भत्काइयो अरनिको राजमार्ग मिचेर बनाइएका घर टहरा

भत्काइयो अरनिको राजमार्ग मिचेर बनाइएका घर टहरा

झडपपछि प्रहरीले हान्यो अश्रुग्यास

बनेपा : अरनिको राजमार्गस्थित काभ्रेको साँगा–बनेपा सडकखण्डमा अतिक्रमण गरेर बनाइएका सयौँ घरटहरा भत्काइएको छ । डिभिजन सडक कार्यलय भक्तपुरले अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका घरटहरा भत्काउँदा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

बनेपा नगरपालिकास्थित साँगा चोकका पाँच दर्जन भन्दा बढी घरहटरा, होर्डिङ हटाउन लाग्दा स्थानीयले अवरोध गरेछि एक घण्टा झडप भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । राजमार्ग अतिक्रमण गरेर बनाइएका घर पसल भत्काउँदा साँगाका घर टहरा सञ्चालक स्थानीय र प्रहरीबीच झडप भएको डीएसपी दिपक गिरिले जानकारी दिए ।

‘अतिक्रमण गरेर बनाएको घरटहरा हटाउने क्रममा अवरोध भएको थियो । तर प्रहरीले चाडै नियन्त्रणमा लिएर अतिक्रमण हटाइरहेका छौँ’, उनले भने ।

डिभिजन सडक कार्यलयले भदौ २८ गते घर टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको थियो । सडक डिभिजनले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँ बायाँ २५ गज सडक सिमानाभित्रका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।

स्थानीयले भने दसैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका हुन् । उनीहरुले वडाध्यक्ष र मेयरविरुद्ध नाराबाजीसमेत गरे । तर प्रशासनले घर टहरा पसलमै डोजर लगाएर अतिक्रमण हटाएको छ ।

डिभिजन कार्यलयका अनुसार सागा चोकदेखि बनेपा बजारसम्ममा मापदण्ड विपरीत बनेका एक सय ५६ घर भत्काउने जनाएको छ । केही दिनअघि बिपी राजमार्गस्थित धुलिखेलदेखि नेपालथोकसम्म राजमार्ग अतिक्रमण गरी बनाएका पाँच सय घरटहरा भत्काइएको थियो ।

Source annapurnapost

Share