राधिका : एक साधिका

राधिका : एक साधिका

मंगलबजारमा पाटनको पुरातन गल्लीमा बस्ने किसान परिवारका ६ जना केटाकेटी च्यासलतिर खेल्न जान्थे। ती मध्येकी अलि हुर्केकी राधिका शाक्य भने खेल खेल्दिनथिन्। बरु उनको मनमा कुरा खेलिरहेका हुन्थे, पारिवारिक चुनौती र गरिबीले उत्पन्न समस्याका। पाटन मंगलबजारमा त्यस बखत मनमा कुरा खेलाएर बस्ने राधिका अहिले मुलुकको ‘फस्ट लेडी’ हुन्, अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी।

जग्गाजमिन थोरै। परिवार पाल्न राधिकाका पिता चिरिभाइ शाक्य लुगा सिउँथे। पत्नी धनदेवी चिरिभाइलाई साथ दिन्थिन्। ६ जना केटाकेटीको पेटको चारा जुटाउन चिनियाँहरूका लुगा सिलाउँथे। परिवारकी जेठी छोरी थिइन् राधिका। किशोरी जीवन कटिसकेकी राधिकालाई परिवारको गरिबी थाहा थियो, बाबुआमाले गुजाराका लागि गरेको दुःख थाहा थियो। र, जीवनसंघर्षमा छिचोल्नुपर्ने तगाराहरू पनि विस्तारै विस्तारै थाहा हुँदै थिए।

एक दिन घरमा लुगा सिउन आएको चिनियाँसँग राधिकाको भेट भयो। उसको मुखबाट राधिकाले फ्याट्ट एउटा नाम सुनिन््, ‘माओ त्से तुङ।’ को हुन् माओ ? उनको मस्तिष्कमा माओको एउटा मानस चित्र बन्यो, ‘दुःखी गरिब चिनियाँहरूलाई दुःखबाट मुक्त गर्ने एउटा असल नेता।’ माओबारे राधिकाले चिनियाँहरूबाटै सुनिन् तर नेपालको कम्युनिस्ट राजनीतिसँग उनको सम्बन्ध गाँसिएको थिएन। अब राधिकाको मनमा खुल्दुली चल्न थाल्यो, नेपालमा पनि माओका चेलाहरू छन् कि छैनन् ? त्यसैताका झापा आन्दोलनमा सामेल केही कम्युनिस्ट युवा मारिएका थिए र केहीलाई पक्रेर जेल हालिएको थियो।

मनमा यस्तो खुल्दुली चलिरहेकै बेला राधिकाले पाटनकै आदर्श कन्या निकेतनबाट एसएलसी प्रथम श्रेणीमा पास गरिन्। यो २०३४ सालको कुरा थियो। तिनताका एसएलसी पास गर्नु नै सहरको ठूलो समाचार हुन्थ्यो। छोरीले प्रथम श्रेणीमा पास गर्नुको अर्कै इज्जत हुने नै भयो। तर, राधिका भने लुगा सिलाउन आउँदा चिनियाँले सुनाएको माओका कथाले कम्युनिस्ट विचारधारातिर आकर्षित भइसकेकी थिइन्। एसएलसीपछि उनी पाटन संयुक्त क्याम्पसमा भर्ना भइन्, जहाँ कम्युनिस्टहरूसँग उनको पहिलो भेट भयो।

कम्युनिस्ट पार्टीमा लागेपछि देशलाई गरिबीबाट मुक्त गर्न सकिन्छ भन्ने सपनाले त्यता डोर्‍याइदियो उनलाई। ज्यान हत्केलामा राखेर विद्यार्थी राजनीतिमा होमिइन् राधिका। गरिब परिवारकी उनी राजनीतिमै डोरिएपछि मुस्किलले कलेज पढ्न भ्याउँथिन्। उनी विद्यार्थी राजनीतिमा सामेल हुँदा उता झापा विद्रोहका नेताहरू केपी ओली, मोहनचन्द्र अधिकारी, सीपी र राधाकृष्ण मैनालीलगायत जेलमा थिए।

पढ्न उनलाई सजिलो थिएन। एकातिर कमजोर आर्थिक हैसियतको परिवार, अर्कातिर कम्युनिस्ट राजनीतिमा लाग्दाको जोखिम। त्यसैले उनले गुजाराका लागि काम गर्न थालिन्। त्यसै क्रममा २०३६ सालमा पढाइ सँगसँगै राष्ट्र बैंकको जागिर सुरु गरिन्। उनको काँधमा तीनवटा बोझ एकैपटक आयो— पढाइ, जागिर र राजनीतिको। राजनीतिका कारण जागिर स्थायी गर्न कठिन भयो। त्यसैले उनले आठ वर्षसम्म अस्थायी रूपमै जागिर खाइन्।

राधिकाको जीवनमा एक दिन एउटा नयाँ मोड आइदियो, जसले उनलाई मोडेर आजको ठाउँमा ल्याइपुर्‍याएको छ।

०४४ सालमा जेलबाट निस्केका कैदी बन्दीको स्वागत कार्यक्रम राखेको थियो पार्टीले, ललितपुर पुल्चोकको इन्जिनियरिङ कलेजमा। त्यो कार्यक्रममा राधिका पनि पुगिन्। छुटेर आएका २२ जनामध्ये एउटा दुब्लो अनुहारको युवक थियो। औसत मानिसको भीडमा राधिकाले उसलाई विशेष रूपले गणना गरेकी थिइनन्।

:एउटै भान्छामा खाए पनि ओलीसँग कुरा गरिबस्ने फुर्सद छैन उनलाई। भेटघाटमै आधा रात बित्छ। भेटघाट सकिएपछि पनि प्रधानमन्त्रीको समय करिब बिहानी प्रहरसम्म पढेरै बित्छ। राधिका सुतिहाल्छिन्। जति बेला ब्यूँझिँदा पनि प्रधानमन्त्री ओली बत्ती बालेर पढिरहेकै देखेपछि गाली पनि गर्छिन्।

चुच्चे अनुहार, पातलो ज्यान, लामो समय यातनापूर्ण कारावास बस्दा खिइएको जीर्ण शरीर। एकछिनपछि मुक्त बन्दीहरूको स्वागतमा आयोजित कार्यक्रम सुरु भयो। कार्यक्रममा वक्ता थियो उही पातलो ज्यानको व्यक्ति। जब उसले बोल्न थाल्यो, उसका कुरा गढ्न थाले राधिकाका मनमा। ज्यानभन्दा कयौं गुणा तेजी र प्रभावशाली उसको क्षमतालाई नोट गरिन् उनले। ती वक्ता थिए, आजका शक्तिशाली प्रधानमन्त्री केपी ओली।

कस्तो लागेको थियो त त्यस बेला राधिकालाई केपी ओली ? उनले एक वाक्यमा भनिन्, ‘अल्सरले गालेको सिकुटे ज्यान तर तेजिलो क्षमता भएको। पहिलोपटक बोलेको सुन्दा निकै गहिरो प्रभाव पर्‍यो।’ १४ वर्षसम्म कठोर कारावास, गोलघरको यातना सहेको र एक थोपा पानी टाउकोमा पर्‍यो भने पनि हनहनी ज्वरो आउने। यस्तो शारीरिक अवस्थामा थिए ओली।

इतिहास र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी राधिकालाई भेट्न एक दिन पाटन क्याम्पसमा झलनाथ खनाल आए। उनीसँगै माधव नेपाल, अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य पनि थिए। त्यो भेटमा झलनाथले केही भूमिका बाँधेर भने, ‘भर्खरै जेल छुटेर आउनुभएको असल इमानदार साथी हुनुहुन्छ, उहाँलाई असल र इमानदार जीवनसाथी चाहिएको छ।’ झलनाथले भन्न खोजेको कुरा राधिकाले बुझिन्। तर, को व्यक्ति हो भन्नेचाहिँ उनलाई थाहा थिएन।

‘उहाँलाई तपाईंको साथ चाहिएको छ, तपाईंको के विचार छ भनेर झलनाथ कमरेडले सोध्नुभयो’, राधिकाले आफूहरूको विवाह स्मरण गर्दै भनिन्, ‘मैले हुन्छ भनिदिएँ, किनभने छोरी भए पनि परिवारमा मेरो निर्णय चल्थ्यो।’ विवाहको कुरा टुंगिएपछि एउटा सानो मञ्च बनाएर ओली र राधिकाको विवाह समारोह आयोजना भयो। दुवैले एकापसमा माला पहिर्‍याइदिए। २० जनाजति सहभागी थिए, उनीहरूले ताली बजाए, विवाह सकियो।

बिहे गरेपछि उनीहरू पाटनमै डेरामा बसे। बिहे गरे पनि माइती र घर दुवै हेर्नुपर्ने बाध्यता थियो राधिकालाई। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा ओली गृहमन्त्री बनेपछि मात्र त्यो डेरा छाडेर उनीहरू मन्त्री निवास पुल्चोक सरे। नौ महिनामा त्यो सरकार ढल्यो, मन्त्री निवासबाट फर्केपछि उनीहरू मंगलबजारस्थित राधिकाको माइतीमा बसे।

ओलीसँग विवाहपछि पनि राष्ट्र बैंकको जागिरमा राधिकाले निरन्तरता दिइन्। ०६८ सालमा पेन्सन भएपछि उनी सेवानिवृत्त भएकी थिइन्। राष्ट्र बैंकको यही जागिरले उनीहरूलाई भक्तपुर बालकोटमा आफ्नै घर बनाउन सघायो। आफूलाई दृढ बनाउँदै राधिका भन्छिन्, ‘हामीलाई खान पुग्ने मेरो पेन्सन छँदैछ। केका लागि कमाउनु छ र ? बरु चिन्ता उहाँको स्वास्थ्यकै छ।’

विवाह भएदेखि नै राधिकाको मुख्य दृष्टि ओलीको स्वास्थ्यमाथि थियो। लामो कारावास र यातनाले थिलथिलो भएको शरीरमा जुनसुकै बेला सामान्य रोगले पनि सजिलै आक्रमण गर्ने खतरा हुन्थ्यो। ओली शक्तिको चुलीमा पुग्दा होस् वा जीवनमरणको संघर्ष गर्दा, राधिकाको हेरचाह स्वास्थ्यमा मात्रै बढी केन्द्रित भयो। राधिकाले भनिन्, ‘उहाँ कहाँ पुग्नुभयो भन्दा पनि मेरो सधैंको चासो उहाँको स्वास्थ्य कस्तो छ भन्ने नै रह्यो।’ राजनीतिमा ओलीको हैसियत र भूमिका बदलिइरह्यो तर राधिकाको भूमिका उही स्वास्थ्य र हेरचाह गर्ने असल साधिकाको रूपमा रह्यो। ओली शक्तिको केन्द्रमा रहँदा पनि उनलाई त्यसको रवाफमा रुचि देखिएन, हेरचाहमा मात्रै उनको ध्याउन्न छ।

प्रधानमन्त्री ओलीको निजी निवास बालकोट होस् वा सरकारी निवास बालुवाटार; ओलीको भोकतिर्खा, औषधि समय र अन्य व्यवस्थापन नै राधिकाको मुख्य चिन्ताको विषय हो। शक्तिको अभ्यास कसरी हुन्छ, कहाँ कस्तो शक्ति विन्यास गर्नुपर्छ र हैसियत आर्जन गर्नुपर्छ, उनलाई मतलब हुँदैन।

एक दिन मध्य दिउँसो प्रधानमन्त्रीको सरकारी निवास पुग्दा राधिका निकै छट्पटी र तापमा देखिन्थिन्। उनी घरि भान्छाकोठा त घरि ओछ्यानसम्म यताउता गरिरहेकी थिइन्। एक्लै केही बोलिरहेकी पनि हुन्थिन्। ‘बिहान अलिकति खाएर तल झर्नुभएको, अहिलेसम्म आउनुभएन। औषधि खाने समय पनि टर्‍यो’, करिब भुटभुटिएको शैलीमा बोल्दै थिइन् उनी।

थर्मसमा पठाएको पानी प्रधानमन्त्रीले पिए नपिएकोमा चिन्ता रहेछ उनलाई। ‘सम्झाउनुपर्छ नि, नत्र त उहाँ थाहै पाउनुहुन्न, पानी पिउने कुरा पनि’, उनी भन्दै थिइन्, ‘दिनभरि काम नै हुन्छ, राति अबेरसम्म पढेर बस्नुहुन्छ, खानेकुरामा ध्यान नदिँदा कसरी थेग्छ र शरीरले ? ’

त्यस बेला प्रधानमन्त्रीलाई भेट्न आउनेहरूले बालुवाटार निवासका कोठाहरू भरिभराउ थिए। तल गाडी आएको आवाज आयो। ओली मुख्यमन्त्रीहरूसँगको बैठक सकेर साँझपख मात्रै बालुवाटार फर्केका थिए। किचेनबाट बाहिर टाउको निकालेर प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्यलाई सम्बोधन गर्दै राधिका कराइन्, ‘राजेश, ठूलो बुवालाई अब केही नखाई भेटघाटमा नलैजाऊ है ? ’ ओलीको जिन्दगीका हरेक सुखदुःखका साक्षी हुन्् राजेश, स्वकीय सचिवका रूपमा।

यति भनेपछि उनी हतारिँदै अर्काे कोठमा पसिन्। फर्कंदा उनको हातमा औषधिका पत्ता र थर्मस थियो। नजिकै रहेका सहयोगीलाई थमाउँदै उनले भनिन्, ‘यो औषधि पहिला ख्वाऊ, अनि मात्र भेटघाटमा पस्न दिनु।’ सहयोगी युवा तीव्र गतिमा प्रधानमन्त्री भएतिर गए र केही छिनमै हाँस्दै फर्किए। ‘तीन सेकेन्डले गर्दा ख्वाउन भ्याएँ, नत्र त भेटघाटमा बसिसक्नुभएको रहेछ’, सहयोगीले यति भनेपछि राधिका कोक्रोमा नानी निदाएकी आमाजस्तै हलुका भइन् र सोफामा थचक्क बसिन्।

धेरै थरी रोगलाई आत्मबलले पराजित गरेका प्रधानमन्त्रीको अनुहारमा भने हरदम चमक देखिन्छ। भेटघाटका लागि आएको भीडमा उनको मुद्राले पनि यही बताउँछ। राधिकाको सबैभन्दा ठूलो दुःख भनेकै प्रधानमन्त्री ओली खानपान र औषधिको टाइम टेबल पछ्याउँदैनन्, त्यसैमा छ। बेलाबेला दुःखेसो पोख्छिन् उनी। तर, ओली अक्सर एउटै कुराले राधिकाको मुख टाल्छन्। ‘इमानबाहेक मसँग सबै कुरा सीमित छन्। उमेर, कार्यक्षमता, समय सबैको सीमा छ’, ओलीले भन्ने गरेको वाक्य राधिकाले दोहोर्‍याइन्, ‘मसँग भएको समय देशकै लागि खर्चिन्छु।’

प्रधानमन्त्रीको दिनचर्या र स्वास्थ्यबारे कुरा गर्दै गर्दा त्यहीँ आइपुगिन् सन्त नेता कृष्णप्रसाद भट्टराईकी सहयोगी अमिता कपाली। कपालीले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य र व्यस्तताबारे नै जिज्ञासा राखिन् र मज्जाले हाँसिन्। राधिका र अमिताले केही बेर नेवारी भाषामा कुरा गरे र जोडजोडले हाँसे। अनि अमिता नेपाली भाषामै बोलिन्, ‘आत्मविश्वासी नेतालाई सेवा गर्ने अवसर पाउनुभएको छ, तपाईं धन्यवादको पात्र हुनुहुन्छ।’ सुनेर राधिका मुस्कुराइन्।

राधिका र अमिताका बीचमा केही बेर भविष्यका विषयमा पनि कुरा भए। बाँडेगाउँस्थित सन्त नेता भट्टराईको आ श्रममा बस्दै आएकी अमिताले भनिन्, ‘तपाईं राधिका होइन, साधिका हो।’ हरेक वाक्य टुंग्याएपछि खुलेर हाँस्थिन् अमिता। अनि राधिकाको बोल्ने पालो आउँथ्यो। उनी नेवारी लवजमा भन्थिन्, ‘हामीलाई केही कमाउनु पनि छैन, कसैलाई केही दिलाउनु पनि छैन। देशलाई नयाँ उचाइमा पुर्‍याउन सके बाँकी केही चाहिँदैन।’ त्यसैका लागि प्रधानमन्त्रीको खानपान र स्वास्थ्यलाई प्राथमिकता दिएको उनी बताउँदै थिइन्।

एउटै भान्छामा खाए पनि ओलीसँग कुरा गरी बस्ने फुर्सद छैन। भेटघाटमै आधा रात बित्छ। भेटघाट सकिएपछि पनि प्रधानमन्त्रीको समय करिब बिहानी प्रहरसम्म पढेरै बित्छ। राधिका सुतिहाल्छिन्। जति बेला ब्यूँझिँदा पनि प्रधानमन्त्री ओली बत्ती बालेर पढिरहेकै देखेपछि गाली पनि गर्छिन्।

‘उहाँको न हिँड्ने निश्चित, न फर्कने निश्चित’, राधिकाले आफ्नो कठिनाइ सुनाइन्, ‘औषधिको समयतालिका मिलाउनकै लागि भए पनि मैले कुरेर बस्नुपर्छ। तर, उहाँलाई भने मैले पढ्न पाइनँ भन्ने कुरामै चिन्ता छ। सधैं मसँग गुनासो भनेकै मैले पढाइलाई निरन्तरता दिइनँ भनेर हुन्छ।’ ओलीले भन्ने शैली नै टिपेर नक्कल गर्दै राधिकाले भनिन्, ‘समय निकालेर भए पनि पीएचडी गर भन्नुहुन्छ।’ ओलीको छोटो अभिनय गरेपछि राधिका निकै बेर धक फुकाएर हाँसिन्।

Source annapurnapost

Share