‘प्रधामन्त्रीले खोज्दा लाश भेटिँदैन भन्दै घाँटीमा पेस्तोल तेर्स्याए’

‘प्रधामन्त्रीले खोज्दा लाश भेटिँदैन भन्दै घाँटीमा पेस्तोल तेर्स्याए’

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पालले आफ्नो ज्यान लिने उद्धेश्यका साथ राजधानी काठमाडौँमै आफूमाथि पेस्तोल ताकिएको बताएकी छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै पालले राजधानीको थापागाउँस्थित एक गल्लीमा आफूलाई मार्ने योजनाका साथ आक्रमण प्रयास भएको बताएकी हुन् ।

‘साउन १५ गते साँझ ८ बजे दूध लिन कोठाबाट पसलमा जाँदै गर्दा गल्लीमा बसेका समूहका एकजनाले म माथि घाँटीमा पेस्तोल दागेर मार्ने धम्की दिए’, उनले भनिन्, ‘मलाई खुट्टाले छेकेर पेस्तोल घाँटीमा ताकियो, मैले कसैलाई आक्षेप लाउन खोजेको होइन, तर राजधानीमै सांसद सुरक्षित हुँदैनन् भने सर्वसाधरणको अवस्था के होला ?’

सांसद पालले आफूलाई पेस्तोल देखाएर सरकार डगमगाउँछ भन्ने भ्रम पनि त्याग्न चेतावनी दिइन् । ‘मलाई प्रधानमन्त्रीले खोज्दा तेरो लाश पनि भेटिँदैन भनियो, बैठकमा गइस भने ज्यान लिन्छु भन्दै धम्की दिए’, उनले भनिन्, ‘तर म अन्तिम श्वास रहुन्जेल लडिरहन्छु, पेस्तोले देखाउँदैमा डराउँदिन ।’

सांसद पालले पुलिसले अनुसन्धानका क्रममा आफूले नाटक गरेको भनेर गरेको टिप्पणीप्रति पनि आक्रोश पोखिन् ।

Source annapurnapost

Share