डुबानले भूइँतलामा बस्नेको बिजोग : १५ फोटोमा हेर्नुस् बाढीपछिको भक्तपुर

डुबानले भूइँतलामा बस्नेको बिजोग : १५ फोटोमा हेर्नुस् बाढीपछिको भक्तपुर

भक्तपुर : बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्। यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन्। राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था छैन।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेका छन्। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन्।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ।


हेर्नुस् विकास कार्कीले खिचेका फोटोहरू

बाढीमा फसेकाहरूलाई यसरी उद्दार गरिँदैछ।

बाढीले बिलखबन्दमा परेकाहरू बस्तीतर्फ हेर्दै।

बाढीबाट जोगिँदै सुरक्षित स्थलतर्फ लागेका स्थानीयहरू।

चारैतिरबाट बाढीपछि डुबानमा परेको घर। बाढीको पीडा त छँदैछ, सँगै सामग्री सुरक्षित गर्ने चटारो छ।

बाटोभरी ताल बनेपछि यसरी डुंगा चलाएर बाढी तथा डुबानबाट पीडितलाई सुरक्षित स्थलतर्फ लगिँदैछ।

कोटेश्वर भक्तपुर सडकको छेउका लेन जहाँ पानी जमेर ताल बनेको छ। र, बीच सडक समेत पानीले अबरुद्ध बनाएको छ। यहाँ वारपार गर्नै समस्या छ।

राधेराधे आसपासको डुबान।

डुबानले बिलखबन्दमा परेका स्थानीयबासीहरू।

सुरक्षित स्थानतर्फ लगिँदै।

उद्दारमा खटिएका प्रहरीहरू। ठान्नुहोला खोलो तर्दैछन्, उनीहरू सडकको पानीमा हिँडिरहेका छन्।

सुरक्षाकर्मीहरू उद्दारमा।

 

Source annapurnapost

Share