नयाँ वर्षमा कहाँ घुम्न जाने ?

नयाँ वर्षमा कहाँ घुम्न जाने ?

काठमाडौं, चैत ३० – जाडो मौसम सकिएर गर्मी सुरु भएको छ । घुमफिर गर्नका लागि यतिबेलाको मौसम उपयुक्त मानिन्छ । नयाँ वर्षमा त झन् धेरैले घुम्न जाने योजना बनाउने गर्छन् । तर घुम्ने ठाउँको बारेमा उपयुक्त ज्ञान नहुँदा पनि कहिलेकाहीँ अप्ठेरो पर्न सक्छ ।

नयाँ वर्षमा घुमफिरको लागि कुन कुन ठाउँ उपयुक्त छ त ?

पोखरा :

पोखरालाई पर्यटकको राजधानीकै रुपमा चिनिन्छ । यहाँ बिदाका विभिन्न समयमा पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध मानिन्छ ।

पोखराको सबैभन्दा आकर्षण भनेको नै यहाँको प्राकृतिक सुन्दरता नै हो । यहाँको फेवाताल सबैभन्दा परिचित छ । पोखराबाट माछापुच्छ्र्रे हिमालसमेत आँखै अगाडि देख्न सकिन्छ ।

पोखरामा घम्नका लागि आकर्षक ठाउँहरुमा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताललगायतका विभिन्न मनमोहक ठाउँहरु रहेका छन् । यहाँको सराङकोट अको आकर्षकको रुपमा परिचित छ ।

अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला जस्ता अनेकौँ प्राकृतिक सम्पदाको अवलोकन यहीँबाट गर्न सकिन्छ ।

चितवन :

चितवन राष्ट्रिय निकुञ्ज विशेषगरी वाइल्ड लाइफप्रति अभिरुची भएका पर्यटकहरुका लागि उपयुक्त मानिन्छ । यहाँ नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका जंगली जनावर तथा विभिन्न जातजातका पन्छीहरुको अवलोकन गर्न सकिन्छ ।

यसबाहेक जंगल सफारीका लागि सौराहा प्रसिद्ध मानिन्छ । त्यसैले चितवन पनि घुम्नका लागि आकर्षक स्थान हो । यहाँ विभिन्न प्रजातिका चराहरु पनि अवलोकन गर्न सकिन्छ ।

लुम्बिनी :

गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिकस्थल हो । लुम्बिनी स्वदेशी तथा विदेशी दुवै पर्यटकका लागि उत्तिकै प्रसिद्ध मानिन्छ । बौद्ध दर्शन अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनीलाई महत्वपूर्ण गन्तव्यस्थलका रुपमा लिन सकिन्छ ।

लुम्बिनीको मुख्य आकर्षक केन्द्रबिन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र यहाँको पवित्र पोखरीले यसको सौन्दर्यतामा अझ रौनकता थपिदिएको छ ।

अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख अध्ययन गर्नका लागि यहाँको गन्तव्य रोज्न उपयुक्त छ ।

अन्नपूर्ण पदमार्ग :

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।

अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

मुस्ताङ :

घुम्न मन पराउने पर्यटकहरुले मुस्ताङको नाम छुटाउँदैनन् । आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूची मुस्ताङलाई राख्ने गरेका छन् ।

विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ । तीर्थस्थल मुक्तिनाथ पनि यही ठाउँमा रहेको कारण धार्मिक पर्यटकहरु पनि यो ठाउँप्रति आकर्षित हुने गरेका छन् ।

यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो ।

जोमसोमबाट एक दिनको जिप यात्रामा उपल्लो मुस्ताङसम्मै पुग्न सकिन्छ । उपल्लो मुस्ताङको आकर्षण भनेको नै .यहाँको फरक जीवनशैली हो । देशमा मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका आदि ठाउँहरु प्रसिद्ध छन् ।

रारा :

देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने इच्छा जो कोहीलाई हुन्छ । धर्तीकै स्वर्गको रुपमा पनि रारालाई धेरैले विश्लेषण गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल घामको किरण अनुसार रङ फेर्ने गर्छ ।

प्रकृतिको उपहारको रूपमा सृजित रारातालको मनोरम हरियाली, यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूलेसमेत आकर्षक बनाउने गरेका छन् ।

रारातालबाट ३ घण्टाको पैदल यात्रा पछि यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । यो ठाउँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीँ नपाइने असला जातको माछासमेत पाइन्छ ।

सुर्खेतबाट दुई हप्ता हिंडेरमात्रै रारा पुग्न सकिन्थ्यो । तर अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि सुर्खेतबाट कालीकोट हुँदै रारा पुग्न सकिन्छ । त्यस्तै बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ र ताल्चाबाट केही घण्टा हिंडेपछि रारा पुग्न सकिन्छ ।

मोटरबाट पैदलहुँदै रारा पुग्ने बाटो सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको माग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौर हुँदै रारा तालको छेवैमा पुग्न सकिन्छ । फोरहवील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।

खप्तड :

प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । वैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिएको हुन्छ ।

खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड धार्मिक क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु रहेका छन् ।

धनगढीबाट आठ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रामा पहिलो दिन झिगराना पुगिन्छ भने अर्को दिनमात्रै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

इलाम :

महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ ।

यहाँको चियाबारी, हरियाली, साना–ठूला नदी–नाला, पोखरी, मठ–मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्व हुन् । नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम घुम्नका लागि असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

लाङटाङ :

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार आदिको अवलोकनका लागि लाङटाङ उपयुक्त गन्तव्यस्थल हो । लाङटाङ हिमाल र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र हो लाङटाङ ।

पदयात्राका लागि निकै नै उत्कृष्ट मानिने यो क्षेत्रलाई नेपालको तेस्रो गन्तव्यको रुपमा चिनिने गर्छ । नेपालको राजधानीबाट नजिकै पर्ने यो क्षेत्र धार्मीक महत्वका हिसाबले पनि महत्वपूर्ण भएकाले धार्मीक पर्यटक पनि यो क्षेत्रमा जाने गरेका छन् ।

कोशी टप्पु :

कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।

कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।

कोशीको टप्पुको टप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ । सिसौ, खयर र सिमलका रूख र पोथ्रा–पोथ्रीहरूले भरिएको यो टप्पु सिमसार भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि विश्वमै प्रसिद्ध छ ।

विराटनगरबाट ५० किमी उत्तर–पश्चिम र धरानबाट ४० किलोमिटर पश्चिम दक्षिणमा रहेको कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ ।

यसबाहेक काठमाडौं उपत्यका र देशका अरु ठाउँ पनि नयाँ वर्षमा घुमफिरका लागि उपयुक्त छन् ।

Source ujyaaloonline

Share