जनकपुरलाई बिहारमा मिसाऔँ भन्ने भारतीय सांसद आजादलाई निधिको कडा जवाफ

जनकपुरलाई बिहारमा मिसाऔँ भन्ने भारतीय सांसद आजादलाई निधिको कडा जवाफ

काठमाडौं, वैशाख २९ – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले भारतीय सांसद कीर्ति आजादको विवादित बयानको विरोध गर्नुभएको छ ।

जनकपुरलाई भारतमा मिसाउनुपर्छ भन्ने दरभंगाबाट निर्वाचित लोकसभा सदस्य कीर्ति आजादको भनाईको उपसभापति निधिले ट्वीटमार्फत विरोध गर्नुभएको हो । निधिले कीर्ति आजादजस्तो जिम्मेवार व्यक्तिको यस्तो गैरजिम्मेवार टिप्पणी आउनु दुवै देशको अखण्डताका लागि खतरापूर्ण भएको भन्दै उनलाई कारवाही गर्न माग गर्नु भएको छ ।

Bimalendra Nidhi.@BimalendraNidhi

जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो।
मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।

के भनेका थिए अाजादले ?

भारतीय लोकसभाका सदस्य कीर्ति आजादले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला राज्य गठन गर्न आग्रह गरेका थिए ।

उनले ट्विटरमा मोदीलाई मेन्सन गर्दै मिथिलाको राजधानी जनकपुरधाममा स्वागत गर्दै जनकपुरलाई समेटेर मिथिला राज्य गर्न माग गरेका थिए । उनी लेख्छन्, ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’

Kirti Azad

@KirtiAzadMP

आदरणीय @narendramodi जी, जनकपुर धाम, मिथिला की राजधानी में आपका स्वागत है। दो सौ साल पहले अँग्रेजों और नेपाल क बीच हुई संधि जिसमें मिथिला के भाग को नेपाल को दिया गया समाप्त हो गया है। अनुरोध है इसे वापस लेँ और माँ सीता का आदर करते हुए मिथिला राज्य का गठन करें। @NitishKumar

कीर्ति आजाद दरभंगाबाट निर्वाचित लोकसभा सदस्य हुन् । उनी सन् २०१४ मा भएको लोकसभामा भारतीय जनता पार्टीबाटै निर्वाचित भएका थिए । तर सन् २०१५ डिसेम्बर २३ मा केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध दिल्ली एण्ड् दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसियसनमा भ्रष्टाचार गरेको आरोप लगाएपछि उनलाई पार्टीबाट निष्काशित गरिएको थियो ।

उनी पहिले दिल्लीको गोलमार्केट क्षेत्रबाट विधानसभा सदस्य रहेका थिए । उनी भारतीय क्रिकेट टिमका पूर्व सदस्य पनि हुन् । उनले सन् १९८० देखि १९८६ सम्म भारतबाट ७ टेष्ट खेल र २५ एकदिवसीय खेल खेलेका छन् ।

कीर्ति आजाद बिहारका  पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरासमेत हुन् ।  उनको यो विवादित ट्वीटपछि धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति दिएका छन् ।

Source ujyaaloonline

Share