गंगामायाका छोरा हत्या आरोपितले गरे आत्मसमर्पण

गंगामायाका छोरा हत्या आरोपितले गरे आत्मसमर्पण

काठमाडौं : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका अभियुक्त छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। आत्मसमर्पणपछि पौडेललाई सर्वोच्चले कानुनी प्रक्रिया पुर्‍याएर सदरखोर डिल्लिबजार चलान गरेको छ।

जिल्ला अदालत चितवन र उच्च अदालत हेटौंडाले पौडेललाई साधारण तारिखमा राख्न आदेश दिएपछि सर्वोच्चमा परेको अर्को निवेदनमा पुर्पक्षका लागि थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश भएको थियो।

सर्वोच्चको २०७२ साल पुस ६ गते पौडेललाई थुना आदेश भएको हो। त्यसपछि उनी फरार थिए। आफ्ना छोरा अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारी यतिबेला वीर अस्पतालमा निराहार आमरण अनसनमा छन्।

एसएलसी दिएर चितवनमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न गएका १८ वर्षीय कृष्णप्रसादलाई २०६१ जेठ २४ गते माओवादीले हत्या गरेको थियो। अभियोगपत्रमा मुख्य योजनाकार भनिएका अर्का अभियुक्त रुद्र आचार्यलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी भएको छ। उनी बेलायतमा लुकेर बसेका छन्। आत्मसमर्पण गरेका पौडेलले अब थुनामा रहेर उनीविरुद्ध चलेको मुद्दाको पुर्पक्ष गर्ने छन्।

पौडेललाई सर्वोच्चका कर्मचारी टेकबहादुर खड्काको जिम्मा लगाएर कारागार पठाइएको थियो। ‘प्रतिवादी छबिलाल पौडेलल सिदा खाई कारागार कार्यालय डिल्लिबजारमा थुनामा बस्नु हुन,’ सर्वोच्चका शाखा अधिकृत अर्जुनप्रसाद आचार्यले पौडेललाई थमाएको प्रसासनिक आदेशमा लेखिएको छ। सर्वोच्चले प्रमाण अनुरुप बुझ्दै जाँदा ठहरे वमोजिम हुने गरी हाललाई थुनामा राख्न पठाएको हो। थुनाको बोधार्थ चितवन जिल्ला अदालतलाईसमेत पठाइएको छ।

छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै अनसनमा बसेका पिता नन्दप्रसाद अधिकारीको अनसनकैक्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो। उनको अहिलेसम्म दाहासंस्कार हुन सकेको छैन।

अभियुक्त पौडेल थुनामा गएपछि गंगामायालाई अनसन त्याग्न आग्रहका लागि केही मानवअधिकारकर्मी आइतबार साँझ वीर अस्पताल पुगेका थिए। ‘गंगामायाले धेरै आग्रहपछि सलाइन्सम्म लिन मानेको अबस्था छ। अभियुक्त पक्राउ परेको अवस्थामा अब हामीले अनसन त्याग्न सम्झाउँछौं,’ गंगामाया बचाऊ आन्दोलनका अभियन्ता रहेका अधिवक्ता ओमप्रकास अर्यालले अन्नपूर्णसँग भने।

Source annapurnapost
Share