कर्ण शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको ठहर

कर्ण शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको ठहर

काठमाडौं : पोखरामा निर्माण भएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट फेवातालको जग्गा मिचेर निर्माण भएको छानबिन समितिले निश्कर्षसहितको प्रतिवेदन बुझाएको छ।

जग्गा मिचिएको वा नमिचिएको विषयमा सर्वोच्च अदालतको आदेशमा नारायण रेग्मीको संयोजकत्वको छानबिन समितिले स्थलगत अध्ययन गरेको थियो। अध्ययनपश्चात सर्वोच्च अदालत तथा प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराइएको प्रतिवेदनले फेवातालको जग्गा मिचेर उक्त रिसोर्ट निर्माण भएको देखाएको छ।

‘फेवातालको केही क्षेत्र र सार्वजनिक क्षेत्रफल मिचेर उक्त रिसोर्ट निर्माण भएको समितिले ठहर गरेको छ’, छानबिन समितिका अध्यक्ष रेग्मीले भने, ‘हामीले विस्तृत अध्ययन प्रतिवेदन न्यायालय र प्रधानमन्त्री कार्यालयलाई उपलब्ध गराइसकेका छौं। प्रतिवेदनको आधारमा अदालतले आफ्नो आवश्यक प्रक्रिया अघि बढानेछ।’ रेग्मीले यो विषयमा थप बताउन मानेनन्।

समितिले फेवातालको किनारदेखि ६५ मिटरभित्र क्षेत्रफल मिचेर उक्त रिसोर्टको मूल गेटसहित ग्यारेज, मिटिङ हलसहित आठवटा संरचना निर्माण भएको ठहर गरेको छ।

समितिकाअनुसार रिसोर्टले बडा कार्यालयको अनुमति लिएर सार्वजनिक जग्गामा संरचना निर्माण गरेको छानबिनका क्रममा फेला परेको हो।

फेवातालको जग्गा अतिक्रमण भए नभएको विषयमा छानबिन गर्न नापी विभागका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा ६ सदस्यीय समितिले १५ दिन लगाएर छानबिन गरेको हो।

पर्यटन व्यवसायी शाक्यले सञ्चालन गरेको उक्त रिसोर्ट तालको मापदण्ड मिचेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

सर्वोच्चले छानबिन गरी प्रतिवेदन पेस गर्न भनेको थियो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले रिसोर्टले फेवातालको मापदण्ड मिचे नमिचेको विषयमा छानबिन गर्न समिति बनाएर दुई महिनाभित्र प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको थियो।

आदेशमा जाँचबुझ गर्न तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको नापी विभाग र भूमिसुधार व्यवस्थापन विभागबाट एक एक प्रतिनिधि, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक एक प्रतिनिधि समावेश हुने गरी समिति बनाउन सुझाव दिइएको थियो। सोहीअनुसार गठिन समितिले छानबिन गरेको हो।

Source annapurnapost

Share