‘हामीलाई खाते भन्नेहरुलाई विश्वकप फुटबलको ट्रफी जितेर देखाइदिन्छौँ’

‘हामीलाई खाते भन्नेहरुलाई विश्वकप फुटबलको ट्रफी जितेर देखाइदिन्छौँ’

सानैमा आमा बितेपछि जुम्लाका विकास तिमिल्सिना एक्लो भए । सात वर्षकै उमेरमा आमा गुमाएपछि उनी कहिले आफन्तकोमा अनि कहिले सडकमा भौँतारिन थालेका थिए ।

सडकमा भौतारिएका उनलाई केही समय बाँकेको कोहलपुरको एउटा बालगृहले पालनपोषण ग¥यो, त्यसपछि काठमाडौंको सेल्टर आश्रय नेपालमा आए । आफ्नो जिन्दगी सडकमै बित्नेभो भनेर चिन्तामा डुबेका विकास बालगृहसम्म आउँदा नै खुशीले गद्गद् थिए । तर गएको भदौदेखि उनको जीवनमा कल्पनै नगरेको खुसीको प्रवेश भयो । खुसी थियो – सडक बालबालिकाको विश्वकप अर्थात स्ट्रीट चाइल्ड वर्ल्डकपमा विकास पनि खेल्न पाउने भए ।

‘टुहुरो भएको अवस्था र सडकमा जीवन गुजारेको अवस्थामा कसैले लगेर पालिदिए हुन्थ्यो भन्ने सोच आउँथ्यो, मेरा लागि कसैले पालिदिनु नै ठूलो कुरा थियो, खान लाउन पाउनु नै अन्तिम लक्ष्य थियो, यस्तो अवस्था भोगेको व्यक्तिले सडक बालबालिकाको विश्वकप खेल्न पाउनु कत्तिको खुसीको कुरा होला, तपाईँ आफै अनुमान गर्नुस्’, रुसको मस्को उड्नुअघि उज्यालो अनलाइनसँग कुरा गर्दै विकासले भने, ‘सडक बालबालिकालाई ‘खाते’ भन्नेहरुलाई यसपटक हामीले सडक बालबालिकाको ट्रफी उपहार दिने योजना बनाएका छौँ ।’

विकासजस्तै ९ जना नेपाली सडक बालक पर्सी शुक्रबारदेखि रुसमा हुने सडक बालबालिकाको विश्वकप खेल्न मस्को जाँदैछन् । उनीहरुले यो अवसरलाई सफलतामा बदल्ने अठोट बोकेका छन् । ‘रुसको मैदानमा नेपालको प्रतिनिधित्व गराउन पाउनु नै गर्वको कुरा हो, त्यसमाथि हामीले ६ महिनादेखि गरिरहेको निरन्तरको प्रयासले हामीले ट्रफी नै ल्याउने आत्मविश्वास बनाएका छौँ’, नेपाली टोलीका कप्तान १६ वर्षका रोशन भुजेलले भने, ‘संघर्ष कसरी गर्नुपर्छ भन्ने हामीलाई राम्ररी थाहा छ, जिउनकै लागि संघर्ष धेरै गर्‍यौँ, अब सडक बालबालिकको विश्वकमा ट्रफी जित्न संघर्ष गर्ने हो ।’

सडक बालबालिकाको विश्वकपमा सहभागिताको लागि २०७४ सालको भदौमा देशैभरीका बालगृहका १ सय जना भन्दै धेरै खेलाडी ल्याएर लिग आयोजना भएको थियो । लिगमा राम्रो खेल्नेहरुमध्ये चरणवद्ध रुपमा अन्तिम ९ जनाको नाम छानियो । उनीहरुले भदौदेखि एन्फा कम्प्लेक्स सातदोबाटोसहित विभिन्न खेल मैदानमा अभ्यास गरिरहेका छन् । विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल पनि नेपाली सडक बालकहरुको टिमले खेलिसकेको छ ।

के हो ‘स्ट्रीट चाइल्ड वर्ल्डकप’ फुटबल प्रतियोगिता ?

विश्वभर नै सडकमा बस्ने बालबालिकालाई नराम्रो दृष्टिकोणले हेरिने गरेको दावीसहित बेलायतको एक गैरसरकारी संस्था एमोस ट्रष्टले उनीहरुलाई पनि विश्वकप फुटबलमा स्थान दिनुपर्ने आवाज उठायो । सिनियर टोलीको विश्वकप आयोजना गर्ने देशमै विश्वकप फुटबल सुरु हुनुअघि सडक बालबालिकाको विश्वकप फुटवल आयोजना गर्ने प्रस्ताव बेलायती संस्थाले राख्यो ।

विश्वकप फुटबल हुने देशमा एक महिना पहिले सडक बालबालिकाको विश्वकप फुटवल प्रतियोगिता गर्दा विश्वभर उनिहरुको पक्षमा राम्रो सन्देश जाने निष्कर्षसहित यो प्रतियोगिता सुरु भएको हो । सेभेन ए साइड ढाँचामा हुने यो विश्वकप फुटबलमा एक टिममा १६ वर्षमुनिका ७ जना खेलाडी हुन्छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा सडक बालबालिकाको विश्वकप आयोजना गरियो । १४ देश सहभागी पहिलो सडक बालबालिका विश्वकपमा तान्जानियालाई हराएर भारतले उपाधि जितेको थियो । दोस्रो विश्वकप सन् २०१४ मा ब्राजिलमा भयो । १९ देश सहभागी दोस्रो संस्करणको विश्वकपमा बुरुन्डीलाई हराएर तान्जानियाले उपाधि जित्यो । अहिलेको सडक बालबालिकाको विश्वकमा किशोर र किशोरीका गरी २४ देशका झण्डै २ सय खेलाडी सहभागी हुँदैछन् ।

यसरी सम्भव भयो नेपालको ‘स्ट्रीट चाइल्ड वर्ल्डकप’ मा सहभागिता

सडक विश्वकप फुटबल प्रतियोगिता सकिएलगत्तै आयोजकले अर्को संस्करणका लागि सहभागिताको लागि आह्वान गर्छ । धेरै मापदण्ड पूरा गरेपछि मात्रै विश्वकपमा सहभागी हुन पाइन्छ । सडक बालकहरुको विश्वकपमा नेपालको सहभागितामा सेल्टर आश्रय नेपाल र संस्थाकी अध्यक्ष खुश्बु ओलीले ४ वर्षदेखि निरन्तर दौडधुप गर्दै आएका छन ।

नेपालले पनि सडक बालबालिकाको विश्वकप खेल्न पाउनुपर्छ भनेर ४ वर्षअघि आवेदन दिएपछि खेलाडीको उमेर, उनीहरु वास्तविक बालगृहमा बस्दै आएका छन कि छैनन, बालगृहले नियम कानुन पालना गरेका छन् कि छैनन् लगायतका विषयलाई आयोजक समितीले धेरै महत्व दिएकाले सहभागिताको लागि धेरै दौडधुप गर्नुपर्‍यो ।

एक देशमा एक संस्थाले मात्रै सडक बालबालिकाको विश्वकपमा खेलाडी छनौट र व्यवस्थापनको जिम्मा लिने नियम भएकाले नेपालको जिम्मा सेल्टर आश्रय नेपाल संस्थाले लियो । निकै लामो दौडधुप र आयोजकलाई विश्वास दिलाउने काम सकिएपछि बल्ल नेपालले सडक बालबालिकाको विश्वकप खेल्ने पक्का भयो ।

नेपालले अन्य प्रतियोगितामा विश्वकप खेल्नु निकै टाढाको विषय हो, तर सडक बालबालिकाको विश्वकप फुटबलमा त फ्याट्टै मौका आएछ है ? उज्यालोको प्रश्नमा सेल्टर आश्रय नेपाल संस्थाकी अध्यक्ष खुश्बु ओलीले भन्नुभयो, ‘कहाँ फ्याट्टै आउनु नि, यो ४ वर्षमा निकै दौडधुप गर्नुपर्‍याे, हामीले नै आवेदन दिएकाले सेल्टर आश्रय नेपालले धेरै नै मेहेनत गर्नुपर्‍याे, हाम्रो आर्थिक कारोबार, नीतिनियमलगायतका कुरामा उनीहरु धेरै नै कडा छन्, उनीहरुले पटकपटक अनुगमन गरेर मात्रै बल्ल हामीलाई छनौट गरेका हुन् ।’ नेपाललाई विश्वकपमा पुर्‍याउन आफू धेरैपटक लण्डन र रुसमा भौँतारिनुपरेको ओलीको भनाई छ ।

नेपाली बालबालिकालाई विश्वकपसम्मको अवसर दिन अखिल नेपाल फुटवल संघ एन्फा, विभिन्न सरकारी निकाय, नेपालमा रहेका राजदूतावासलगायतले पनि उत्तिकै सहयोग गरेका छन् ।

source ujyaaloonline

Share