यी हुन् चीनमा लोकप्रिय एप र सोसल मिडिया

यी हुन् चीनमा लोकप्रिय एप र सोसल मिडिया

हाल प्रविधिको युगमा हर कोही अनलाइनमा जोडिएका छन् । प्रविधिले कुनै पनि समय र स्थानमा मानिसलाई आपसमा सम्पर्क गर्न सजिलो बनाइदिएको छ । विश्वभरि फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जाल प्रयोग गरिए पनि केही देश यस्ता छन्, जहाँ यी सामाजिक सञ्जालको प्रयोग बन्देज गरिएको छ । जसमा चीन पनि पर्छ । एकआपसमा कम्युनिकेसन गर्न चीनले थुप्रै एप तथा सोसल मिडियाहरू विकास गरेको छ ः

चीनले विकल्पको रूपमा बढी प्रयोग गर्ने ६ ओटा एप तथा सोसल मिडिया यस्ता छन्ः

विच्याट

मोबाइल एपको रूपमा विच्याटलाई चीनमा बढी प्रयोग गरिन्छ । यो एपमा फेसबुक मेसेन्जरमा जस्तै सबै फिचर्सहरू छन् । यसबाट प्रयोगकर्ताले आफ्नो हरेक गतिविधिलाई पोस्ट गर्न सक्छन्, ट्याक्सी सर्भिस र मुभी टिकट पनि अर्डर गर्न सक्छन् । यो एप एकआपसमा कुराकानी गर्न मात्र प्रयोग हुँदैन । ‘सोसल मिडिया’ प्लेटफर्मको रूपमा दैनिक आवश्यक पर्ने अन्य सेवा र सुविधाका लागि पनि यसको प्रयोग हुन्छ । यो एपलाई व्यक्ति, कम्पनी, संघसस्थाहरूले पर्सनल र इनहाउस मात्र होइन, व्यावसायिक प्रचारप्रसारका लागि पनि प्रयोग गर्न सक्छन् ।

रेनरेन

जब मानिसहरू चाइनिज भर्जन फेसबुकको कुरा गर्छन् तब उनीहरू रेनरेन डटकमलाई पनि सम्झन्छन् । रेनरेन एप २००५ मा लन्च भएको हो । फेसबुक चीनमा ब्यान्ड भएपछि यसको प्रयोग व्यापक बढेको थियो । यसको कलर स्किम, लोगो र डिजाइन सबै फेसबुकसँग मिल्छ । यसो गर्नुको मुख्य कारण भनेको मानिसहरूलाई यस्तो लागोस् कि यी दुई कम्पनीको बीचमा केही सम्बन्ध छ । तर रेनरेन मोबाइलको लागि त्यति प्रयोगमा नआएपछि यसको प्रयोग घटेको छ । यसको प्रयोग घट्नुमा ‘विच्याट’ वा ‘विइबो’ जस्ता एप मानिसहरूमा बढी लोकप्रिय हुनु पनि हो । त्यसैले रेनरेनलाई ‘फेल चाइनिज फेसबुक’ पनि भनिन्छ ।

विइवो

चीनमा ट्विटर चलाउन बन्देज भए पनि मानिससँग आफ्ना कुराहरू साटासाट गर्ने थुप्रै विकल्प छन् । विइवो चिनियाँ प्रयोगकर्ताहरूमा सबैभन्दा चर्चित ब्लगिङ प्लयाटफर्म हो । विइवोलाई ट्विटरजस्तै ढाँचामा बनाइएको छ । फरक यति मात्र छ कि यसमा अंग्रेजी नभई चिनियाँ भाषाको प्रयोग हुन्छ । यो सामाजिक सञ्जालमा ट्विटरको एक सय ४० शब्दभन्दा बढी शब्द लेख्न सकिन्छ । यसमा आफ्ना विचार, भाव र विविध विषयवस्तु पोष्ट गर्न सकिन्छ । चीनमा यसलाई माइक्रोब्लगिङको रूपमा बढी प्रयोग गरिन्छ । प्रयोगकर्ताहरूसँगको सम्पर्क बढाउने र सूचना सम्प्रेषणजस्ता क्रियाकलाप गर्नेमा विइवो ट्विटरभन्दा अगाडि छ ।

युकु टुडउ

चीनमा युट्युबजस्तै भिडियो उपलब्ध गराउने साइटको रूपमा ‘युकु टुडउ’ प्रयोग गरिन्छ । युकु र टुडउ कुनै समय मुख्य प्रतिस्पर्धी वेभसाइट थिए । पछि यी दुवै मर्ज भए । यसले आफैं कन्टेनहरू कम उत्पादन गर्छ र व्यावसायिक उत्पादनलाई बढी प्राथमिकता दिन्छ । मानिसहरू टीभी हेर्न, फिल्म डाउनलोड गर्न र भिडियो हेर्न यसको बढी प्रयोग गर्छन् । टीभी हेर्न र फिल्म हल जाने विकल्पको रूपमा यसलाई प्रयोग गरिँदै आइएको छ । यसमा धेरै भिडियोहरू अन्तर्राष्ट्रिय स्रोतका समावेश छन् । जसमा अमेरिकी फिल्म र जापानी ड्रामाहरू पर्छन् ।

डियानपिङ

यसलाई ‘एल्प अफ चीन’ पनि भनिन्छ । यो वेभसाइटलाई व्यवसाय बढाउन प्रयोग गरिन्छ । यो एपबाट आफूलाई मन पर्ने रेस्टुरेन्ट छनोट गर्न र त्यहाँ पाइने वा आफूलाई मन पर्ने खानालाई ¥याङ दिन पनि सकिन्छ । यो चीनमा निकै महŒवपूर्ण छ । किनकि चिनियाँ रेस्टुरेन्टमा सयभन्दा बढी खानाका परिकारहरू हुनु सामान्य कुरा हो । यदि तपाईं बेइजिङ घुम्न चाहनुहुन्छ भने यो एपको प्रयोग गरी बेइजिङमा क्लिक गर्नेबित्तिकै सबैभन्दा बढी घुमिएका सहर र ठाउँहरूको लिस्ट यसले उपलब्ध गराउँछ ।

डाउब्यान

चीनमा बढी प्रयोग हुने अर्को एप हो, ‘डाउब्यान ।’ यो पश्चिमी एपहरूसँग बिल्कुल मेल खाँदैन । यसको फिचर इम्ब, स्पोटिफी, साउन्ड क्लाउड र माइस्पेस जस्तै छ । प्रयोगकर्ताहरूले यसलाई किताबमाथि छलफल गर्न, फिल्म, म्युजिक र इभेन्टको बारेमा हेर्न प्रयोग गर्छन् । यो वेभसाइटबाट मुभी र कन्सर्ट टिकट पनि बुक गर्न सकिन्छ । यो एपबाट प्रयोगकर्ताहरू आफ्नो जस्तै रुचि र इच्छा भएका अरू प्रयोगकर्तासँग जोडिन सक्छन् ।

चीनमा प्रयोग हुने चिनियाँ भर्सनका वेभसाइटहरू धेरै छन् । तर त्यहाँ प्रयोग हुने यी ६ ओटा एप तथा सोसल मिडियाका प्रयोगकर्ता पश्चिमी मुलुकमा प्रयोग हुने सामाजिक सञ्जालभन्दा अझै बढी छन् ।

Source annapurnapost

Share