दोस्रो एकदिवसीय खेल : नेपाली टोलीका कीर्तिमान नै कीर्तिमान

दोस्रो एकदिवसीय खेल : नेपाली टोलीका कीर्तिमान नै कीर्तिमान

काठमाडौं  : कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक खेलिरहँदा धेरै नयाँ कीर्तिमानको सम्भावना रहन्छ। यस्तै अवस्थामा नेपाली टोलीले शुक्रबार नेदरल्यान्ड्सविरुद्धको आफ्नो दोस्रो एकदिवसीय खेल खेल्दा धेरै कीर्तिमान कायम गरेको छ। नेपाली युवा ब्याट्सम्यान रोहितकुमार पौडेल एकदिवसीय क्रिकेट खेल्ने सबैभन्दा कम उमेरका चौथो खेलाडी बनेका छन्।

रोहितले शुक्रबार १५ वर्ष ३ सय ३५ दिनमा अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यु गरेका हुन्। यसअघि पाकिस्तानका हसन राजा, केन्याका गुर्दिप सिंह र क्यानडाका नितिस कुमारले मात्रै रोहितको भन्दा कम उमेरमा एकदिवसीय खेल खेलेका छन्। हसनले १४ वर्ष दुई सय ३३ दिन, गुर्दिपले १५ वर्ष दुई सय ५८ दिन र नितिसले १५ वर्ष दुई सय ७३ दिनको उमेरमा एकदिवसीय खेलमा डेब्यु गरेका छन्।

शुक्रबारको खेलमा रोहितसँगै प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल र मध्यम गतिका बलर ललित भण्डारीले पनि एक दिवसीय खेलमा डेब्यु गरेका छन्। बुधबार नेपालले नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो एकदिवसीय क्रिकेट खेल्दा यी तीनै खेलाडी बेन्चमा थिए। पहिलो खेलमा खेलेका शक्ति गौचन, शरद भेषावकर र करण केसीको स्थानमा रोहित, सुवास र ललितले अवसर पाएका हुन्।

यस्तै शुक्रबारको खेलबाट नेपालका लागि एकदिवसीय क्रिकेटको एकै खेलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमान बलर सोमपाल कामीले कायम गरेका छन्। उनले जोडेको ६१ रनको योगफल नै अहिलेसम्म एकदिवसीय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेकोमध्ये ब्यक्तिगत र्साधिक रन बन्यो। त्यस अघि कप्तान पारस खड्काले शुक्रबार नै ५१ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले बुधबार पहिलो खेलमा ५१ रनको अर्धशतकीय पालि खेलेका थिए। अहिलेसम्म यी तीन खेलाडीले मात्रै अर्धशतक प्रहार गरेका छन्।

समग्रमा भने एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उपकप्तान ज्ञानेन्द्र अघि रहेका छन्। उनले दुई खेलमा गरी ६४ रन प्रहार गरेका छन् भने उनीभन्दा पछि कप्तान पारसले ६३ रन प्रहार गरेका छन्। सोमपाल तेस्रो स्थानमा छन्। पहिलो खेलमा कुनै रन जोड्न नसकेका उनको खातामा ६१ रन मात्रै भएको छ। दीपेन्द्रसिंह ऐरीले दुई खेलमा गरी ५२ रन प्रहार गरेका छन्।

यस्तै एकदिवसीय क्रिकेटको एकै पालिमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि उनै सोमपालको नाममा रह्यो। उनले शुक्रबार आफ्नो पालिमा तीन छक्का प्रहार गरे। कप्तान पारसले सोही दिन दुई छक्का प्रहार गरेका थिए। एकदिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट पहिलो छक्का प्रहार गर्ने कीर्तिमान भने दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो। उनले बुधबार एक छक्कासहित ३३ रन जोडेका थिए।

Source annapurnapost

Share