अमेरिकामा नेपालीले बनाएको जहाजमा उडे महावीर पुन

अमेरिकामा नेपालीले बनाएको जहाजमा उडे महावीर पुन

भन्छन् : नेपालमै यस्ता जहाज बनाउन सकिन्छ

काठमाडौँ : आविष्कार केन्द्र स्थपना अभियानमा जुटिरहेका समाजसेवी महावीर पुन गत अक्टोबर १ मा अमेरिका पुगे । भोलिपल्टै उनलाई त्यहाँका एक नेपाली युवाले आफैँले निर्माण गरेको जहाजमा पहिलो पटक उड्ने निम्तो गरे ।

नेपालीमूलका ती युवाको नाम थियो प्रमोद रेग्मी । जसले अमेरिकामै एउटा हवाईजहाज बनाए । र, परिक्षण उडानमै महावीर पुनलाई चढ्न निम्ता दिए । नेपाली युवाले बनाएको जहाजमा पहिलो पटक चढेर फर्किएका महावीरले नेपाल फर्किएपछि अन्नपूर्ण पोस्ट्का रमन पौडेलसँग अनुभव यसरी बाँडे :

एक अन्तरक्रियात्मक कार्यक्रमका लागि म अमेरिका गएको थिएँ । मेरो उद्देश्य एउटा कार्यक्रममा सहभागी हुनु र केही मित्रलाई भेट्नु पनि थियो । म त्यहाँ पुगेको थाहा पाएर एक नेपालीमूलका युवा प्रमोद रेग्मीले आफूकहाँ आउन आग्रह गरे । खासमा रेग्मीले जहाज बनाएका रहेछन् । उनी आफूले निर्माण गरेको जहाजमा पहिलो पटक मलाई चढाउन चाहन्थे ।

अमेरिका पुगेको भोलिपल्टै प्रमोदले बनाएको जहाज चढ्ने अवसर पाएँ । अमेरिकास्थित फिनिक्स सहरको आकाशमा ४५ मिनेटको त्यो उडान साँच्चिकै रोमाञ्चक थियो । नेपालीमूलका युवाले बनाएको त्यस जहाजमा यात्रा गरुन्जेल मैले आफ्नै देशमा निर्माण भएका यस्तै जहाज चढ्न पाए झन कति आनन्द आउँथ्यो होला भन्ने कल्पना गरेरे रोमाञ्चित भएँ ।

खासमा अमेरिकी सरकारले नै जहाज निर्माण गर्न चाहने कम्पनी र नागरिकलाई पनि सहज वातावरण बनाइदिँदो रहेछ । अमेरिकाको सरकारी नीति नै यस्ता आविष्कार गर्न चाहने नागरिकको रुचीलाई सहजीकरण गर्ने किसिमका छन् ।

अमेरिकी सरकारको यही नीतिकै कारण जहाज बनाउन चाहिने हरेक सामान बजारमै उपलब्ध हुन्छन् । र, ती सामान सजिलै किन्न पाइन्छ । पार्टपुर्जा नै बजारमा किन्न पाइने भएपछि रुची भएका नागरिकले जहाज बनाउन सक्छन् । यति सम्मकि नागरिकले घरमै पनि एयरपोर्ट बनाउन सक्ने छुट कानुनले नै दिएको छ । अमेरिकाको संघीय प्राधिकरणले नागरिकलाई यस्तो काम गर्न सहजीकरण गरिरहेको हुन्छ ।

इलेक्ट्रोनिक इन्जिनियर प्रमोद पनि अमेरिकामै बसोबास गरेका कारण सहजरुपमा जहाज बनाएर उडाउन सफल भए । नेपालमा भए त यो काम ज्यादै जटिल हुने थियो । यसको कारण भनेको नेपाल सरकारले नै यस्ता आविष्कारलाई कानुनी झन्झट थुपारिदिएको छ । जहाज निर्माण गर्ने सीप हुँदा हुँदै पनि नेपाली युवाले नेपालमै सहजै जहाज बनाउन सक्ने वातावरण नै छैन ।

केही वर्षअघि पुल्चोक ईन्जिनियरिङ क्याम्पसका विद्यार्थीले डाँफे जहाज बनाएका थिए । तर परिक्षण उडानपछि उनीहरुले अर्को उडान गर्नै पाएनन् ।सरकारले सहजीकरण गरिदिने हो भने नेपालका विद्यार्थीले पनि नेपालमै जहाज बनाउन सक्छन् । जहाज निर्माणबारेको पाठ्यक्रम नै बनाइएको छ । त्यहीकारण नेपालीहरुले सीप विकास गर्न पाएका छन् । तर सरकारको कानुनी अड्चन नेपाली युवा र वैज्ञानिकका लागि बाधक बन्ने गरेको छ ।

Source annapurnapost

Share