जब एम्बाप्पे चम्किए : १३ मिनेट भित्र गरे ४ गोल

जब एम्बाप्पे चम्किए : १३ मिनेट भित्र गरे ४ गोल

एजेन्सी : फ्रान्सका १९ वर्षीय फुटबलर केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि १३ मिनेटमै चार गोल गरेका छन् । आइतवार फ्रेन्च लीग ‘लीग १’ मा पीएसजीले लियोनलाई ५-० ले हराउने क्रममा एम्बाप्पे एक्लैले चार गोल गरेका हुन् ।

त्यसक्रमम एम्बाप्पे थप तीन गोल गर्न चुकेका छन्, जसलाई लिएर अहिले उनी पछुतो मानिरहेका छन् । एम्बाप्पेले यी सबै गोल खेलको दोस्रो हाफमा गरेका हुन् । उनले ६१ औँ, ६६ औँ, ६९ औँ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।

एम्बाप्पेले फ्रेन्च लीगका तीन खेलमा प्रतिबन्ध झेलेपछि पुनरागमन गरेका थिए । एक सेप्टेम्बरमा निमेसविरुद्ध तेजी सेभेनियरसँग ठोक्किएपछि उनीमाथि तीन खेलमा प्रतिबन्ध लगाइएको थियो । जसविरुद्ध उनले फ्रेन्च फुटबल फेडरेशनमा अपिल गरेका थिए । फेडरेसनले उनको अपिललाई खारेज गरिदिएको थियो ।

चार गोल गरेपछि उनले भने, ‘मैले कयौँ मौका गुमाएँ, म अझै गोल गर्न सक्थेँ । राम्रो खेलका लागि म लगातार काम गरिरहेको छु र मैले आफूमाथि कहिल्यै शंका पनि गरेको छैन । मलाई थाहा थियो कि मलाई सदैव टिमका साथीले मलाई साथ दिइरहनेछन् ।’

यस वर्ष रुसमा भएको फिफा विश्वकपमा एम्बाप्पेले ४ गोल गरेका थिए । उनले दुई गोल प्रि-क्वार्टर फाइनलमा लियोनल मेसीको टिम अर्जेन्टिना र दुई गोल क्रोएसियाविरुद्ध फाइनलमा गरेका थिए । उनी फिफा विश्वकपका उत्कृष्ट युवा खेलाडी पनि चुनिए ।

एम्बाप्पेले आफ्नो त्यही लयलाई कायम राख्दै यस सिजन फ्रेन्च लिगका पाँच खेलमा ८ गोल गरिसकेका छन् । पीएसजीका पहिलो आइतवारको खेलमा पहिलो गोल स्टार खेलाडी नेमार जुनियरले नवौँ मिनेटमा पेनाल्टीबाट गरेका थिए । उनले यस जितलाई पुरै टिमको मेहनतको नतिजा भनेका छन् ।

Source annapurnapost

Share