जन्मदाता बाबुआमा कसले पाल्ने ?

जन्मदाता बाबुआमा कसले पाल्ने ?

छोराबुहारीले बाबुआमालाई घाँडो सम्झिएर आ श्रममा पुर्‍याएको, बुढेसकालमा राम्रो स्याहारसुसार नगरेको, अलपत्र पारेको जस्ता समाचार दिनहुँजसो सुनिन्छन् तर एक साताअघिको समाचार योभन्दा फरक शैलीको थियो। झापाकी ९० वर्षीया एक वृद्ध महिला छोरी ज्वाइँले आफ्नो सबै सम्पति हत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा भौंतारिएको समाचार सार्वजनिक भयो। अनुहार चाउरिएको, मुखमा दाँतको निसाना नदेखिने, बुढ्यौलीले खिस्रिक्क बनाएको कुप्रो शरीर लिएर वृद्ध महिला यो अवस्थामा न्यायको खोजीमा भौंतारिनुलाई आधुनिक समाजको कुन सभ्यताको उपमा दिने ?

समाचारअनुसार ती महिला पाँच छोरी, एक छोरा, नातिनातिनी र पनातिपनातिनी गरी करिब पचासजनाको अभिभावक रहिछन्। जति सन्तान, आफन्त भए पनि नब्बे वर्षको उमेरमा आफूमाथि अन्याय भएको गुनासो लिएर हिँड्नुपर्दा उनका शिक्षित, सभ्य मानिएका आफन्तको मन पोल्दो हो कि आनन्द लाग्दो हो ?        गर्भे टुहुरी कान्छी छोरीलाई जन्माइहुर्काइ, शिक्षित बनाएकी ती अभागी आमाले डाक्टर ज्वाइँ, राजधानीको सरकारी स्कुलकी स्थायी शिक्षिका छोरीको खटन सहन नसकेर घरबारविहीन बन्नुपर्ने कहालीलाग्दो अवस्थाले एकपटक सबैलाइ सोच्न वाध्य बनाएको छ।

आमाको सबै सम्पति छोरीज्वाइँले आफ्नो नाममा बनाएपछि उल्टै वृद्ध आमालाइ बेवास्ता गर्ने, घरबाट निस्किहाल भन्ने, रुखो बोलीबचन गर्ने, अझ आमाले भनेअनुसार १६ वर्षसम्म आमाछोरीको बीचमा बोलचाल नहुने, तिनै आमाको सम्पतिबाट राजधानीमा ६ तलाको घर ठड्याउने छोरीज्वाइँको मनले यतिबेला के सोचेको होला ?        बाबुविना आमाले कसरी संस्कार सिकाइन, कसरी शिक्षादिक्षा, लालनपालन गरिन त्यो कुराको हेक्का छोरीले राखिनन् भने ज्वाइँले त राख्ने कुरै भएन। सर्वत्र एउटी नब्बे वर्षकी वृद्ध आमाले न्याय माग्दै हिँड्दा चारदर्जन हाराहारीमा रहेका उनका आफन्तले के सोचिरहेका होलान् ?        एकजनाले नहेरे पनि हामी छौं भन्ने हिम्मतिला आफन्त अरू देखिएनन्। यसबाट प्रष्ट हुन्छ कि बाह्र छोरा तेह्र नाति, वृद्ध अवस्थाको दुःख आफ्नै थाप्लोमाथि।

केही समयअघि सरकारले सन्तानले आफ्नो कमाइको १० प्रतिशत अंश बाबुआमालाई अनिवार्य दिनुपर्ने व्यवस्था गर्‍यो। बजेटमा पनि ज्येष्ठ नागरिकको अधिकारलाई उल्लेख गरियो। सन्तानले जसरी पनि आफ्ना बाबुआमा पाल्नैपर्ने व्यवस्था उल्लेख गरियो, ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार बिमाको व्यवस्था गरियो। २०५१ सालदेखि वृद्धभत्ता वितरण गर्दै आएको छ सरकारले। ज्येष्ठ नागरिकको अधिकार सम्बन्धमा विभिन्न ऐनकानुन बनेका छन् तर पनि नेपालमा ज्येष्ठ नागरिक घरपरिवारबाटै अपमानित, अपहेलित र बोझको रूपमा देखिन थालेका छन्।

कुनै पनि बाबुआमाले आफ्ना सन्तानविना कुनै आश्वासन पाल्छन्, हुर्काउँछन्, योग्य बनाउँछन् भने बाबुआमा पाल्नको लागि सन्तानलाई सम्पत्ति चाहिन्छ, सरकारले दिने वृद्धभत्तामा तिनै सन्तानलेर्‍याल चुहाउँछन, बुढेसकालमा घर न घाटको बनाउँछन्, बिरामी हुँदा उपचार गर्दैनन्, तीर्थाटनको नाममा आ श्रममा पुर्‍याएर सन्तान ऐशको जिन्दगी जिउँछन्। यसबाट हाम्रो भोलिको समाज कुन पथमा अघि बढ्ला भन्ने आकलन गर्न गाह्रो पर्दैन।

सरकारले बाबुआमा नपाल्ने, राम्रो हेरचाह नगर्ने सन्तानको लागि कडा कारबाहीको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ। कुनै पनि सन्तानको विरुद्धमा बाबुआमा अदालत जाँदैन, मुद्दामामला गर्दैनन्, बरु आ श्रममा गएर जिन्दगी बिताउँछन्। बाबुआमाको लागि पनि सन्तानको विरुद्धमा उजुरी गर्नुपर्ने बाटो खोलिदिनुपर्छ सरकारले। सन्तानलाई नैतिक शिक्षाको बारेमा सचेत गराइनुपर्छ। रातदिन सन्तानको खुसीको लागि मरिमेट्ने बाबुआमा बुढेसकालमा उनीहरूबाटै अपमानित हुनुपरेपछि जिन्दगी कति निरश हुन्छ होला ?

यसको कानुनी उपचार राज्यस्तरबाटै खोजी हुनुपर्छ। छोराछोरीको स्वज्ञानबाट बाबुआमाप्रतिको व्यवहार सकारात्मक नभएपछि कानुनी उपचारको विकल्प देखिँदैन। घरपरिवार आफन्त हुँदाहुँदै बाबुआमा आ श्रममा पुर्‍याउने सन्तानलाई भविष्यमा कुनैपनि सरकारी सेवासुविधा उपभोग गर्ने अवसर दिइनु हुँदैन तबमात्र अभिभावक र सन्तानबीचको सम्बन्ध नजिक हुन्छ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ अनुसार साठी वर्ष उमेर पुरा गरेका सबै नेपाली नागरिक ज्येष्ठ नागरिक हुन्। नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६५ को नियम १५ अनुसार ज्येष्ठ नागरिकलाई परिचय पत्र दिने व्यवस्थालगायतका विषय उल्लेख गरिएको छ। त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६५ को नियम १४ को उपनियम (१) मा ज्येष्ठ नागरिकको वर्गीकरण गरिएको छ ः जसमा सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक, सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक र एकल ज्येष्ठ नागरिक गरी पाँच वर्गमा ज्येष्ठ नागरिकको वर्गीकरण गरिएको छ।

२०६८ सालको जनगणनाअनुसार नेपालमा करिब २४ लाख ६९ हजार जनसंख्या ६० वर्षमाथिका छन्। यो जनसंख्या कुल जनसंख्याको करिब ९ प्रतिशत हो। विश्वमा हाल ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड भएको अनुमान गरिएको छ। मानिसको औषत आयु बढेसँगै आगामी वर्षहरूमा यो संख्या झनै बढ्ने अनुमान गर्न सकिन्छ। नेपालीको औषत आयु बढेसँगै वृद्धवृद्धाको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ। सन्तानको यस्तै निच व्यवहार भइरहने हो, ज्येष्ठ नागरिकको संख्या बढिरहने हो भने भोलिका दिनमा झनै कष्टकर जिन्दगी भोग्न बाबुआमा वाध्य हुने देखिन्छ। सन्तानमा नैतिक शिक्षाको कमी देखिन्छ।

तातो खाएर न्यानोमा नातिनातिना खेलाएर बस्नुपर्ने बुढा आमा अधिकारको लागि चिसो सडकमा आन्दोलन गर्ने, आन्दोलनकै दौरानमा धेरै बाबुआमाले प्राण त्यागे संघीय संसद् भवनको सामुन्नेमा, तैपनि उनीहरूका माग पूरा भएनन्। आफन्तबाट राम्रो व्यवहार पाएको भए, अपहेलना सहनुनपरेको भए कुन बुढाबुढी सडकमा अधिकार माग्दै हिँड्ने थिए होला ?        अहिले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक सिटको व्यवस्था गरिएको छ, भाडामा सहुलियतको व्यवस्था गरिएको तर कार्यान्यनमा भने महिला सिट मात्रै प्रभावकारी देखिएको छ। सरकारले जन्मादाता बाबुआमा सन्तानले पाल्नुपर्छ, उनीहरूलाई राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाउनुपर्ने, कानुन बनाउनुपर्ने कस्तो संस्कारको पक्षपोषक भइरहेका छौं हामी, सन्तानले बाबुआमाको त्याग, संघर्ष र दुःखलाई बोध गरेर आफ्ना बाबुआमा पाल्ने हिम्मत गर्न नसक्नु नै विडम्बना हो।

छोरानाति गनगन गर्छन् बुहारीले आँखा तर्छन् बुढेसकालमा। न सकिन्छ गरिखान न सकिन्छ मरिजान बुढेसकालमा … भन्ने गीतको अर्थजस्तो नहोस् हाम्रा अग्रज, जिउँदा देवता मानिएका ज्येष्ठ नागरिकको जिन्दगी। बुवाको फुटेका कुर्कुचाको महत्व छोराछोरीलाई थाहा होस्, आमाको फाटेको सारीको महत्व थाहा होस्, नौ महिनासम्म गर्भमा राखेर कष्ट सहेर हुर्काएको पीडाबारे जानकारी होस् र भोलि समयको चक्र आफूमा पनि फर्कन्छ, बुढ्यौली सबैलाइ आउँछ भन्ने कुराको हेक्का सबै सन्तानमा उजागर होस्।

 

हाइलाइट

 

सन्तानले बाबुआमाको त्याग, संघर्ष र दुःखलाई बोध गरेर आफ्ना बाबुआमा पाल्ने हिम्मत गर्न नसक्नु नै विडम्बना हो।

Source annapurnapost

Share