सूर्यको सतहको अध्ययन गर्न उड्यो रकेट

सूर्यको सतहको अध्ययन गर्न उड्यो रकेट

वासिङटन : अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकले गरेका छन्।

‘तीन, दुई, एक, ब्लास्टअफ’ फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा-४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयानुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम ‘पार्कर सोलार प्रोब’ राखिएको छ। यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ।
यसलाई शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। उक्त यानलाई अत्यधिक तापबाट बचाउन ११.४३ सेन्टिमिटरको कार्बन राखिएको छ। पृथ्वी र सूर्यबीचको दूरी करिब ९ करोड ३० लाख माइल मानिएको छ। नासाका वैज्ञानिकहरूका अनुसार यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ।

यो क्षेत्र सूर्यको सतहभन्दा ३ सय गुणा बढी तातो हुने ठानिएको छ। उक्त यानले सात वर्षमा सूर्यको परिक्रमा गर्नेछ। ९ फिट १० इन्च लम्बाइको यानको ६१२ किलोग्राम तौल छ। यति धेरै ताप र प्रकाशमा पनि काम गर्न सक्ने यो पहिलो यान हो। सूर्यको वरपर ऊर्जा र गर्मी कसरी घेरा बनाएर बस्छ भन्ने विषयमा यसले अध्ययन गर्नेछ।

यो यानले सूर्यको वरपरको वातावरण, स्वभाव र यसको कार्यप्रणालीको बारेमा विस्तृत जानकारी हासिल हुने नासाको भनाइ छ। ९१ वर्षीय अमेरिकी ज्योतिर्विद् युजिन पार्करको नाममा उक्त यानको नाम राखिएको हो। सबैभन्दा पहिला सन् १९५८ मा उनले सौरवायुको वर्णन गरेका थिए। आफ्नो नाम दिइएको अन्तरिक्ष यान प्रक्षेपण गरेपछि उनले खुशी हुँदै प्रतिक्रिया व्यक्त गरेका छन्।

उनले भने, ‘वाह! आगामी कैयौं वर्षसम्म हामीले केही सिक्नेछौं।’ गत शनिवार नै उक्त यान प्रक्षेपण गर्ने कार्यक्रम रहे पनि प्राविधिक समस्या देखाउँदै पछि सारिएको थियो। यो प्रोजेक्टका लागि नासाले १० खर्ब ३० अर्ब अमेरिकी डलर खर्च गरेको छ।

Source annapurnapost

Share