‘मेरो छोराको बाबु पाकिस्तानको नयाँ प्रधानमन्त्री’

‘मेरो छोराको बाबु पाकिस्तानको नयाँ प्रधानमन्त्री’

बुधबार पाकिस्तानमा संसदीय चुनाव भएको थियो । २७२ संसदीय सिटमा मतगणना जारी छ । संसदीय चुनावका साथै प्रान्तीय चुनावका लागि पनि मतदान भएको थियो ।

आम चुनावको परिणाम आउने क्रम जारी छ । पूर्व क्रिकेटर इमरान खान लहरका अगाडि कैयौं दिग्गज पछाडि परेका छन् । अहिलेसम्मको नतिजा अनुसार इमारन खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ११३ सिटमा अगाडि रहेको छ । सबैभन्दा ठूलो दलका रुपमा उदाउँदै गरेको पीटीआईका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ ।

इमरान खानको पार्टी पीटीआईले अग्रता बनाउँदा इमरानकी पहिली श्रीमती जेमाइमा गोल्डस्मिथले ट्वीटमाफर्त बधाई दिएकी छिन् । गोल्डस्मिथले ट्वीट गरेकी छिन्, ‘अपमान बाधा तथा तथा त्यागको २२ वर्षपछि मेरो छोराको बाबु पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्दैछन् । यो दृढता, भरोसा तथा हार स्वीकार गर्न नचाहने अविश्सवनीय उदाहरण हो । राजनीतिमा प्रवेश किन गरियो भन्ने नै अबको पहिलो चुनौती हो । बधाई इमरान ।’

जेमाइमा गोल्डस्मिथ बेलायती टेलिभिजन तथा डक्युमेन्ट्री निर्माताका साथै पत्रकार हुन् । उनी न्यू स्टेट्सम्यानकी उपसम्पादक पनि हुन् । उनले सन् १९९५ मा इमरान खानसँग बिहे गरेकी थिइन् । इमरानतर्फका उनका दुई छोरा छन् । सन् २००४ मा इमरान र जेमाइमाको डिभोर्स भएको थियो ।

त्यसपछि इमरानले सन् २०१५ मा रेहम खानसँग बिहे गरेका थिए । रेहमसँगको सम्बन्ध एक वर्ष पनि टिकेट । इमरानले यसै वर्ष बुश्रा मानेकासँग तेस्रो विवाह गरेका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज) ६९ सिटमा अगाडि रहेको छ । साथै पीएमएल–एन बाट प्रधानमन्त्रीका उम्मेदवार शहबाज शरीफ आफैले चुनाव हारेका छन् ।

त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपल्स पाटी(पीपीपी)  ३८ सिटमा अगाडि रहेका छन् । बिहीबार बेलुकासम्म पूर्ण नतिजा आइसक्ने पाकिस्तानी निर्वाचन आयोगले जनाएको छ ।

Source ujyaaloonline

Share