उपचारका क्रममा महिलाको मृत्यु

उपचारका क्रममा महिलाको मृत्यु

स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका-५ थलहबजारस्थित एक मेडिकलमा उपचार गराउन गएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। महिलाको मृत्युपछि स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन्।

सामान्य ज्वरोको उपचारका लागि जयलक्ष्मी मेडिको फर्म गएकी छेडागाड नगरपालिका-१० झाप्रा नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको मृत्यु भएको हो। नाथको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल संचालक तिलकबहादुर बोहरालाई कारवाही र क्षतिपूर्तिको माग गदै प्रर्दशन गरेका छन्। घटनापछि प्रहरीले सल्यान निवासी मेडिकलका सञ्चालक बोहोरालाइ शुक्रबार नै पक्राउ गरेको छ।

उपचारमा लापवाही गरेर आमाको ज्यान गएको जेठा छोरा किशोर नाथ योगीले बताए। ‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारमा रहेको मेडिकल लग्यौं। मेडिकल संचालक बोहराले चेकजाँच गरेपछि तीनवटा सुई लगाइदिए।

औषधी खान दिए।उनले अब घरमा लैजानुहोस् ठिक भैहाल्छ भनेपछि घर लिने क्रममा बाटोमै आमाको मृत्यु भयो। गलत औषधिको प्रयोगले आमाको ज्यान गयो, उनले भने, ‘ निको होला भनेर स्वास्थ्य संस्था ल्यायौं तर गलत औषधी दिएर ज्यानै लिएपछि लापरवाही नभएर के भन्ने।’ उनले उपचारमा लापरवाही गर्ने मेडिकल संचालकलाई उचित क्षतिपूर्ति र कारवाहीको माग समेत गरेका छन्।’

५ वर्ष अघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइ रहेकी नाथका २ छोरा र एक छोरी छन् । शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल ल्याइँदै गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्मको नामबाट बोहराले मेडिकल संचालन गदै आएका थिए। मेडिकल संचालनका लागि फार्मेसी पढेर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ तर उनले अर्कोको नामबाट २०५४ साल देखि अवैधरुपमा मेडिकल संचालन गदै आएका थिए।

मेडिकल संचालक बोहरालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याउन निर्देशन दिइएको प्रहरी निरीक्षक विष्टको भनाई छ। गत वर्ष स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैधरुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो। बोहोराले प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागज समेत गरेका थिए। जाजरकोटका दुर्गम गाउँमा अवैध मेडिकल संचालनमा छन् ।

Source annapurnapost
Share