कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन,‘अरिंगाल जस्तै जाइलाग्नुस्’

कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन,‘अरिंगाल जस्तै जाइलाग्नुस्’

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीले पार्टी एकता र सरकारका कामको प्रतिरक्षामा पार्टी नेता कार्यकर्तालाई अरिंगालको गोलोजस्तै एकढिक्का भएर प्रतिक्रियावादी कित्ताविरुद्ध जाइलाग्न निर्देशन दिएका छन् । कम्युनिस्ट नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा उनले नेकपाभित्र एकढिक्का भएर प्रतिरोध गर्ने क्षमता नदेखिएको भन्दै अरिंगालको गोलोजस्तै जाइलाग्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र एउटा नेतामाथि आक्रमण भइरहँदा अर्काे चुप बस्ने प्रवृत्ति गलत रहेको र त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रका जो कोहीमाथि आक्रमण हुँदा प्रतिरोधमा उत्रनु पर्ने बताए । ‘एउटा अरिंगाललाई चलायो भने सिंगै गोलो नै खनिन्छ । अरिंगालको गोलो जत्तिको पनि बुद्धि हाम्रो छ की छैन ? ’ प्रधानमन्त्रीले कार्यकर्तासँग सोधे, ‘एउटालाई आक्रमण गर्दा अर्काे चुप लाग्ने होइन । त्यो पनि आफूमाथिकै आक्रमण हो भनेर अरिंगालको गोलो जसरी नै एकढिक्का भइ प्रतिरोधमा उत्रनु पर्छ ।’

उनले एकता बिथोल्न पार्टीभित्र अनेक षडयन्त्र हुन थालेको, दुई अध्यक्षबीच फाटो छ भनेर भाँजो हाल्ने प्रयाससमेत भइरहेकाले सबै नेता कार्यकर्तासँग सचेत रहन आग्रह गरे । ‘हामीमा भित्रभित्रै धमिराले खेल्ने खतरनाक प्रवृत्तिको विकास हुन खोजेको छ यसको आलोचना र विरोध गर्नुपर्छ । नत्र यसले प्राप्त उपलब्धि भित्रभित्रै सिध्याउँछ’, उनले भने, ‘पार्टी एकता चिने श्रीखण्ड, नचिने खुर्पाको बिँड जस्तै हो । एकतालाई सही ढंगले बुझ्नु पर्छ ।’

पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पोष्टबहादुर बोगटीको सादगीपूर्ण चरित्र र अप्ठ्यारो अवस्थामा समाधान खोज्ने क्षमताबारे चर्चा गरेका थिए । ‘बोगटी समस्या समाधान गर्ने कुशल कालिगढ हुनुहुन्थ्यो,’ उनले टिप्पणी गर्दै भने, ‘नेकपाले अहिले उहाँको अभाव महसुस गरिरहेको छ ।’

तत्कालीन माओवादीका महासचिव पोष्टबहादुर बोगटीको २०७१ भदौ ३० मा हृदयघात र मष्तिकघातबाट निधन भएको थियो । कार्यक्रममा बोगटीले लेखेका लेखहरूको सँगालो ‘बोगटीका विचार’ पनि विमोचन गरिएको थियो ।

Source annapurnapost

Share