मेडिकल कलेज राष्ट्रियकरणको पक्षमा नेकपाका संगठन

मेडिकल कलेज राष्ट्रियकरणको पक्षमा नेकपाका संगठन

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार भातृसंगठनहरुले सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । नेकपानिकट युवा संघ, योङ कम्युनिष्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले हाल सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

प्रा डा. गोविन्द केसीले उठाएका मुद्दाको समाधानका लागि यो विकल्प उत्तम हुने उनीहरुले जनाएका हुन् । ती संगठनले संसदमा पेश गरिको चिकित्सा चिकित्सा शिक्षा विद्येयकबारे पनि बोल्दै निजी मेडिकल कलेजको राष्ट्रियकरण गरिए सबै समाधान निस्किने दाबी गरे।

अहिलेको सबै जटिलताको निकासको सबैभन्दा उत्तम विकल्प राष्ट्रियकरण नै भएको उनीहरुले बताएका हुन् । निजी मेडिकल कलेज राष्ट्रियकरण माग गर्दै केही दिनयता माइतीघरमा युवाहरुको समूहले प्रदर्शन गरिरहेको सन्दर्भमा सत्तारुढका भातृसंगठनले पनि साझा धारणा ल्याएका हुन् ।

‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादोन्मुख व्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हक मानिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस,’चार संगठनले भनेका छन् । उनीहरुले सातै प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल खोल्नुपर्ने पनि माग गरेका छन् ।

चिकित्सा शिक्षामा बाँडिने छात्रवृत्ति पनि गरिब र लक्षित समुदायलाई पारदर्शीरुपमा बाँड्नुपर्ने उनीहरुले माग गरेका छन् । ती संगठनले अस्पतालमा बन्द हड्ताललाई निषेध गर्नुपर्ने पनि माग गरेका छन् ।

‘जनताको करबाट तलब भत्ता खाएर स्वास्थ्य जस्तो संवेदनशील पेशा अपनाएर जनतालाई निर्वाध सेवा नदिनेलाई तत्काल कारवाही गरियोस’, उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

चारै संगठनले चिकित्सा शिक्षाका समस्या समाधान गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरुले डा गोविन्द केसीको आन्दोलनमा राजनीतिक घुसपैठ भएको पनि ठहर गरेका छन् ।

‘डा. गोविन्द केसीको आन्दोलमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस’ चार संगठनले भनेका छन्, ‘मुलुकबाहिर विद्यार्थी बेच्न पल्किएका निजी संस्थामाथि कडा कारबाही होस ।’

Source annapurnapost

Share