जनयुद्धमा माओले पहाड खोलेर बनाएको घरमा प्रचण्ड

जनयुद्धमा माओले पहाड खोलेर बनाएको घरमा प्रचण्ड

परिवारसहित चीन पुगेका प्रचण्ड के गर्दैछन् ?

काठमाडौँ : चार दिने चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घुमघाममा ब्यस्त छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यहाँ पुगेका उनले आइतवार घुमेर बिताए । उनले आइतवार दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरे प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशनस्थलको पनि अवलोकन गरे ।

उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णय गरेको मानिन्छ । उनले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको पनि अवलोकन गरे ।

उनले त्यही सन्दर्भमा येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म बसेका माओले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे । उनले त्यहाँ माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अवलोकन गरेका उनको निजी सचिवालयले जानकारी दिए ।

उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन गरे । उक्त स्थानबाट येनानको सानो उपत्यका देखिन्छ । त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले दुष्मनको निगरानी गर्दथ्यो ।

त्यही स्थानमा जनयुद्धमा माओका लालसेनाले जापानी सेनाका लगभग एक सयजनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएर जापानी आक्रमणकारीविरुद्ध तयार पारेको थियो ।

त्यसैगरी उक्त स्थानमा चाउयनलाइ प्रधानमन्त्री भइसकेपछि गाडीमा आउँदा गाडी फसेपछि जनताले निकालिदिएका थिए । तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुल भन्छन् ।

स्थानीय उपमेयर, पार्टीका नेताहरु र जनमुक्ति सेना पोशाक नै लगाएर अध्यक्ष प्रचण्डको भव्य स्थागत गर्दै अवलोकनमा सहभागी बनेका थिए ।

अवलोकनको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरुको संरक्षण गरेर विश्वकै नताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए । ।

सान्सीतर्फको यात्रा

आइतवार बिहान अध्यक्ष प्रचण्ड ग्वान्जाओबाट सान्सी प्रान्त हिँडेका थिए। उक्त सहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । अध्यक्षले मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको अवलोकन गरे ।

‘नेपालमा बलियो कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ । यो बेला नेपालको बिकास गर्ने बेला हो’, उनले भने, ‘चीन र नेपालका बीचमा चारवटा बन्दरगाह प्रयोग गर्न पाउने ट्रेड एण्ड टुरिष्ट सम्झौता भएको छ । यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।’

उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्धकै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताएका थिए ।

Source annapurnapost

Share