बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ?

बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ?

नयाँ पुस्ता सामाजिक मूल्यमान्यता र आदर्शबाट क्रमशः विमुख हुँदैछन् । विशेषगरी ज्येष्ठ नागरिकप्रतिको परम कर्तव्य र जिम्मेवारीबाट बिस्तारै पन्छिने प्रवृत्ति बढेको छ नयाँ पुस्तामा । यही प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी झापड हान्ने दाउमा छ, सरकार ।

आफ्नो आम्दानीको १० प्रतिशत बाबुआमाको नाममा छुट्याउनुपर्ने कानुन ल्याएर ‘ज्येष्ठ नागरिकलाई नबिर्स’ भन्न खोज्दैछ सरकारले ।यही कानुनले झापड हानेको महसुस गर्न बाध्य हुँदैछ नयाँ पुस्ता । यस्तो कानुन ल्याउनुपर्ने अवस्था आउनु वास्तवमै छोराछोरीका लागि लज्जाको विषय हो र चुनौती पनि ।

वृद्ध बाबुआमालाई छोराछोरीले आवश्यक हेरचाह नगर्ने, बिरामी पर्दा औषधोपचार नगर्ने, राम्रोसँग खानलाउन नदिने, मीठो वचन नबोल्ने र वृद्धा श्रममै लगेर राख्ने प्रवृत्ति बढेपछि वृद्धवृद्धाको जीवनयापनलाई केही हदसम्म भए पनि सुरक्षित बनाउन यस्तो कानुन ल्याउनु परेको पुष्ट्याइँले छोराछोरीको शिर झुकाएको छ ।

हुन त यो आजको वास्तविकता पनि हो । नयाँ पुस्ता सामाजिक मूल्यमान्यता र आदर्शबाट क्रमशः विमुख हुँदै जानुको परिणतिले यस्तो बाध्यकारी कानुनको आवश्यकतालाई जन्म दिएको हो ।विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दा यस्तो कानुनको आवश्यकता पुष्टि पनि हुन्छ । तर, भावना र कर्तव्यलाई पनि कानुनले नै बाँध्नुपर्ने अवस्था आउनु भनेको पक्कै राम्रो होइन । यस अर्थमा यो कानुन बनाउनुपर्ने अवस्था सिर्जना हुनु पक्कै राम्रो होइन । वास्तवमा यस्तो परिस्थिति सिर्जना हुनु भनेको हाम्रो सामाजिक मूल्य, मान्यता र हाम्रो संस्कारमा विचलन आउनु हो ।

हुन त जन्म दिने, हुर्काउने, बढाउने, पढाउने र समाजमा लायक बन्ने र नायक बन्ने सामथ्र्य दिलाउने बाबुआमाको हेरचाह गर्नका लागि कुनै प्रकारको कानुनको जरुरत नै नपर्नुपर्ने हो । बाबुआमाको हेरचाह गर् भनेर कानुनले भन्नु छोराछोरीको गालामा थप्पड हानेसरह नै हो ।छोराछोरीले बाबुआमालाई आफ्नो सारा कमाइ खुसी र सुखी राख्न खर्च गरे पनि त्यो थोरै नै हुन्छ । जन्मको ऋणभन्दा ठूलो अरू ऋण हुनै सक्दैन । अरू ऋण तिरे पनि जन्मको ऋण कसैगरी तिर्न सकिँदैन ।कुनै पनि आमाले आफूले दिएको जन्म र आफूले पिलाएको दूधको मूल्य कहिल्यै माग्दिनन् । तर, मागिन् भने संसारमा त्योभन्दा ठूलो मूल्य र त्योभन्दा ठूलो ऋण अरू कुनै हुन सक्दैन । यो ऋण सन्तानले कसैगरी पनि चुकाउन सक्दैनन् । यति ठूलो गुणको बदलामा केही नमाग्ने महान् बाबुआमालाई छोराछोरीले जति दिए पनि त्यो कमै हुन्छ ।त्यसैले छोराछोरीले आफ्नो कमाइको १० प्रतिशतमात्रै होइन, सम्पूर्ण कमाइ नै बाबुआमालाई सुम्पे पनि त्यो थोरै नै हुन्छ । तर, आफ्नो सन्तानले प्रेमपूर्वक दिएको थोरैले पनि धेरै खुसी हुने बाबुआमाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सन्तानले भने धेरै नै पाएका हुन्छन् । यो विषयलाई हरेक सन्तानले महसुस र अनुभूत गर्न सक्नुपर्छ । यस्तो महसुस र अनुभूत गर्न सकियो भने बाबुआमाप्रतिको कर्तव्यबाट विमुख हुने सोच भुलेर पनि कहिल्यै आउने छैन ।

बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ? बाबुआमालाई पाल्ने र फाल्नेबारे सोच्नु नै महापाप हो भने त्यस्तो गर्नु महाअपराध नै हो ।अहिले परिस्थिति निकै बदलिइसकेको छ । हिजोकै जस्तो थोरै व्यस्तता अथवा थोरै मेहनतले परिवारको जीवनयापन सहज हुनसक्ने अवस्था छैन । त्यसैले परिवारका आर्थिक दृष्टिले सक्रिय अथवा कामकाजी छोराबुहारी प्रायःजसो समय व्यस्त हुनुपर्ने र धेरैजसो समय आयआर्जनका गतिविधिमा खर्चनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा वृद्ध बाबुआमाको हेरचाहमा उति समय दिन नसक्नु स्वाभाविक हो ।

त्यसमाथि अहिलेको ग्लोबलाइजेसन र मोडर्नाइजेसनको युगमा छोराबुहारी तथा नातिनातिनीको आधुनिक जीवनशैलीले गर्दा परिवारका वृद्ध बाबुआमा स्वयं उपेक्षित हुनुपर्ने अवस्था पनि छ । व्यस्त जीवनशैलीकै कारण वृद्ध बाबुआमाले पहिलाझैं अहिले पनि छोराबुहारीले आफूलाई समय दिऊन्, आफ्नो खानपान र स्वास्थ्य अवस्थाबारे चासो लिइदिऊन् भन्ने अपेक्षा राख्नु पनि केही हदसम्म अस्वाभाविक र असान्दर्भिक पनि लाग्छ ।हिजोका दिनमा पो दिनभरि खेतबारीको काम गरे पनि साँझ परेपछि घरमा आएर वृद्ध बाबुआमासँगै बसेर खाने, पिउने, दुःखसुखका भलाकुसारी गर्ने समय हुन्थ्यो । वृद्ध बाबुआमाले पनि दिनभरि नातिनातिनी स्याहारिदिन्थे । नातिनातिनी पनि हजुरबा हजुरआमासँगै रमाउँथे । उनीहरूको खेलकुद र मनोरञ्जनका अरू साधन हुँदैनथे । हजुरबा हजुरआमाले सुनाउने परीकथा र नीतिकथा नै उनीहरूको मनोरञ्जनको आधार थियो । अनि वृद्ध हजुरबा हजुरआमा पनि नातिनातिनीसँगै बस्न पाउँदा एक्लो र पट्यार महसुस गर्दैनथे ।

आज परिस्थिति निकै बदलिएको छ । कामको प्रकृति बदलिएको छ । व्यवहार र संस्कृति बदलिएको छ । छोराबुहारी रोजगारीका सिलसिलामा बिहानैदेखि घरबाट निस्कनुपर्ने अवस्था छ । कतिपयको त घरै छोडेर सहरमा डेरा गरी बस्नुपर्न अवस्था पनि छ । कतिपयलाई चाहिँ देशै छोडेर बिदेसिनुपर्ने बाध्यता पनि छ । अनि नातिनातिनी पनि अध्ययनको सिलसिलामा बिहानैदेखि निस्कने अथवा सहरमा बाबुआमासँगै बस्नुपर्ने अवस्था छ ।यसो हुँदा परिवारका वृद्ध बाबुआमाहरू घरमा एक्लै बस्नुपर्ने अवस्था छ । यसले गर्दा वृद्ध बाबुआमाले पट्यार मान्नुपर्ने र एक्लो महसुस गर्नुपर्ने अवस्था छ । बदलिँदो परिस्थितिअनुसार आइपरेको यस्तो परिस्थितिजन्य बाध्यताले पनि संयुक्त परिवार एकल परिवारमा परिणत हुने अवस्था सिर्जना भएको छ । तर, यसको अर्थ यो होइन कि यसरी कार्यव्यस्तता र व्यस्त जीवनशैलीकै कारण परिवारका वृद्ध बाबुआमा उपेक्षित हुनुपर्छ ।

कर्तब्यवोध छ भने जतिसुकै व्यस्त जीवनशैली भए पनि वृद्ध बाबुआमाको हेरचाहको व्यवस्थापन गर्नुपर्छ र गर्न पनि सकिन्छ । कर्तव्यबाट विमुख हुने प्रवृत्तिले गर्दामात्रै परिवारका ज्येष्ठ नागरिकले उपेक्षित जीवनयापन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।छोराछोरी आफ्नो कर्तब्यबाट च्युत हुनुको परिणति नै वृद्ध बाबुआमाको जीवन असुरक्षित र दुःखदायी हुनु हो । छोराछोरीले आफ्ना वृद्ध बाबुआमाप्रति अनिवार्य निर्वाह गर्नैपर्ने भूमिकालाई बेवास्ता गरेपछि र नातिपुस्तासमेत आफ्ना वृद्ध हजुरबा हजुरआमाबाट विमुख बनेपछि परिवारमा वृद्धवृद्धाको जीवनयापन असुरक्षित र अमर्यादित बन्न पुगेको हो।बदलिँदो परिस्थिति र सूचनाप्रविधिको विकासअनुसार ज्येष्ठ नागरिकहरू अपडेट हुन नसकेको कारणले पनि स्वयं ज्येष्ठ नागरिकहरू नै प्रभावित हुनुपर्ने अवस्था छ । ज्येष्ठ नागरिकहरूको सोचमा समयअनुसार परिवर्तन हुन नसक्नु र सूचनाप्रविधिको प्रयोगमा रमेको पुस्ताले त्यो पुरानो सोचलाई उचित ढंगले सम्बोधन गर्ने प्रयत्न गर्न नसक्नुले बीचमा केही ग्याप सिर्जना भएको छ । यसलाई पुस्तान्तरणको समस्याको रूपमा पनि लिने गरिन्छ ।

सासूससुराको सामु घुम्टोले मुख छोपेर बोल्ने संस्कार पार गरेका सासू र त्यस्तो संस्कारलाई पालन गर्न नसक्ने र सासूलाई हाई हेल्लो गर्ने संस्कारमा हुर्केका बुहारीबीचको ग्यापले पनि असमझदारी उत्पन्न भई अन्ततः एकल परिवारप्रति आकर्षण बढेको छ । यसले गर्दा वृद्ध बाबुआमाले सन्तानबाट पाउनुपर्ने नैसर्गिक सेवासु श्रुषाबाट वञ्चित हुँदैछन् ।पछिल्लो समय नितान्त व्यक्तिवादी सोचको विकासले गर्दा व्यक्तिगत फाइदा र बेफाइदाका बारेमा मात्रै बढी सजग र सचेत हुने प्रवृत्तिको पनि विकास भएको छ । यसले गर्दा परिवारमा दाजुभाइबीच पनि वृद्ध बाबुआमालाई कसले पाल्ने भन्ने समस्या उत्पन्न हुँदै गएको छ । विशेषगरी बाबुआमाबाट सम्पत्ति हात लागिसकेपछि बाबुआमालाई कसले पाल्ने भन्ने विषयमा दाजुभाइबीच यस्तो समस्या उत्पन्न हुने गरेको छ ।

यद्यपि यो समस्या भनेको कर्तव्यबाट च्यूत हुनुको उपजमात्रै हो । बाबुआमा गाईभैंसी हुन् र पाल्नलाई ? अनि कसिंगर हुन् र फाल्नलाई ? गर्भको पीडा सहेर जन्म दिने र भनिनसक्नु दुःखकष्ट सहेर सन्तानलाई हुर्काउने बढाउने बाबुआमालाई पाल्ने र फाल्ने कुरा नै फाल्तु हो । बाबुआमालाई पाल्ने र फाल्नेबारे सोच्नु नै महापाप हो भने त्यस्तो गर्नु महाअपराध नै हो । त्यस्तो गर्ने सन्तानले नैतिक रूपमै दण्डित हुनुपर्छ भने कानुनले पनि दण्डित गर्ने प्रावधान हुनुपर्छ ।बाबुआमालाई पाल्ने होइन, बाबुआमासँग बस्ने हो अथवा आफूसँगै राख्ने हो । अनि बाबुआमालाई फाल्ने होइन, भगवान् सम्झेर पूजा गर्ने हो ।

सन्तानका लागि आफ्ना बाबुआमा भगवान् नै हुन् । त्यसैले बाबुआमालाई पाल्ने र फाल्ने होइन, बाबुआमासँगै बसेका छौं भनेर गर्व गर्ने परिस्थितिको सिर्जनामा समाजले प्रेरक भूमिका निर्वाह गर्न सक्नुपर्छ । बाबुआमासँगै बस्न पाउनु सौभाग्य पनि हो । त्यसैले बाबुआमाको लामो आयुका लागि भगवान्सँग प्रार्थना गर्नुपर्छ ।

बाबुआमासँग छुट्टिएर आनन्दले बसौं भनेर सोच्ने होइन, बाबुआमासँगै बसेर गर्वले बाँचौं र बाबुआमालाई पनि आनन्दले बाँच्न दिऔं भन्ने सोचको विकास गर्नुपर्छ । भुल्नै नसकिने तथ्य के हो भने जसले बाबुआमालाई आदर, सम्मान र श्रद्धा गर्दछ ऊ आफैं पनि सम्मानित भइरहेको हुन्छ ।सामाजिक मूल्य र मान्यतामा आएको विचलनसँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा पनि चुनौतीपूर्ण बन्दै गएकाले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा हेतु ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३’ नै बनेको छ ।

यो ऐनले ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ’ भनेको छ । यसैगरी ऐनको दफा ४ मा ‘ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह’ शीर्षकमा ज्येष्ठ नागरिकको पालनपोषण र हेरचाह सम्बन्धमा विभिन्न व्यवस्था गरिएका छन् ।

तर, ऐनले व्यवस्था गरेअनुसार प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गर्न भने पाएका छैनन् । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि ऐनले बाध्य पार्नुपर्ने अथवा कर्तव्यबोध गराउनुपर्ने आवश्यकता नहुनुपर्ने हो । तर, मानिसले यही कर्तव्यबोध गर्न नसक्नाले नै ऐनको जरुरत परेको हो ।

संस्कृतिविद् सत्यमोहन जोशीले भनेझैं बुढेसकालमा दुःख नपाउनु नै रामराज्य हो । यस्तो रामराज्य बनाउनमा परिवारका सदस्यकै मुख्य भूमिका हुन्छ, विशेषगरी युवापुस्ताको ।

हामी बर्सेनि हजारौंको संख्यामा केयर गिभरका रूपमा विदेश गई अर्काका बाबुआमालाई स्याहार्न तयार छौं भने आफूलाई जन्म दिने बाबुआमालाई स्याहार्न किन तयार नहुने ? युवापुस्ताले सोच्नैपर्ने विषय हो यो ।ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हाम्रो परम्परा नै छ ।

सानालाई माया र प्रेम गर्नुपर्छ अनि ठूलालाई आदर र सम्मान गर्नुपर्छ भन्ने मान्यता नै हाम्रो सामाजिकीकरणको मूल विशेषता पनि हो । यही विशेषतासहितको सामाजिकीकरणलाई निरन्तरता दिन र हाम्रो वैदिक परम्परालाई कायम राख्न सक्यौं भने कुनै पनि घरका वृद्ध बाबुआमाले दुखी जीवनयापन गर्नुपर्ने छैन ।

आधुनिक युगका छोराछोरीले प्राविधिक मेसिनजस्तो नबनेर साँच्चै मानिसजस्तो भएर व्यवहार गर्ने हो भने पनि वृद्ध बाबुआमाको जीवनयापन सहज र सुखी हुन्छ र कुनै पनि घरका वृद्ध बाबुआमाले आँसुसँग भातको गाँस निल्नुपर्ने छैन र रोएर र पीडा सहेर बाँच्नुपर्ने छैन ।

आधुनिक प्रविधिले दिएको सुविधा उपभोगमै रमाउने नाति पुस्ताले पनि हजुरबा पुस्तालाई ख्याल गर्ने र सम्मान गर्ने अनि उनीहरूबाट जीवनोपयोगी ज्ञान सिक्ने हो भने सामाजिक मूल्य र मान्यताको संरक्षण हुन्छ र समाजमा खराब आचरण र अनुशासनहीनतामा पनि कमी आउँछ ।

ऐनकानुन र नियमावली बनाएर लागू गर्दैमा मात्र ज्येष्ठ नागरिकको कल्याण हुन सक्दैन । प्रथमतः घरैबाट ज्येष्ठ नागरिकले यथेष्ट सेवासु श्रुषा र आदरसम्मान पाउने वातावरण सिर्जना हुनुपर्छ । यसका लागि पनि युवापुस्ताकै अगुवाइ अपेक्षित छ ।

वृद्धा श्रम र वृद्ध स्याहार केन्द्र तपसिलका कुरा हुन् र विकल्पका कुरामात्रै हुन्, अनिवार्य होइनन् ।यद्यपि ज्येष्ठ नागरिकको दीर्घकालीन सामाजिक सुरक्षाका लागि भने नीतिगत रूपमा राज्यले आवश्यक व्यवस्था गरी लागू गर्नुपर्छ । अनिमात्रै सबै ज्येष्ठ नागरिकको जीवनयापन सुरक्षित र मर्यादित हुनेछ र बाबुआमालाई नहेरेको भनेर कुनै छोराबुहारीलाई कानुनले थप्पड हान्नुपर्ने छैन ।

Source ratopati

Share