नेपाल आइडलका उत्कृष्ट २०  प्रतिभालाई चिन्नुहोस्

नेपाल आइडलका उत्कृष्ट २० प्रतिभालाई चिन्नुहोस्

सुमन परियार (१८), पोखरा 

 १३ वर्षको उमेरदेखि गाउन थालेकी हुँ। नेपाली तारा-३ मा सहभागी भएर उत्कृष्ट १४ सम्म पुगेँ। विभिन्न स्थानीय प्रतियोगितामा सहभागी हुँदा कहिले तेस्रो त कहिले चौथो हुन्थेँ। ‘स्पुन हाउस’ ब्यान्डको मेन भोकलिस्ट थिएँ। आइडलको पहिलो सिजनमा पनि सहभागी भएकी थिएँ। तर, थिएटर राउन्डबाट बाहिरिएँ। मेरो आमाबुबा टेलरिङ गर्नुहुन्छ। दिदी कुवेतमा हुनुहुन्छ। सबै किसिमका गीत गाउन सक्छु। क्लासिकल र आधुनिक गीत बढी सुन्छु अनि रक गाउँछु। उदय-मनिला सोताङका गीत एकदम मन पर्छन्। बुबाले ‘तिमीले गाउनुपर्छ’ भन्नुहुन्छ। म उहाँको सपना पूरा गर्न नेपाल आइडलमा आएकी हुँ।

राजेन्द्र आले ‘रायन’ (२६), काठमाडौँ
मेरो पुख्र्यौली घर रामेछाप हो। म काठमाडौँमा जन्मिए/हुर्किएँ। १८ वर्षको उमेरदेखि क्यासिनोतिर गाउन थालेँ। ड्रमर सन्तोष थापाको घरमा बस्थेँ, उहाँकै संगतले संगीत क्षेत्रमा लागेको हुँ। युट्युबमा मोर्डन, वेस्टर्न गीत बढी सुन्छु। औपचारिक रूपमा संगीत त सिकेको छैन, तर मैले एक-दुई वटा गीत रेकर्ड गराएको छु। एउटा अंग्रेजी गीतको एल्बम पनि तयार छ तर रिलिज गरेको छैन। मेरो प्रिय गायिका सिने गुरुङ हुन्। नेपाल आइडलमा छानिएपछि तीन हप्तादेखि सुगम संगीत सिकिरहेको छु।

रमिता शर्मा (२२), काठमाडौँ
संगीत क्षेत्रमा लागेको डेढ वर्षजति भयो। ‘इनभर्सन’ ब्यान्डकी भोकलिस्ट भएर गाउँथेँ। मेरो बाबा हुनुहुन्न। ममी पहिलादेखि नै रत्यौलीतिर राम्रो मादल बजाउनुहुन्थ्यो। त्यहीँबाट म पनि संगीत क्षेत्रतिर आकर्षित भएँ। मेटल, रकदेखि भजनसम्म सुन्छु। आस्था तामाङ मास्के, एसीडीसी र दीप श्रेष्ठका गीत मन पर्छन्। मिलन अमात्य मेरी फेभरेट सिंगर हुन्। आइडलमा आएर धेरै टेक्निकल कुरा सिकिरहेकी छु। भोकल पनि खुलेको छ। आफ्नो नेपाल आइडल बन्ने सपना पूरा गर्नेछु।

हिना मल्ल बराइली (१७), धरान
चर्चमा गाउँदागाउँदै संगीतमा लागेँ। बुबा हुनुहुन्न। ममी बीपी प्रतिष्ठानमा काम गर्नुहुन्छ। दिदी ब्याचलर्स पढ्दै हुनुहुन्छ। म कक्षा ११मा पढ्दै छु। एसईईपछि  फुर्सदमा युट्युब हेरेर रक प्याटर्नका गीत गाउन थालेँ। युट्युबबाटै गिटार बजाउन सिकेँ। धरानका रेस्टुरेन्ट–बारमा पनि गाएकी छु। रक गीत बढी सुन्छु। सविन राई, अभया सुब्बाका गीत मन पर्छन्। अभया मेरी आइडल हुन्। रक स्टार बन्ने सपना छ।

विक्रम बराल (२५), पोखरा
बारमा गाउन थालेको १७ वर्ष भयो। एसएलसीपछि २०६६ सालतिर पोखराकै त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिकेको थिएँ। ‘अडियो फार्म’ र प्रोग्रेसिभ मेटल ब्यान्ड ‘साइनाइड’ मा आबद्ध भएर गाएँ। पप, क्लासिकदेखि सुगम संगीतसम्म सुन्छु। रक मेटल बढी गाउँछु। पहिला नवीन के भट्टराईलाई धेरै सुन्थेँ। नारायणगोपाल, गुलाम अली र अरुण थापा मेरा आइडल हुन्। गत वर्ष पनि आइडलको अडिसनमा छानिएको थिए तर परीक्षाले गर्दा आउन सकिनँ। ममीले गीत गुन्गुनाउनुहुन्छ। उहाँको गायिका बन्ने सपना थियो तर पूरा भएन। त्यो सपना मैले पूरा गर्नेछु।

अस्मिता अधिकारी (२२), झापा
पहिलादेखि भजन गाउँथेँ। स्कुलमा पनि राइम्स गाउँथेँ। कलेज पुगेपछि गाउन छोडिनँ। प्लस टू पढ्दा तीन÷चार महिना भोकल क्लास लिएँ। नेपाल मेडिकल कलेज, जोरपाटीबाट बीएससी नर्सिङ सकेर आइडलमा आएकी हुँ। सेवाका लागि नर्स बन्ने र रुचिका लागि गायिका बन्ने चाहना छ। नर्सिङमा मास्टर्स गर्ने र संगीतमा पनि व्यावसायिक रूपमा अघि बढ्ने सोच छ। पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ। अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत मन पर्छन्। अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ। मैले गीत पनि रेकर्ड गरेकी छु।

दीपराज खत्री (२१), मकवानपुर
बुबाले घरमा गाउनुहुन्थ्यो। उहाँबाट प्रभावित भएर म पनि सानै उमेरदेखि गाउन थालेँ। एसएलसीमा हुँदा बुबा बित्नुभयो। ममी पनि हुनुहुन्न। दुई भाइ र एक बहिनीलाई मैले नै हेर्नुपर्छ। खेतीपाती गर्छु, फर्निचर पसलमा काम गर्छु। संगीत सिक्ने फुर्सदै छैन। काम गर्दै पुराना गीत सुन्छु र गाउँछु। भक्तराज आचार्य, राज सिग्देल, शिव परियार, मनोजराज शिवाकोटीका गीत सुन्छु। अहिले बहिनीलाई परोपकारी संस्थामा पठाएको छु। माइलो भाइ तरकारी प्याकिङ गर्ने काम गर्छ। कान्छो भाइलाई उसैले हेर्दै छ। आइडलमा आएपछि धेरै कुरा सिक्न पाएँ। यहाँबाट केही राम्रो गरेर फर्किने सपना छ।

 स्वस्तिका ढकाल (२१), हेटौँडा
पाँच÷छ कक्षादेखि गाउन थालेकी हुँ। हेटौँडामा राजदेवी संगीत पाठशालामा बेसिक संगीत सिकेँ। बुबा मयुरी ई–रिक्सा चलाउनुहुन्छ। ममी खेतीपाती गर्नुहुन्छ। अघिल्लो वर्ष पनि सहभागी थिएँ तर थिएटर राउन्डबाट बाहिरिएँ। त्यसपछि फेरि अभ्यास गरेँ। परिवारलाई सहयोग गर्न कन्सल्ट्यान्सीमा काम पनि गरेकी छु। मेलोडियस, सेमी क्लासिकल गीत सुन्छु। मेलिना राईका गीत गाउँछु। तारादेवी, अरुणा लामाका गीत मन पर्छन्। जित्छु भनेरै आइडलमा आएकी हुँ।

 

कृषल कँडेल (१७), धादिङ
औपचारिक रूपमा संगीत सिकेको छैन तर दाइले गाएको सुनेर संगीततिर आकर्षित भएँ। विभिन्न महोत्सव तथा कार्यक्रममा गाउन जान्छु। सेमी क्लासिकल र पप गीत बढी गाउँछु। भक्तराज आचार्य, नारायणगोपालका गीत सुन्छु। मेरा फेभरेट गायक सत्यराज आचार्य हुन्। कक्षा ११ मा सिभिल इन्जिनियरिङ पढ्दापढ्दै आइडलमा आएँ। राम्रो गर्ने र आइडल जित्ने सपना छ।

सृजना कार्की (१९), मोरङ
सानैदेखि गाउन थालेकी हुँ। ममीबुबा, दिदीले मलाई संगीतमा लाग्न हौसला दिनुभयो। विराटनगरमा ब्याचलरमा पढ्दै थिएँ। बेला-बेला स्टेज कार्यक्रम गर्थें। पहिला पनि आइडलमा आएकी थिएँ, थिएटर राउन्डमा आउट भएँ। त्यसपछि धेरै मेहनत गरेर फेरि आएकी छु। आधुनिक गीत बढी सुन्छु। कुन्ती मोक्तान मेरो प्रिय गायिका हुन्।

मीनराज पौडेल (२६), चितवन
मेरो बुबा बाजा बजाउनुहुन्थ्यो। मैले प्य्राक्टिस गर्दै गिटार बजाउन सिकेँ। भजन गाउँथेँ। रहरले साथीको पबमा पनि एक-दुई पटक गाएको छु। काठमाडौँमा कलेज पढ्दा साथीहरूसँग मिलेर ‘अर्वाचीन’ ब्यान्ड बनाएका थियौँ। आफूलाई टेस्ट गर्न आइडलमा आएँ। गोल्डेन माइक पाउन सफल भएँ। यहाँ आएपछि संगीतका धेरै कुरा बुझिरहेको छु। अझै धेरै मेहनत गर्नु बाँकी छ। नेपाली पप, लोकपप, वेस्टर्न र पुराना गीत सुन्छु। सनुप पौडेलका गीत मन पर्छन्। एड्रिन प्रधानलाई फलो गर्छु।

नीलिमा थापामगर (२०), पोखरा
आफैँ अभ्यास गर्दै गाउन थालेकी हुँ। पोखरामा बिग आइकनमा टप ५ बाट आउट भएकी थिएँ। ममी किरानापसल चलाउनुहुन्छ अनि स्कुलको टिफिन डेलिभरी गर्नुहुन्छ। म पनि ममीलाई सघाउँथेँ। प्राइमरी स्कुलमा पढाउँथेँ पनि। पहिला आइडलमा अडिसनबाटै आउट भएकी थिएँ। यसपालि अडिसनका बेला परीक्षा थियो। ड्रेसमै आएकी अडिसन दिन पुगेकी थिएँ। गोल्डेन माइक पाएँ खुशी लागेको छ। पप र सेन्टिमेन्टल गीत सुन्ने र गाउने गर्छु। अहिले क्लासिकल सुन्न थालेकी छु।

सम्राट न्यौपाने (२२), दाङ
कक्षा नौमा पढ्दा संगीतको कक्षा लिएँ। साढे तीन वर्ष संगीत सिकेँ। शास्त्रीय संगीतमै प्लस टू गरेँ। आफ्नै कम्पोजमा ‘तिम्रो रूपले’ गीत निकालेँ। मेरो बुबा संगीत भनेपछि मरिमेट्नुहुन्छ। डाक्टर पेशा छाडेर उहाँ संगीतमा लाग्नुभयो। अहिले अमेरिकामा गीत गाउनुहुन्छ। पहिला नेपाल आइडलको थिएटर राउन्डबाट आउट भएको थिएँ। सेमी क्लासिकल र प्लेब्याक सिंगिङ मन पर्छ। नातिकाजी मेरा आदर्श गायक हुन्। राम्रो गायक बन्ने सपना छ।

रवि ओड (२०), धनगढी
चार वर्ष भयो संगीतमा सक्रिय भएर लागेको। धनगढीमा दोहोरीमा गाउँथेँ। मेरो घर अछाम हो। मेरो बाजे गाउनुहुन्थ्यो। उहाँबाट नै प्रभावित भएँ। बुबा इन्डियामा वाचम्यान हुनुहुन्छ। दिदी, बहिनी र भाई छन्। आमा घाँटीको समस्याले बित्नुभयो। सुदूर र मध्यपश्चिमका धेरै जिल्लामा पुगेर गाएको छु। ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी नेपाली सबै खाले गीत गाउन सक्छु। शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीत बढी मन पर्छन्।

मिलन परियार (२०), मोरङ
सानैदेखि कमेडी गीत गाउँथेँ। पूर्वाञ्चल सिंगिङ स्टारमा ‘बेस्ट भोकल अवार्ड’ पाएपछि संगीतमा लाग्ने जोश बढ्यो। शिव परियार र कमल खत्रीको गीत मन पर्छ। उहाँहरू नै मेरा आइडल हुन्। आइडलको धरान अडिसनबाट फालिएँ। तर,  काठमाडौँ अडिसनमा भने छानिए। आइडलमा छानिन्छु भनेर कल्पना नै गरेको थिइनँ। आर्थिक अवस्थाले पढ्न नपाएपछि सिलाई सिकेँ र पसल खोलेँ। आइडलमा जे भए पनि भविष्यमा गायक बन्ने सपना छ।

अमित बराल (२४), बुटवल
एसएलसीपछि संगीतमा लागेको हुँ। दुई वर्ष संगीत सिकेँ। पब र स्टेज कार्यक्रममा गाएँ। एउटा ब्यान्डमा आबद्ध थिएँ। मेरो दाइ राम्रो गाउनुहुन्थ्यो तर उहाँ बित्नुभयो। दाइको सपना पूरा गर्न संगीतमा लागेँ। परिवारले पनि साथ दियो। क्लासिकल गीत सुन्छु तर सेमी क्लासिकल र पप गाउँछु। हेमन्त राना मन पर्ने गायक हुन्। आफैँ गीत लेख्ने र कम्पोज पनि गर्छु। चार वर्षअघि ‘याद आउँछ’ बोलको गीत निकालेको थिएँ।

 

 पवन गिरी (२२), दोलखा
दुई वर्षदेखि संगीतमा सक्रिय छु। अस्ट्रेलिया जाने सोच थियो तर भिसा लागेन। त्यसपछि फुर्सदमा संगीत सुन्ने गर्थें। मैतीदेवीमा निःशुल्क म्युजिक सिकाउने ठाउँ रहेछ। कलेज नगई संगीतमा लागेँ। बाहिर जाने, पैसा कमाउने परिवारको सपना थियो, मेरो सपना संगीतमै केही गर्छु भन्ने भयो। परिवारबाट खासै सपोर्ट छैन। ठमेलका बार, पपमा गाउँछु। ‘द इलाइट’ ब्यान्डको भोकलिस्ट हुँ। गाएर कमाएको पैसाले कलेज फी र आफ्नो खर्च टार्छु। सेल्सम्यान, वार्डेन र टिचिङको काम गरेँ तर चित्त बुझेन। संगीतमै लाग्ने सोच छ।

विश्वास उप्रेती (२३), झापा
छ महिना मात्र संगीत सिकेँ। सेल्फ प्य्राक्टिस नै हो मेरो। बाबा पनि गाउनुहुन्थ्यो। त्यहीँबाट संगीतमा लाग्ने प्रेरणा पाएँ। आफैँ रचना गर्ने, कम्पोजिसन गर्ने गर्छु। स्कुल पढ्दाताकादेखि नै गाउन थालेको हुँ। झापामा बार, पबमा गाउँछु। रक, पप र क्लासिकल गीत मन पर्छ। रक बढी गाउँछु। सविन राई, स्वप्निल, एड्रिन प्रधान र नेपथ्यका गीतको फ्यान हुँ।

सुविन सिंह (२७), सुर्खेत
सात वर्षअघि सुर्खेतमै ‘अफरोड’ ब्यान्ड बनाएका थियौँ। म भोकलिस्ट थिएँ। संगीतमै केही गर्छु भनेर सुर्खेतबाट ब्यान्डका सदस्य काठमाडौँ आयौँ। कलेज छाडेर संगीतमा लाग्यौँ। तर, सोचेजस्तो भएन। कतार गएँ। चार वर्ष त्यहाँ बसेर नेपाल फर्किएँ। मेरो हजुरबुबाले हार्मोनियम, मादल, सारंगीलगायत बनाउनुहुन्थ्यो। बुबा, काका पनि कला क्षेत्रमा हुनुहुन्छ। दाइभाइ पनि संगीतमै रमाउने। दिदी भोकलिस्ट हो। क्लासिकल, पप, लोक, फिल्मी गीत सुन्छु। नारायणगोपाल, फिरोज स्याङ्देन र स्वप्निलका गीत मन पर्छन्।

सुमित पाठक (१९), झापा
म चार वर्षको हुँदा नै तबला बजाउँथेँ। बुबाको संगीत इन्स्टिच्युट छ। त्यसले मलाई सिक्न धेरै सहज भयो। सात कक्षा पढ्दा त म गिटार बजाउँथेँ। युट्युबबाट हेरेर गिटार बजाउन सिकेँ। ‘ब्राइट स्टार’ ब्यान्डमा ड्रमर थिएँ। अमेरिका ब्वाइज फिल्ममा गीत पनि गाएको छु। झापामा ‘ग्राभिटी’ ब्यान्ड थियो, त्यसमा गाउँथेँ। रक, मेटल, सेन्टिमेन्टल, क्लासिकल सबै सुन्छु। रक र सेन्टिमेन्टल गाउँछु। नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत धेरै सुन्छु।

Source annapurnapost

Share