अघि बढ्यो रंगशाला निर्माणको काम

अघि बढ्यो रंगशाला निर्माणको काम

बनेपा : जग्गा विवादले वर्षौंदेखि निर्माण रोकिएको काभ्रेको पनौती–७ मा अवस्थित पनौती क्षेत्रीय रंगशाला निर्माण कार्यले तीव्रता पाएको छ । जग्गाका विषयमा व्यक्ति र स्थानीय निकायबीच विवाद रहे पनि जनप्रतिनिधिको पहलपछि पनौती नगरपालिकाले रंगशालाको निर्माण अघि बढाएको हो ।

स्थानीयवासीले पाँच हजारभन्दा बढी दर्शक क्षमताको रंगशाला निर्माणका लागि पहलकदमी गर्न र निर्माण छिटै सम्पन्न गर्न नगरपालिका र सरकारसँग आग्रहसमेत गरेका छन् ।

४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको क्षेत्रीय रंगशालामा १८ रोपनी जग्गा व्यक्तिको नाममा परेपछि विवाद रहँदै आएकोे पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले बताए । ‘नगरपालिकाले जग्गाको विवाद अन्त्य गर्न स्थानीय तहबाट पहल गरिरहेको छ । विवादकै बीच पनि दोस्रो चरणको कामका लागि टेन्डर आह्वान गरिसकेका छौं’, नगरप्रमुख न्यौपानेले भने, ‘व्यक्तिभन्दा ठूलो राज्य र जनता नभएकाले व्यक्ति बचाउन नगरवासीलाई धोका दिन मिल्दैन । रंगशाला बन्दै जान्छ र विवाद पनि मिल्दै जान्छ ।’

विसं २०७२ देखि बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण सुरु भएको रंगशालामा कभर्ड हल, प्याराफिट, प्रशासनिक भवन लगायतको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख न्यौपानेले बताए । ‘सरकारको नीति नै एक प्रदेश एक रंगशाला बनाउने हो । कुनै पनि हालतमा रंगशाला बनाएरै छाड्छौं ।’ नगरप्रमुख न्यौपानेले सिंगो नगर, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, प्रशासन र निर्वाचित जनप्रतिनिधिले सहमतिका लागि बारम्बार पहल गर्दा पनि कँडेल परिवारले नमानेको बताए । उनले केही व्यक्तिले अटेर गरे पनि ३१ सालअघि उक्त जग्गा सार्वजनिक रहेको देखिएकाले जसरी पनि रंगशाला निर्माण गर्न लागेको बताए ।

‘व्यक्तिगत स्वार्थभन्दा सिंगो नगरको भलाइलाई हेरेका छौं । रंगशाला राष्ट्र र जिल्लाको शान भएकाले त्यसलाई पूरा गर्न नगरपालिका लागेको हो’, न्यौपानेले थपे, ‘सरकारको करोडौं रुपैयाँ लगानी भइसक्यो, व्यक्तिको स्वार्थका कारण अब आयोजना रोकिँदैन ।’

काभ्रे क्षेत्र नम्बर २ का पूर्वसांसद रामहरि सुवेदीलगायत स्थानीयवासीले पनि उक्त जग्गा ३२ सालमा नापी हुनुअघि सार्वजनिक रहेको र व्यक्तिले पछि मात्रै आफ्नो नाममा पारेको बताउँदै आएका छन् ।

रंगशाला निर्माणमा जनता र जनप्रतिनिधि एकातिर छन् भने कँडेल परिवार अर्कोतिर । जनप्रतिनिधि नभएको अवस्थामा विवादका कारण रंगशाला निर्माण हुन नसकेपछि पटकपटक बजेट फिर्ता भएको थियो । अहिले जनप्रतिनिधि आएसँगै रंगशाला निर्माणले तीव्रता पाएको छ । नगरले पहिलो चरणमा कम्पाउन्ड वाल, मुख्य द्वार, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल पनि बनाउन लागेको छ । सबै काम सम्पन्न गर्न सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये पाँच करोड रुपैयाँ स्विमिङ पुल लगायतका संरचना निर्माणमा मात्र खर्च हुनेछ ।

करिब ४२ रोपनी सार्वजनिक जग्गासँगै स्थानीय गणेशकुमारी कँडेल र नानीगीता कँडेलको १७ रोपनी १४ आना दुई पैसा जग्गा परेपछि विवाद भएको हो । कँडेल परिवारले कित्ता नं. १३२ को करिब १८ रोपनी जग्गा आफ्नो रहेको भन्दै निर्माण रोक्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा निवेदन दिएपछि रंगशाला निर्माण रोकिएको थियो । स्थानीय राजनीतिक दल, नगरपालिका र कँडेल परिवारबीच भएको लिखित सम्झौता कार्यान्वयन नभएपछि कँडेल परिवारले पुनरावेदनमा मुद्दा दायर गरेका थिए । २०७० वैशाख ३ गते अदालतले कँडेल परिवारको नाममा रहेको जग्गामा रंगशाला नबनाउन आदेश दिएको थियो ।

रंगशालाको गुरुयोजनामा परेको कँडेल परिवारको उक्त जग्गा २०३३ सालमा मात्र नापी भएको हो । वसुन्धरा केसी प्रधानपञ्च रहेका बेला गंगाप्रसाद कँडेलको नाममा उक्त जग्गा नापी भएको थियो । गंगाप्रसादको निधनपछि उनका दुई श्रीमती गणेशकुमारी र नानीगीताको नाममा नामसारी भएको थियो ।

रंगशालमा स्टेडियम ग्राउन्ड, प्याराफिट, कम्पाउन्ड वाल, मेन गेट, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल, कभर्ड हल लगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाइएको छ । बहुवर्षे आयोजना भएकाले नेपाल सरकारले बजेट छुट्ट्याए पनि विवादका कारण बजेट फ्रिज हुँदै आएको थियो ।

Source annapurnapost

Share