गोर्खा सैनिकको सुरक्षामा ट्रम्प-किमको शिखर वार्ता हुने

गोर्खा सैनिकको सुरक्षामा ट्रम्प-किमको शिखर वार्ता हुने

सिंगापुर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको सुरक्षा गोर्खाली सैनिकले गर्नेछन्। यद्यपि दुवै नेताले आ-आफ्ना सुरक्षा टोली पनि ल्याउनेछन्। सिंगापुर प्रहरीका अनुसार शिखर वार्ताको सुरक्षा व्यवस्थामा गोर्खा सैनिकको टुकडीले हेर्नेछ। सिंगापुरमा निकै कम तर विशेष सुरक्षा व्यवस्थापन गर्न गोर्खा सैनिकलाई जिम्मेवारी दिइन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिस र अन्य देशका नेताबीच भएको सुरक्षासम्बद्ध सम्मेलनमा पनि गोर्खा सैनिकलाई तैनाथ गरिएको थियो।

सिंगापुर प्रहरीले नेपालका गाउँबाट गोर्खा सैनिक भर्ती गर्ने गरेका छन्। उनीहरूलाई बेल्जियममा निर्मित एफएन एससीएआर असल्ट राइफल जस्ता अत्याधुनिक हतियार दिइएको हुन्छ। यस्तो अवस्थामा पनि गोर्खा सैनिकले खुकुरीसहित मात्रै युद्धमा लड्न तयार हुन्छन्। खुकुरी गोर्खा सैनिकको परम्परागत र चर्चित हतियार मानिन्छ। इन्टरन्याशनल इन्स्टिच्यूट फर स्ट्र्याटजिक स्टडिजमा सिंगापुर सशस्त्र बलका विशेषज्ञ टीम हक्सली भन्छन्, ‘सिंगापुरले गोर्खा सैनिकले दिने सेवा नै उत्कृष्ट सेवा हो। त्यसैले उनीहरूलाई सुरक्षामा तैनाथ गरिनेछ।’ सिंगापुर प्रहरीका प्रवक्ताले शिखर वार्तामा गोर्खा सैनिक तैनाथ गरिने भन्ने प्रश्नमा बोल्न चाहेनन्।

सिंगापुर प्रहरीका ६ पारामिलिट्री कम्पनीमा १ हजार ८ सय गोर्खा सैनिक कार्यरत छन्।। नेपाल र इस्ट इण्डिया कम्पनीसँगको युद्ध सन् १८१४-१६ पछि गोर्खा सैनिकको भर्ती सुरु भएको हो। गोर्खा सैनिकको युद्धकलाबाट प्रभावित भएर बेलायतले उनीहरूलाई आफ्नो सेनामा समावेश गरेको थियो। हाल गोर्खा सैनिक बेलायत र भारतमा कार्यरत छन्। गोर्खा सैनिक नेपाली नागरिक हुन्। नेपाल असंलग्न परराष्ट्रनीति अँगालेको देश हो। देशभित्रै रोजगारीको उचित व्यवस्था हुन नसक्दा हाल पनि नेपाली नागरिक ब्रुनाई, सिंगापुर, फ्रान्स, दुबई जस्ता देशमा सुरक्षाकर्मीका रूपमा कार्यरत छन्। 

शिखर वार्ता जुन १२ म हुने
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा हुने जानकारी दिएको छ। अमेरिकी प्रेस सचिव सारा स्यान्डर्सले स्थानीय समय ९ बजे वार्ता हुने पनि स्पष्ट पारेकी छन्। हाल अमेरिकी विशेष टोली सिंगापुरमा रहेको र त्यसले वार्ताको तयारी गरिरहेको उनले जानकारी पनि दिएकी हुन्। उनले उत्तर कोरियाको एक टोली पनि सिंगापुरमा रहेको जानकारी दिएकी छन्।

Source annapurnapost

Share