एमाले नेतृ नवीना लामाको डेढ दशक लामो प्रेम सम्बन्ध विवाहमा परिणत हुँदै

एमाले नेतृ नवीना लामाको डेढ दशक लामो प्रेम सम्बन्ध विवाहमा परिणत हुँदै

काठमाडौं, वैशाख ४ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको वैशाख १३ गते विवाह गर्ने हुनु भएको छ । उहाँले प्रेमी प्रवीण श्रेष्ठसँग जनवादी विवाह गर्न लाग्नु भएको छ ।

अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नविना र प्रविणबीचको विवाहको आयोजक हुने निर्णय गरेको छ । विवाह आर्मी अफिसर्स क्लबमा हुनेछ । विवाहमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।

उहाँहरुबीच गएको फागुनमा नै विवाह हुने तयारी थियो, तर आफन्तको निधन भएकाले विवाह ३ महिनापछि धकेलिएको हो ।

अनेरास्ववियुको अध्यक्ष हुँदै लगन गाँठो कस्ने नवीना दोस्री नेतृ हुनुहुने छ । यसअघि रामकुमारी झाक्रीले अनेरास्ववियुको अध्यक्ष हुँदै विवाह गर्नुभएको थियो ।

डेढ दशक लामो प्रेम सम्बन्ध
१३ गते जनवादी विवाह गर्न लागेका नवीना र प्रवीणबीच डेढ दशक लामो प्रेम सम्बन्ध रहेको उहाँहरुका सहकर्मीले बताउँदै आएका छन् । काभ्रेको कोशीपारीकी नवीना र पाँचखालका प्रवीणबीच २०५६ सालतिर काठमाडौंको बानेश्वर क्याम्पसमा पढ्ने बेलामा चिनजान भएको थियो ।

त्यतिबेला नवीना माले अखिलबाट र प्रवीण एमाले अखिलबाट विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

२०५८ सालमा माले र एमालेबीच एकीकरण भएपछि दुवै विद्यार्थी संगठन एक भए । ‘मालेबाट आएका कारण नवीनालाई साथीहरुले संगठनमा हेप्ने गर्थेे’, उहाँहरु दुवैलाई नजिकबाट चिनेका एक नेताले नाम उल्लेख नगरी भने, ‘प्रवीण जी नवीना जीको बचाउ गर्नुहुन्थ्यो, त्यो सहयोगबाट नै उहाँहरुबीच प्रेम सम्बन्ध सुरु भएको हो ।’

नवीना अहिले एमालेबाट सांसद हुनुहुन्छ । तर उहाँसँग लगन गाँठो कस्न लागेका प्रवीण भने राजनीतिबाट टाढिनु भएको छ । प्रवीण अहिले व्यापार व्यवसायमा सक्रिय हुनुहुन्छ ।

Source ujyaaloonline

Share