चिया–कफी अत्यधिक पिउनेलाई पोषणविद्को सुझाव

चिया–कफी अत्यधिक पिउनेलाई पोषणविद्को सुझाव

‘जोकोहीले चिया तथा कफी पिउँदैमा फरक पर्दैन,’ पोषणविद् केपी लम्सालले वास्तविकता बताए, ‘चार कपभन्दा बढी भयो भने समस्या देखापर्छ । कसैकसैलाई त दुई कप खानसाथ निद्रा लाग्दैन । गर्भवतीले त चार कप पनि खान हुँदैन ।’

चिया, कफीको मात्रा बढी भयो भने निद्रा लाग्दैन । मुटुको चालसमेत तल–माथि हुन्छ । ‘आइरन कमी हुनेले त चिया कफी पिउनै हुँदैन,’ पोषणविद् लम्सालले सुझाए, ‘यसले आइरन शरीरमा सोस्न दिँदैन । त्यसैले खाना खानु एक घन्टाअघि वा पछाडिमात्रै चिया तथा कफी पिउने गर्नुपर्छ । चिया तथा कफीमा भएको क्याफिनले शरीरमा आइरन सोस्न दिँदैन ।’

तपाईं हामीमध्ये कतिपयले खानासँगै कागती खाने गरेका हौंला । खानासँग कागती खानु लाभदायी हुन्छ । कागतीले खानामा भएको आइरन सोस्न मद्दत गर्छ । खानेकुरा त्यही हो, कुनै खाँदा फाइदा गर्छ, कतिपयले नोक्सानी गर्छ ।

दूध हालेको चिया पिउनु भनेको विषादि खाएबराबर हो भन्ने गरिन्छ । ‘यस भनाइमा अर्धसत्यता छ,’ उनले थपे, ‘दूध हालेको चिया खाँदा एसिडिटी बढ्छ । दूधमा क्याल्सियमको मात्रा धेरै हुन्छ । प्रोटिन पनि हुन्छ । हामीले प्रयोग गर्ने सिटिसी चियामा क्याफिन हुन्छ । क्याफिन र क्याल्सियम मिलेर क्याल्सियम क्यासिनेट नामक पदार्थ बन्छ । क्याल्सियम क्यासिनेट अम्लीय प्रकृतिको हुन्छ । त्यसले एसिडिटी बढाउँछ ।’

 

बेलुका अबेरसम्म बस्नु पर्यो भने चिया तथा कफी पिउने नेपालीको बानी नयाँ होइन । निद्रा लाग्यो भने चिया कफी पिउने गरिन्छ । क्याफिनले ब्रेनलाई एक्टिभेट गराउने भएकाले राति अबेरसम्म बस्नुपर्ने बाध्यता हुनेले चिया कफीको सहारा लिने गर्छन् ।

चिया कफीको तुलनामा ग्रीन टी पिउनु फलदायी हुन्छ । ग्रीन टी पिउँदा रक्तचापमात्रै होइन, मोटोपनसमेत घटाउँछ भन्ने गरिन्छ । यो भनाइ व्यावहारिक हुँदै होइन । ग्रीन टीमा एन्टिअक्सिडेन्ट हुन्छ । ‘ग्रीन टी पिउँदैमा उच्च रक्तचाप घट्ने होइन,’ उनको भनाइ छ, ‘तर, ग्रीन टीमा भएको एन्टिअक्सिडेन्ट पदार्थले शरीरका सेलहरूलाई मर्न दिँदैन । ग्रीन टीले रिफ्रेससमेत गराउँछ ।’

जुनसुकै खानेकुरा बढी खाए राम्रो गर्दैन । फलदायी हुन्छ भनेर ग्रीन टी धेरै पिए त्यसले पनि असर पुर्याउँछ । ‘दैनिक १५–२० कप ग्रीन टी पियौं भने राम्रो गर्दैन,’ पोषणविद् केपी लम्साल भन्छन्, ‘तर, हामी त्यति त पिउँदैनौं ।’

Source ratopati

Share