मंगलबार उनी घरमा पालिएका बाख्राका लागि घाँस काट्न जंगलमा गएकी थिईन् । घाँस काट्ने क्रममा जंगल गएकी ३५ वर्षीय उनी घर कहिल्यै नफर्कने गरी यस धर्तीबाट बिदा भइन् । घाँस काट्नका लागि जंगल जाँदा ‘बोक्से भिर’बाट लडेर उनको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

श्रोतका अनुसार मंगलबार दिउँसो २ बजेतिर उनी भिरबाट लडेकी हुन् । स्थानीयका अनुसार सिर्जना रुखबाट लडेर बाटोमा गम्भीर घाइते अवस्थामा ढलेकी थिइन् । उनलाई भँगेरीमा तालिम गरिरहेका नेपाली सेनाले देख्यो । तत्कालै सेनाले स्ट्रेचरमा राखेर साँखरसम्म ल्यायो ।

त्यसपछि, उनलाई एम्बुलेन्समा राखी तत्कालै  जिल्ला सामुदायिक अस्पताल लगियो । अस्पतालले तत्कालै थप उपचारका लागि काठमाडौं लैजान सुझाव दियो । आफन्तले काठमाडौँबाट हेलिकप्टर पनि बोलाए । तर, जब हेलिकप्टर ल्याण्ड भयो । सिर्जनाले पनि सदाका लागि धर्ती छोडिन् । घाइतेलाई लिन आएको हेलिकप्टर रित्तै फर्कियो ।

रुँदारुदैँ दागबत्ती

मंगलबारै उनको प्राणपखेरु उड्यो । सिर्जनाका ज्वाँइ पर्ने भरत कुँवरका अनुसार बुधबार बिहान सिर्जनाको शव जलाइएको छ । उनको पार्थिव शरीरमा १४ वर्षीय छोरा सिद्धान्त कुँवर र १० वर्षीय निशान कुँवरले रुँदैरुँदै दागबत्ती दिएका हुन् ।

‘सिर्जनाको मृत्युले सबै शोकमा छन्, झन् नाबालक छोराछोरीको अवस्था देखेर सबै रुन्छन्, सम्हालिन नै गाह्रो भएको छ,’ भरतले टेलिफोनमा उज्यालोलाई भन्नुभयो । उनको असमायिक निधनमा अहिले पूरै गाउँ नै शोकमा डुबेको छ । घरपरिवार, आफन्त भावविह्वल भएका छन् । छोराछोरीको अवस्था उस्तै छ ।

Source ratopati

Share