इतिहासमै पहिलो पटक विश्वकप फुटबल जाडो महिनामा, कतार विश्वकप नोभेम्बर–डिसेम्बरमा

इतिहासमै पहिलो पटक विश्वकप फुटबल जाडो महिनामा, कतार विश्वकप नोभेम्बर–डिसेम्बरमा

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने भएको छ ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणा गरे । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो ।

२१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ । फुटबलका अधिकांश घरेलु लिगहरु अगस्ट देखि अप्रिलसम्म हुने गरेका छन् । तर सन् २०२२ मा लिगको मितिमा परिमार्जन गर्नु पर्नेछ ।

‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।’

३२ टिम समावेश गरेर खेलाइने यो अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।

Source ujyaaloonline

Share