‘समाचार सुन्दा शत्रुलाई पनि नहोस भनेको कुरा आफैंले भोग्नु पर्‍यो’

‘समाचार सुन्दा शत्रुलाई पनि नहोस भनेको कुरा आफैंले भोग्नु पर्‍यो’

सिन्धुपाल्चोकको ठूलोपाखरकी मालती तामाङ रेडियोको ‘फ्यान’ । मालतीका लागि रेडियो गलैंचा बुन्दाको मात्रै साथी थिएन, उहाँ घरमा काम गर्दा पनि रेडियो नसुनी बस्नै सक्नुहुन्नथ्यो । श्रीमान् विदेश गएपछि हो मालतीले रेडियोलाई नजिकको साथी बनाउनुभएको हो ।

मालतीको नजिकको साथी रेडियोले मिठा गीतसँगै कहिलेकाहीँ उहाँलाई तितो लाग्ने कुरा पनि सुनाउँथ्यो । रेडियोमा मालतीलाई गीत बाहेक मन पर्ने कार्यक्रममा पथ्र्यो वैदेशिक रोजगारीका विषयमा बज्ने कार्यक्रम ।

सँधै सुन्ने मालतीले कार्यक्रमको एक अंकमा झापाबाट वैदेशिक रोजगारीमा गएका व्यक्ति घाइते भएर फर्किनु परेको खबर सुन्नुभयो । त्यसले उहाँको मनमा चिसो पस्थ्यो ।

श्रीमान् काजीराम विदेशमा भएकाले मालतीलाई समाचारले झस्क्याइरहन्थ्यो । समाचार सुन्दै गर्दा उहाँ यस्तो पीडा त शत्रुलाई पनि नपरोस् भन्ने सोच्नुहुन्थ्यो ।

काजीराम र मालतीको २०५८ सालमा बिहे भयो । विवाह भएको २ वर्षपछि छोरा अमिर जन्मिए । काजीराम काठमाण्डौंमा गलैंचा बुन्नुहुन्थ्यो । मालती तिनै गलैंचाका बुट्टा काट्ने अनि बुट्टा भर्ने काम गर्नुहुन्थ्यो ।

गलैंचामा बुट्टा भरिन्थे । तर त्यसबाट हुने कमाइले काजीराम र मालतीको जीवनमा बुट्टा भर्न सकेन । ‘१० हजार रुपैयाँ हुन्थ्यो दुई जनाको त्यसले घर चलाउन मुस्किल हुन्थ्यो’ मालती भन्नुहुन्छ ।

सहरको बसाई गाह्रो हुँदै थियो । काजीरामलाई साथीहरुले विदेश जाने हुटहुटी जगाइदिए । अभाव सधैंका लागि हटाउने सपना बोकेर उहाँ २०६२ सालमा मलेसिया उड्नुभयो ।

विदेश काजीरामले सोचे जस्तो अनि साथीहरुले भने जस्तो सजिलो थिएन । मलेसियाको तीन वर्षको बसाई जाँदा लिएको एक लाख ५० हजार रुपैयाँ ऋण तिर्दैमा ठिक्क भयो ।

नेपाल फर्किएर कमाउने मेलो नदेखेपछि काजीरामले फेरि विदेश नै जाने विचार गर्नुभयो । मालतीलाई चाहिँ श्रीमानलाई विदेश पठाउने मन थिएन । एकातिर रेडियो सुनिरहने समाचार अर्कोतिर मलेसियामा कमाउन नसक्नु ।

यिनै कारणले मालतीले श्रीमानलाई विदेश नजान आग्रह गर्नुभयो । ‘पहिले जाँदा त कमाउन सकिएन अहिले पनि ऋण मात्र बढ्ने मात्रै त हो भन्ने लागेर नजानु भनें तर उहाँले मान्नुभएन’ मालती भन्नुहुन्छ ।

श्रीमानले मालती र छोरीलाई जसरी भएपनि महिनामा ५/५ हजार पठाइदिन्छु भन्नुभयो । दोस्रो पटक २०६७ सालमा पनि ऋण लिएर उहाँ मलेसिया नै जानुभयो । यो पटकको यात्रा पहिलाको भन्दा राम्रै भयो काजीरामका लागि ।

काजीरामले सुरु सुरुमा पठाएको पैसाले मालतीले जाँदा लिएको ऋण तिर्नुभयो । श्रीमान विदेश गएपछि मालतीले गाउँमै गलैंचा बुन्न थाल्नुभयो । ऋण तिरेर बचाएको पैसामा मालतीले आफूले गाउँमा गलैंचा बुनेर कमाएको पैसा पनि थप्नुभयो । दुवैको कमाइले उहाँले ठूलोपाखरमा नै ६ आना जग्गा किनेर दुई कोठाको घर बनाउनुभयो ।

केही दिनसम्म श्रीमानको फोन नआउँदा मालतीलाई चिन्ताले सताउँथ्यो । चिन्ता हटाउन अनि मन भुल्याउन बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म रेडियो सुन्नुहुन्थ्यो मालती ।

रेडियोमा विदेश जानेका कथाव्यथा सुन्दा यस्तो शत्रुलाई पनि नपरोस भन्ने मालतीलाई गाउँका भाइले त्यस्तै नमिठो खबर सुनाए । उनले मालतीलाई श्रीमान बिरामी परेको कुरा सुनाउनुभयो । उनले काजीरामलाई घर ल्याउन एक लाख ५० हजार रुपैयाँ चाहिने कुरा पनि सुनाए ।

उहाँसँग श्रीमानलाई घर ल्याउने पैसा थिएन । त्यसैले दिउँसो मात्रै गलैंचा बुन्ने मालती दिउँसो डकर्मीको काम गरेर राती गलैंचा बुन्न थाल्नुभयो । केही समयमा आफूले कमाएको पैसामा छिमेकीसँग पनि सहयोग मागेर काजीरामलाई घर ल्याउनुभयो ।

श्रीमानलाई एयरपोर्टमा लिन गएकी मालती खुशी हुन सक्नुभएन । ‘उहाँ बोल्न, हिँड्न सक्नुहुन्नथ्यो । टुलुटुलु हेरि मात्रै रहनुहुन्थ्यो’ मालती भन्नुहुन्छ । बिरामी श्रीमानलाई घर ल्याउने अवस्था नभएपछि उहाँले शिक्षण अस्पताल पुर्याउनुभयो । अस्पतालले न्युरो हस्पिटलमा पठाइदियो ।

उपचार त भयो तर अवस्था सुध्रिएन । दुई महिना अस्पताल राख्दा पनि नभएपछि मालतीले श्रीमानलाई घर लानुभयो । काजीरामको अवस्था अहिले पनि उस्तै छ । बोल्न अनि हिँड्डुल गर्न सक्नुहुन्न । ‘समाचार सुन्दा शत्रुलाई पनि नहोस भनेको कुरा आफैंले भोग्नु पर्‍यो’ मालतीले भन्नुभयो ।

श्रीमान् थलिएर फर्किएपछि मालतीले श्रम अवधिभित्रै वैदेशिक रोजगारको शिलशिलामा विरामी भएमा उपचार खर्च पाउने रहेछ भन्ने थाहा पाउनुभयो । तर श्रीमानको श्रम अवधी सक्किसकेकाले नपाउने भएपछि मालतीलाई चिन्ता थपिएको छ ।

श्रीमानको उपचार खर्च जुटाउन मालतीलाई कहिले काहिँ आफैं विदेश जाउँ भन्ने पनि लाग्छ तर सासु र छोरासहितको चार जनाको परिवारलाई छोडेर जानुपर्ने कुराले उहाँलाई रोकेको छ ।

Source ujyaaloonline

Share