‘विदेश पुगेपछि थाहा पाएँ पैसा त नेपालमै रहेछ’

‘विदेश पुगेपछि थाहा पाएँ पैसा त नेपालमै रहेछ’

लिला निरौला/खोटाङ

वैशाख ९ – गाउँघरमा पैसाको अलिकति अभाव भयो कि विदेश जानुपर्छ भन्ने चलन बसिसकेको थियो । त्यसबाट उहाँ पनि अछुतो रहन सक्नुभएन । उमेर भर्खर २२ वर्ष पुग्दै थियो । त्यसैले अरुले जस्तै उहाँलाई पनि विदेश गएपछि त जसरी भएपनि कमाइहालिन्छ भन्ने लाग्यो ।

उहाँ अर्थात पेसल खत्री । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका खत्रीलाई १६ वर्ष अघि त्यस्तै फिटिफिटी पर्यो पैसाले । पैसा खोज्न अरु विदेश गइरहेको थिए । त्यसैले उहाँ पनि २०५८ सालमा मलेसियातिर लाग्नुभयो ।

पैसा छैन भन्ने पेसललाई विदेश जान लाग्ने २ लाख निकाल्न चाहिँ गाह्रो परेन । गाउँमा विदेश जानेलाई ऋण दिनेहरुको कमी थिएन । सयकडा तीन रुपैयाँ ब्याजको २ लाख लिएर महिनामा ४ सय ८१ रिंगिट कमाउन मलेसिया पुग्नुभयो पेसल ।

पाँच वर्ष विदेशमा बिताउँदा पनि नेपालमा सुने जसरी र सोचे जसरी कमाउन सक्नुभएन । ५ वर्ष मलेसिया बसेका पेसलको ३ वर्षको कमाइ जाँदा लिएको ऋण र त्यसको ब्याज तिर्दैमा ठिक्क भयो । कारण, ऋण बढेर दोब्बर भइसकेको थियो ।

बाँकी दुई वर्षको पैसा घर खर्च पठाउँदैमा ठिक्क भयो । पाँच वर्ष मलेसिया बसेर फर्किंदा पेसलको अवस्था पहिलोको भन्दा केही फरक भएन । अर्थात घर खर्च चल्ने पैसाको अभाव उस्तै । त्यति हुँदा पनि पेसलको दिमागमा विदेशमा त कमाइ भइहाल्छ भन्ने हटेको थिएन ।

मलेसियामा कमाउन नसकेका पेसललाई देश राम्रो नभएकाले कमाउन सकिएन भन्ने लाग्यो । घर आइपुगेको केही समयमै दुबई जाने सोच्नुभयो । ‘देश पनि राम्रो अनि कमाई पनि राम्रो हुन्छ भनेपछि मलाई पनि हो नी जस्तो लाग्यो’ पेसलले मलेसियाबाट फर्किएर दुबई जानुको कारण सुनाउनुभयो ।

क्लिनरको काममा १ हजार दिर्हाम तबल हुन्छ भनिएको थियो । तर भनेको काम र तलब नपाएपछि उहाँ तीन महिना नपुग्दै घर फर्किनुभयो । जाँदा लिएको एक लाख रुपैयाँ ऋण र त्यसको ब्याजले उहाँलाई जिस्क्याइरहे जस्तो लागेर होला सायद घरमा धैर्य भएर बस्नै सक्नुभएन ।

केही समय अघिसम्म पैसा कमाउने आशाले विदेशिए पेसल अब त्यही विदेश जान लिएको ऋण तिर्न विदेश जानुपर्ने भयो । मलेसिया र दुवईको स्वाद चाखिसक्नुभएको थियो । उहाँको तेस्रो विकल्प बन्यो कतार ।

कार्पेन्टरको काममा कतार पुगेका पेसलले महिनाको एक हजार रियाल तलब पाउनुभयो । यो पनि उहाँले सोचे र गाउँमा भनिए जस्तो त थिएन तर पनि मलेसिया र दुबईको भन्दा केही भएपनि राम्रो भयो । २८ महिना कतार बस्दा उहाँले जाँदा लिएको ऋण तिरेर पनि ३ लाख रुपैयाँ बचाउनुभयो । केही पैसा बचेपछि २०७० सालमा पेसल घर फर्किनुभयो ।

विदेशको माहोल ज्यान बिर्सिन खोज्थ्यो तर दिमागबाट हटेको थिएन । त्यसैले के गर्ने भन्ने उहाँले सोच्नै सक्नुभएन । ‘विदेश गएर आएपछि यहाँ के गर्ने भन्ने देखिँदो रहेनछ’ पेसल भन्नुहुन्छ ।  तर देवराज खत्री पनि त्यस्तै अनुभव संगालेर फर्किएपछि पेसल सोच फेरियो । देवराज र पेसल नाताले काका बडाबाका छोरा ।

देवराजले पनि विदेशमा ४ बिताउनुभयो । मरुभूमिमा पसिना त बग्यो तर त्यसले जीवनमा कुनै परिवर्तन ल्याएन । कमाएर जमाउने सपना पुरा भएन । ‘अरुले भनेको सुन्दा त विदेशमा पैसाकै बोट हुन्छ जस्तै लाग्थ्यो नगएसम्म तर नेपालमा सोचे भन्दा फरक हुदो रहेछ विदेश ।’

त्यहीँबाट उहाँलाई लाग्यो विदेशमा बगाउने जति पसिना आफ्नै गाउँमा बगाउने हो भने विदेशमा भन्दा बढी कमाइन्छ होला । विदेशमा बुझेको कुरा नेपाल फर्किएपछि व्यवहारमै लागु गर्ने सोच्नुभयो ।

उहाँलाई साथी चाहिएको थियो अनि पेसललाई ‘आइडिया’ भएको मान्छे । दुवै जनाको उद्देश्य मिलेपछि उहाँहरुले बाख्रा र कुखुरा पाल्न सुरु गर्नुभयो । ४० वटा बाख्रा र २ सय वटा कुखुरामा दुई जनाको ६ लाख रुपैयाँ लगानी भएको छ ।

अहिले उहाँहरुको दिन बाख्रा र कुखुराको स्याहार सुसारमा बित्छ । ‘विदेशको दुःख भन्दा यो धेरै सहज लाग्छ’ दुवै जनाले एकै स्वरमा भन्नुभयो ‘विदेश पुगेपछि पैसा त नेपालमै रहेछ भन्ने थाहा पाएँ ।’

अहिले खर्च कटाएर महिनाको ३० हजार कमाइरहेका पेसल र देवराज त्यसमा लगानी बढाउँदै लाने सोचमा हुनुहुन्छ । ‘लगानी बढेपछि आम्दानी पनि त्यही अनुसार बढ्छ’ देवराजले भन्नुहुन्छ ‘हामीले त कमाउने मात्रै होइन यो कामलाई उदाहरणीय बनाउने सोचेका छौं ।’

Source ujyaaloonline

Share