स्वास्थ्य क्षेत्रलाई नाफाखोरको हातमा सुम्पिन कांग्रेसको पनि प्रमुख भूमिका थियो : विवेकशील साझा

स्वास्थ्य क्षेत्रलाई नाफाखोरको हातमा सुम्पिन कांग्रेसको पनि प्रमुख भूमिका थियो : विवेकशील साझा

काठमाडौं – डाक्टर गोविन्द केसीका मागप्रति गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भएको भन्दै विवेकशील साझा पार्टीले सरकारको आलोचना गरेको छ  ।

पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यद्वारा सार्वजनिक एक विज्ञप्तिमा सरकारले दम्भ देखाएको आरोप छ । साथै आफूलाई समाजवादी सरकार भने पनि वर्तमान सरकारका क्रियाकलापले अपराधको रेखा छुन आँटेको विवेकशीलले आरोप लगाएको छ ।

अहिलेको अवस्था सिर्जित हुनुमा सत्तारुढ दल मात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि उत्तिकै जिम्मेवार भएको विवेकशील साझाले आरोप लगाएको छ ।

विवेकशील साझाले भनेको छ, ‘वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन्, त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाल कांग्रेस पनि छ । उदारीकरणका नाममा कसिलो नियमन बिना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफाखोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली कांग्रेसको सरकारको प्रमूख भूमिका थियो ।’

सबैभन्दा बढी अनसन कांग्रेसकै पालामा भएको भन्दै विवेकशील साझा भन्छ, ‘अहिले नेपाली कांग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन । डाक्टर केसीका १५ मध्ये ७ वटा अनसन नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली कांग्रेसकै शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।’

Source ujyaaloonline

Share