विश्वकपका विशेष पाहुना पेले रुस नजाने

विश्वकपका विशेष पाहुना पेले रुस नजाने

मस्को : ब्राजिलका सर्वकालीन महान् फुटबलर पेलेको चर्चा सधैं हुने गर्छ । हरेक विश्वकपमा आयोजक राष्ट्रको पाहुनाको सूचीमा पेलेको नाम प्रायः छुटेको हुन्न । रुसको मस्कोमा बिहीबारदेखि सुरु हुने विश्वकपको २१औं संस्करणमा पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष पाहुनाका रूपमा पेलेलाई निम्त्याइएको छ । तर, पेलेले भने स्वास्थ्य ठीक नभएको भन्दै आफू रुस नजाने बताएका छन् ।

विश्वकपको उद्घाटनका अवसरमा विशेष पाहुनाका रूपमा निम्ता पाएका पेले अहिले खुट्टाको समस्याबाट पीडित रहेकाले उनको रुसयात्रा रद्द गरिएको जानकारी पेलेका प्रवक्ताले दिए । ‘पेलेले भित्रैदेखि रुस जाने इच्छा गर्नुभएको थियो । तर, स्टेडियममै बसेर आयोजक टोली रुस र साउदी अरेबियाको खेल हेर्ने उहाँको इच्छा स्वास्थ्यका कारण पूरा हुन सकेन,’ पेलेका प्रवक्ताले भनेका छन् ।

७७ वर्षीय पेलेको पछिल्लो समय घुँडा, तिघ्रा र हड्डीको शल्यक्रिया गरिएको छ । त्यसैले पनि उनी त्यति हिँडडुल गर्न सक्दैनन् र घरमै आराम गरेर बसेका छन् । पेले विश्वकप फुटबलको फाइनल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् १९५८ मा स्विडेनमा भएको विश्वकपको फाइनल खेल्दा पेलेको उमेर केवल १७ वर्ष दुई सय ४९ दिन थियो । उक्त विश्वकपको फाइनलमा ब्राजिलले आयोजक स्विडेनलाई ५-२ गोलले हराउँदै उपाधि चुमेको थियो । फाइनल खेलमा पेलेले पनि दुई गोल गरेका थिए । उक्त विश्वकपमा पेलेले कुल ६ गोल गरेका थिए ।

यसैगरी ७७ वर्षीय पेले विश्वकप फुटबलको इतिहासमा तीन पटक उपाधि जित्ने एकमात्र खेलाडी पनि हुन् । ब्राजिलले सन् १९५८, सन् १९६२ र सन् १९७० मा विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । चिलीमा सन् १९६२ मा भएको विश्वकपको फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३-१ गोलले हराएको थियो । उक्त विश्वकपमा पेलेले केवल एक गोल गरेका थिए ।

सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४-१ गोलले हराएको थियो । फाइनलमा पहिलो गोल १८औं मिनेटमा पेलेले नै गरेका थिए । उक्त विश्वकपमा पेलेले कुल चार गोल गरेका थिए । यसदेखि बाहेक पेलेले सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप पनि खेलेका थिए । ब्राजिल पहिलो चरणबाटै बाहिरिएको उक्त विश्वकपमा पेलेले एक गोल गरेका थिए । यसैगरी पेले विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । सन् १९५८ को विश्वकपमा वेल्सविरुद्घको खेलमा गोल गर्दा उनको उमेर केवल १७ वर्ष दुई सय ३९ दिन थियो ।

Source annapurnapost

Share