उपलब्धिको बेलिबिस्तार लगाउँदै दिल्लीले भन्यो – ‘सोमबार सन्दीपलाई खेलाउनुपर्छ’

उपलब्धिको बेलिबिस्तार लगाउँदै दिल्लीले भन्यो – ‘सोमबार सन्दीपलाई खेलाउनुपर्छ’

वैशाख ७ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा खेल्ने सम्भावना बढेको छ । सन्दीपलाई अनुबन्ध गरेकोमा दिल्ली डेयरडेभिल्ससँग खुशी भएका नेपाली क्रिकेट समर्थकहरु यतिबेला उनलाई खेल्न पनि दिन क्लबलाई दबाब दिइरहेका छन् ।

दिल्लीमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भए पनि अहिलेसम्म मैदान उत्रन नपाएका स्पिनर सन्दीपले आउँदो सोमबार हुने खेलमा मौका पाउने सम्भावना बढेको क्लबले नै जनाएको हो । दिल्लीले सोमबार घरेलु मैदान फिरोज साह कोटला मैदानमा पञ्जावसँग खेल्दैछ ।

यो खेलमा सन्दिपले खेल्ने सम्भावना बढ्नुको कारण हो मैदान स्पिनरमैत्री हुनु । फिरोज साह कोटला मैदान त्यहि मैदान हो जहाँ भारतीय स्पिनर अनिल कुम्बलेले पाकिस्तानसँगको टेष्ट क्रिकेटमा पहिलो पालिका सबै १० विकेट लिएका थिए । यो मैदानमा भारत र न्युजील्याण्डबीच पछिल्लो ट्वेण्टी ट्वेण्टी क्रिकेट भएकोमा ६ विकेट स्पिनरले लिएका थिए । यो मैदानमा तीव्र गतिका बलरहरुले १० को औसतमा रन दिएका छन भने स्पिनरको औसत ६ दशमलव ३३ मात्र छ ।

अहिले आईपीएलका टीमले तीनजना स्पिनरलाई खेलाउने र सफलता हात पार्ने क्रम बढेसँगै सन्दीपले दिल्लीबाट खेल्न पाउने सम्भावना बढेको हो । सन्दीपको विगतको प्रदर्शन हेर्दा उनले फिरोज साह कोट्लामा जादु गर्न सक्ने भएकाले उनलाई खेलाउनुपर्ने दिल्लीको आधिकारिक पेजमा उल्लेख गरिएको छ । जहाँ, सन्दीपले सन् २०१६ मा १९ वर्ष मुनिको राष्ट्रिय टिमबाट खेल्न थालेका सन्दिपले दोस्रो खेलमा आयरल्याण्डसँग ह्याट्रिक गर्दै सनसनी मच्चाएको र समग्रमा धेरै विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहेको सन्दर्भ सम्झाइएको छ ।

हिराको पहिचान जोहारी अर्थात् हिराको काम गर्ने ब्यक्तिले मात्र गर्न सक्छ भनेजस्तै सन्दिपको क्षमताको पहिचान विश्वविख्यात स्पिनर शेन वार्नका चेला माइकल क्लार्कले गर्न सकेको र अष्ट्रेलियामा प्रशिक्षणको व्यवस्था मिलाएको उल्लेख गर्दै त्यसैका कारण पनि सन्दीपले विश्व क्रिकेट लिग डिभिजन टूमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्न सकेको उल्लेख गरेको छ । देशलाई पहिलो स्थानमा रहेको यो प्रतियोगितामा सन्दीप प्लेयर अफ दी टुर्नामेण्ट रहन पुगे । यस्तै नेपाललाई एकदिवसीय मान्यता दिलाउन सन्दीपले महत्वपुर्ण भूमिका निर्वाह गरेको र अहिलेसम्म २१ वटा लिष्ट ए मान्यताप्राप्त खेलमा ४ दशमलव ०४ को इकोनोमीमा ४२ विकेट लिएको कुराको बेलिबिस्तार लगाएको छ ।

दिल्लीमा मुख्य स्पिन हतियार अमित मिश्रा फर्ममा नरहुनको फाइदा सन्दीपलाई भए पनि एक खेलमा चारजना मात्र विदेशी खेलाडीलाई खेलाउनुपर्ने प्रावधानका कारण सन्दिपलाई खेलाउन दिल्लीलाई समस्या भइरहेको आँकलन गरिएको छ । तर स्पिनरलाई सघाउने मैदान र तीन स्पिनरलाई खेलाउने टिमले जित हात पारिरहँदा लोभिएको दिल्लीले सन्दीपलाई त्यो मौका दिनसक्ने सम्भावना बढेको विश्लेषण गर्न सकिन्छ ।

दिल्लीले आफ्नो पेजमा भनेकै छ कि लगातार पाँच खेल घर बाहिर खेलेको दिल्ली घरेलु मैदानमा हुने छैटौँ खेलबाट राम्रो सुरुवात गर्न चाहन्छ । र, त्यसका लागि सन्दीप राम्रो हतियार बन्न सक्छन् ।

के थाहा, प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकिरहेको रिकी पोण्डिङको प्रशिक्षणमा रहेको दिल्ली सन्दीपको गुगली पो पर्खिरहेको हो कि ? घरेलु मैदानमा खेल्नु अघि दिल्लीले शनिबार बेंग्लोरसँग खेल्दैछ । शनिबारको खेलमा भने सन्दीपको खेल्ने सम्भावना कम मात्र छ ।

Source ujyaaloonline

Share