नेपाल आइडल : छोराले गोल्डेन कार्ड बुवालाई देखाउनै पाएनन्

नेपाल आइडल : छोराले गोल्डेन कार्ड बुवालाई देखाउनै पाएनन्

काठमाडौँः नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडलको सिजन–२ सुरु भइसकेको छ । बिहीबारदेखि एपीवान एचडी टेलिभिजनबाट नेपाल आइडल सिजन–२ को अडिसन राउन्डको प्रसारण सुरु भएको हो ।

हरेक साता बिहीबार र शुक्रबार राति साढे आठ बजे यसको प्रसारण हुँदैछ । अडिसन राउन्डको प्रसारणसँगै नेपाल आइडलमा सहभागी हुने नयाँ प्रतिभाहरुका फरक फरक पाटा पनि बाहिर आउन थालेका छन् ।

यस्तै एकजना प्रतिभा हुन बुटवलका २५ वर्षीय विजय विश्वकर्मा । उनी नेपाल आइडलको सिजन-२ को भैरहवामा चैत ६ र ७ गते  भएको  अडिसनमा सहभागी भएका थिए ।

पूर्वफौजी बुवाको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा पनि उनले गीतप्रति सानैदेखिको हुटहुटीलाई मार्न सकेनन् । परिवारकै आग्रहमा बुवा निको हुने कामना गर्दै उनी भैरहवा अडिसनमा सहभागी पनि भए ।

बाग्वेश्वरी कला केन्द्रमा संगीत सिकिरहेका उनको भनाइ थियो, ‘बच्चादेखि नै संगीत सिकिरहेकाले घरबाट एकदमै सहयोग भयो । बुवा गम्भीर बिरामी भएकाले यहाँ आउन त मन थिएन, तर घरबाट जा भनेकाले आएँ ।’

एउटा लङ्स चल्न बन्द भएर मृत्युसँग संघर्ष गरिरहेका बुवालाई केही समय छाडेर भैरहवामा अडिसन दिन आइपुगेका विजय भावुक हुँदै प्रस्तुत भए । बुवाले मृत्युसँग संघर्ष गरिरहेको कुरा सुनाउँदा नेपाल आइडलका जजहरुका पनि आँखा रसाए ।

बुवालाई सम्झिँदै विजयले अडिसन दिएँ, अनि गाउन थाले नारायण गोपलको स्वरमा गुन्जिएको,

‘तिम्रो जस्तै मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनी 

भावुक हुँदै गीतको लय हालेका उनले जजहरुको मन जित्दै गोल्डेन कार्ड पाए, अर्थात् उनी अन्य १७ जनासँगै अर्को राउन्डका लागि छनोट हुन सफल भए । छनोटसँगै गोल्डेन कार्ड बोकेर बाहिरिएका उनलाई प्रस्तोता आशिफ शाहले गम्भीर बिरामी बुवाको स्वास्थ्य लाभको कामना पनि गरे ।

सबैको तर्फबाट आशिफ शाहले गरेको प्राथनाले काम गरेन । विजय जब घर पुगे तब उनका बुवाले यो संसार छाडिसकेका थिए । भैरहवामा अडिसन सकेर उनी घर पुग्दा बुवाको निधन भइसकेको थियो । नेपाल आइडलका जजको मन जितेका उनले बुवालाई गोल्डेन कार्ड देखाउनै पाएनन् । केबल बुवाको तस्बिर अगाडि गोल्डेन कार्ड देखाएर उनी भावुक भए, टोहोलाइरहे ।

‘बाबा बितेको भए म आउन पाउँदिन थिएँ, तर बुवा सिकिस्त हुँदा हुँदै पनि यहाँ आएर गाएँ, अगाडि जाने विश्वास गरेको छु’, विजयले सुनाए ।

भिडियो

source annapurnapost
Share