छक्कापन्जा ३ मा शैक्षिक बेथितिलाई उठान

छक्कापन्जा ३ मा शैक्षिक बेथितिलाई उठान

काठमाडौं : कलाकार दीपकराज गिरीले ‘छक्कापन्जा ३’मा शैक्षिक बेथितिलाई उठान गरिएको बताएका छन्। शनिबार फिल्मको ट्रेलर सार्वजनिक गरेसँगै उनले भने, ‘पहिलोपल्ट हामीले फिल्मको कथावस्तुलाई रिभिल गरेका छौं।’ सधैंभरि फिल्मको वास्तविक विषयवस्तु लुकाउँदा दर्शकलाई नयाँ टेस्ट दिन नसकिने बताउँदै फिल्मकी निर्देशक दीपा श्री निरौलाले यसपटक फरक रूपमा प्रस्तुत भएको बताइन्।

सार्वजनिक भइसकेका फिल्मका गीतहरूमा थुप्रै नायक–नायिका समावेश भए पनि फिल्मको पोस्टर र ट्रेलरमा भने ती कुनै पनि कलाकार समावेश गरिएको छैन। गिरीले भने, ‘फिल्ममा अतिथिका रूपमा धेरै कलाकारले अभिनय गरेका छन् तर फिल्मको कथावस्तुसँग सुरुदेखि अन्त्यसम्म जोडिएका पात्रहरूमात्र पोस्टरमा समावेश गरिएको छ।’

यो फिल्मको पहिलो र दोस्रो सिक्वेलले सर्वाधिक व्यापार गर्न सफल भएको थियो। हास्यव्यंग्यका साथै सामाजिक मुद्दालाई अगाडि सार्दै आएको यो फिल्मको तेस्रो सिक्वेलले नेपालको सरकारी विद्यालयको शैक्षिक बेथितिलाई अगाडि सारेर हास्यव्यंग्यमार्फत दर्शक हँसाउन खोजेको देखिन्छ।

‘छक्कापन्जा–३’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्नेबूढा’, दीपिका प्रसाई, संजोग कोइराला, प्रियंका कार्की आदि कलाकारको अभिनय छ। फिल्मको रिलिज डेटमा सकस पाएको छक्कापन्जा टिमले दसैैंको घटस्थापनाको दिनबाट फिल्म देशभर प्रदर्शनमा आउने जानकारी दिएको छ।

Source annapurnapost

Share