पारस खड्का भन्छन् : २/४ दिन कुरौँ, क्रिकेट स्टेडियमको बारेमा राम्रो खबर आउनेछ

पारस खड्का भन्छन् : २/४ दिन कुरौँ, क्रिकेट स्टेडियमको बारेमा राम्रो खबर आउनेछ

धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरको लर्ड बुद्ध क्रिकेट मैदान बनाउने घोषणा गरेपछि नेपाली खेल जगत तरंगित भएको छ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ बर्षसम्म एउटा पनि क्रिकेट स्टेडियम बनाउन नसकेको अवस्थामा २/४ वर्षभित्रै निर्माण सक्नेगरी काम हुने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । नेपालमा क्रिकेटको माहोल देखेर धुर्मुस सुन्तली फाउन्डेसनलाई साथ दिनेहरु पनि थपिँदै गएका छन् ।

फाउन्डेसनले काठमाडौंको मूलपानीमा रहेका २ वटा मैदान, त्रिवि क्रिकेट मैदान, रुपन्देही, चितवन र हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन जग्गाको अध्ययन गरेको थियो । अहिले ति जग्गाको बारेमा विज्ञ समूहले थप अध्ययन गरिरहेको छ  । मैदान निर्माणकै बारेमा मंगलबार फाउन्डेसनले राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडी र कलाकारसँग पनि छलफल गर्‍यो ।

मंगलबारको छलफलका बारेमा जानकारी दिँदै कप्तान पारसले उज्यालो अनलाइनसँग भने, ‘त्यही मैदान निर्माणको बारेमा हिजो उहाँहरुले छलफलका लागि बोलाउनुभएको थियो, हामी गयौँ, जे होस् मैदान निर्माणको लागि सकारात्मक काम अघि बढेको हामीले पायौँ ।’

धुर्मुस–सुन्तली फाउन्डेसनले मैदान बनाउनेमा आफू आशावादी रहेको पारसको भनाई छ । ‘अहिले उहाँहरुले जग्गाको अध्ययन गर्दै हुनुहुने रहेछ, छिटै नै फाइनल हुने कुरा छ, २/४ दिनभित्रै क्रिकेट स्टेडियमको बारेमा राम्रै खबर आउनेछ’, पारसले भने । अब केही दिनमै मैदान निर्माणको ठाउँसहित औपचारिक घोषणा हुने आफुले जानकारी पाएको पनि उनले बताए ।

देशमा एउटा मैदानको खाँचो रहेको र त्यो अभियानमा लागेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई आफूहरुको पनि साथ रहने पारसको भनाई छ ।

अभियानमा मेरो पनि समर्थन र सहयोग छ : बद्री पंगेनी

गायक प्रमोद खरेल, हास्यकलाकार मनोज गजुरेल, कुमार कट्टेललगायतका कलाकारपछि अब फाउन्डेसनसँग सहकार्य गर्न लोक गायक बद्री पंगेनी पनि जुटेका छन् । नेपालमा क्रिकेटको क्रेज देखेर नै आफूले मैदान निर्माणको लागि फाउन्डेसनलाई जस्तो सकिन्छ त्यस्तै सहयोग गर्न तात्तिएको बद्री पंगेनीको भनाई छ ।

‘यो अभियानलाई मैले पहिलेदेखि नै समर्थन गर्दै आएको थिएँ, बीचमा व्यस्त भएँ तर नैतिक समर्थन भने थियो । अब चाँही समय नै दिएर लाग्ने हो’, बद्रीले उज्यालो अनलाइनसँग भने, ‘देशलाई एउटा क्रिकेट मैदानको खाँचो छ, हिजो राष्ट्रिय खेलाडीसहित धुर्मुस सुन्तलीसँग कुरा भयो, कुरा उत्साहित छु, अब यो अभियानको लागि मैले गर्न सक्ने सहयोग गर्नेछु ।’

सबै जना तात्तिएमा छिटै नै मैदानको लागि आवश्यक सहयोज जुटाउन सकिने उहाँको भनाई छ । जग्गाको टुंगो लाग्दा बित्तिकै हामी अभियानलाई तीव्रता दिन्छौँ ।’

Source ujyaaloonline

Share