विदेशबाट फर्केर तरकारी र फलफूल व्यापार, महिनामा ६० हजार कमाई

विदेशबाट फर्केर तरकारी र फलफूल व्यापार, महिनामा ६० हजार कमाई

लमजुङ– नवलपरासी बर्दघाटका सोहन खान कलिलै उमेरमा कतार हानिनुभयो । पैसा कमाउनका लागि उहाँ १८ वर्षकै उमेरमा कतार हानिनुभएको हो ।  खासै पढाई/लेखाई नभएका सोहनले कतारमा ‘टी ब्वाई’को रुपमा काम गर्नुभयो ।

कलिलै उमेरमा कतार भासिएका सोहनको परदेशमा सोचेजस्तो कमाई भएन । ‘पैसा कमाउने लहडले सानैमा यता आईयो । मासिक ५ सय रियल तलब थियो । सोचेजस्तो कमाई भएन विदेशमा पनि,’ उहाँले भन्नुभयो । त्यसपछि,उहाँ कतार पुगेको १९ महिनामै आफ्नै घर फर्कनुभयो ।

कतारबाट फर्केपछि जीवन चलाउनकै लागि उहाँले बुटवलमा लाग्ने हाटबजारमा स्टल भाडामा लिई चप्पल, ब्याग लगायतका सामान बेच्न थाल्नुभयो । ‘सवा दुई लाखको लगानीमा हाटबजारमा सामान बेच्न थालें । मासिक १२/१५ हजार कमाई हुन्थ्यो,’ उहाँले भन्नुभयो ।

हाटबजारको कमाईले पनि गुजारा चलाउन सकसै भयो । परदेशिने रहरले पनि उहाँलाई अझै छाडेको थिएन । र फेरि उहाँ भारत जानुभयो । होटलमा काम गर्न थाल्नुभयो ।

‘हाटबजारबाट पनि खासै राम्रो कमाई भएन । त्यसैले भारत पसियो । होटलमा काम गरियो । भारतमा महिनाको २२ हजार रुपैयाँजति कमाई हुन्थ्यो,’ सोहनले भन्नुभयो ।

भारतमा पनि छोराले राम्रो कमाएन भन्दै परिवारले सोहनलाई घर डाके । सोहन पनि परिवारको आग्रह स्वीकार्दै स्वदेश फर्कनुभयो । घरपरिवार उहाँलाई ईजिप्ट पठाउन चाहन्थे । परिवारकै सल्लाहमा उहाँ फेरि ईजिप्ट हानिनुभयो । उहाँ ईजिप्ट घरेलु कामदारको रुपमा जानुभएको हो । तर ईजिप्टमा त झन भारतमा कमाए जति पनि भएन ।

‘ईजिप्टमा ८ महिना बसेँ । त्यसपछि घर फर्केँ । त्यहाँ त घरको रखेदेख गर्नुपथ्र्यो । कमाई पनि भएन । भनेको समयमा पैसा पनि पाईंदैनथ्यो,’ उहाँले ईजप्ट बसाईँबारे जानकारी गराउनुभयो ।  जसोतसो ईजिप्ट गएको ऋण तिर्न सकेको उहाँ बताउनुहुन्छ ।

कहिले कतार, कहिले भारत त कहिले ईजिप्ट धाएका सोहनले ईजिप्टबाट घर फर्केपछि विदेश जाने रहर सधैंका लागि मार्नुभयो ।

लमजुङसम्मको यात्रा

ईजिप्टबाट फर्केपछि २ वर्ष त्यसै खेर फाल्नुभयो, सोहनले । यसै समयमा उहाँले बिहे पनि गर्नुभयो, हनिफासँग । बिहेपछि सोहनलाई परिवार पाल्नुपर्ने जिम्मेवारी थपियो । त्यसपछि, उहाँ बुटवलबाट व्यापार/व्यावसाय गर्न लमजुङ आउनुभयो ।

‘श्रीमती हनिफाको नातेदार लमजुङमै बसेर व्यापार, व्यावसाय गर्नुहुन्थ्यो । उहाँहरुले यतै आएर केही उद्यम गर्न सुझाव दिनुभयो । त्यसपछि हामी बुटवलबाट लमजुङ आयौँ,’ उहाँले लमजुङ आउनुको बेलिविस्तार सुनाउनुभयो ।

३ वर्षअघि लमजुङ आएका सोहनले सुरुमै सुन्दरबजार खत्रीठाँटीमा कस्मेटिक पसल चलाउनुभयो । पसल श्रीमती हनिफाले सम्हाल्नुभयो । सँगै उहाँले खुद्रा तरकारी तथा फलफूल पसल चलाउनुभयो । तरकारी तथा फलफूलको व्यापार फाप्यो ।


तरकारी तथा फलफूलको व्यापार फस्टाएसँगै उहाँले तीन पांग्रे सवारी (मयूर) किनेर घरघरमा तरकारी तथा फलफूल पुर्याउँदै बेच्न थाल्नुभयो । ‘मयुरबाट सुन्दरबजार, खत्रीठाँटी, बरेटार, तल्लो बजारमा घरघरमा पुगी तरकारी र फलफूलको व्यापार गरेँ,’ उहाँले भन्नुभयो, ‘यसरी घरघरमा पुगी तरकारी र फलफूल बेच्न थालेपछि कमाई झन् बढ्यो । सामान त बजारकै भाउमा बेच्छु नि ।’

पहिले सुन्दरबजार वरिपरी मात्रै केन्द्रीत भएको उहाँको व्यापार अहिले विस्तार भएको छ । अहिले उहाँ तरकारी फलफूल बेच्न सुन्दरबजार, खत्रीठाँटी, सत्रसय, पाउँदीका साथै बेसीशहर नगरपालिकाको उदीपुर, राईनास नगरपालिकाका केही क्षेत्र र तनहुँको रुपाकोट, मानेचौका लगायतका ठाउँसम्म पुग्नुहुन्छ । उपभोक्ताका घरघरमा पुगेर तरकारी तथा फलफूल बिक्री गर्नुहुन्छ ।

‘फलफूल तथा तरकारीको होलसेल तथा खुद्रा बिक्री गर्दै आएको छु,’ उहाँले भन्नुभयो । ‘अहिले तीनपांग्रे नयाँ सवारी साधन ल्याएको छु, यसैमा सामान राखेर विभिन्न ठाउँमा पुग्छु, घरघरमा तरकारी र फलफूल पुर्याउँछु,’ उहाँले भन्नुभयो, ‘सिजनल तरकारी र फलफूल बेच्छु ।’

खटिन सके पैसा कमाईन्छ 

उहाँका अनुसार तरकारी तथा फलफूल व्यापारमा फाईदा छ । खटिन सके यसै व्यापारबाट राम्रो कमाउन सकिने उहाँ बताउनुहुन्छ । ‘यसै व्यापारबाट म मासिक झण्डै ६० हजार कमाउँछु,’ उहाँले भन्नुभयो, ‘टाढाटाढा जानुपर्छ, घरघरमा तरकारी र फलफूल पुर्याउनुपर्छ, खटिनु त पर्छ नै । तर खटिएअनुसार कमाई पनि राम्रो हुन्छ ।’

‘विदेश जान पनि एक, डेढ लाख खर्च भईहाल्छ, त्यही पैसा यहीँ खर्ची सानोतिनो केही व्यापार/व्यावसाय गर्न सके पैसा देशमै कमाउन सकिन्छ,’ ३२ वर्षे उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘काम गर्न लाज मान्नु भएन । मनमा जोस र जाँगर भएमा देशमै बसेर केही व्यापार/व्यावसाय गरी  पैसा आर्जन गर्न सकिन्छ ।’

Source ujyaaloonline

Share