ढुक्क हुनुहोस् यो सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री ओली

ढुक्क हुनुहोस् यो सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री ओली

दुई साता लामो अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार पाँच वर्ष चल्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।

सत्ताको नेतृत्वकर्ता दलकै शीर्ष नेताले सरकारका कामको आलोचना गरेको र सरकार नै संकटमा परेको भन्दै आलोचना भएकोप्रति पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘तपाईंहरुले सरकारको गति र लक्षण देख्नु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराएर यो भन्दा बलियो भएर आउँछ। अलि बलियो भएर आउँछ। अब धेरै कुरा नगरौँ।’

प्रधानमन्त्री ओलीले पात हल्लियो भनेर त्यसका पछाडि नदौडिनसमेत आग्रह गरे। ‘पात हल्लियो भने त्यसका पछि दौडिनु भएन’, ओलीले भने, ‘आजकाल मुद्दा भन्ने चलन छ। तर, मुद्दाहिनताको कुरा मात्र देखिन्छ। त्यो राजनीति होइन।’

प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी  गरे। बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उनको भनाइ छ।

‘विकास निर्माणका काम अगाडि बढेका छन्। अहिलेको बजेटले साउन र भदौमात्र काम  गरेको छ। बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् ?’

Source annapurnapost

Share