मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

फिल्म निर्देशक मनोज पण्डितको नाम राम्रो समीक्षकको रूपमा पनि अगाडि आउने गरेको छ । उनी देश तथा विदेशका फिल्म हेर्ने मात्र होइन, त्यसभित्रका राम्रा नराम्रा पक्षसमेत केलाउँदै आएका छन् ।

दासढुङ्गा, वधशाला, ग्रेटर नेपाल, छायालगायतका राम्रा फिल्मका निर्देशकसमेत रहेका उनी दशैं शक्ति प्रदर्शन गर्ने चार्ड भएको बताउँछन् ।

उनले बलिदिने प्रथा, ठूलासँग आशीर्वाद लिने चलन पावरको पूजा भएको बताए ।

त्यसैले पनि उनले दशैसँग पनि सम्बन्धित होस् र दशैं खाली रमाइलो मात्र होइन, वैचारिक रूपमा पनि उपलब्धिमूलक होस् भनेर दशैंको बिदाका केही फिल्म हेर्न सुझाएका छन् । ती फिल्म उनकै शब्दमा ।

लाइफ इज ब्युटिफुल :

समाजका शक्तिशालीले अरूमाथि दमन गर्ने कुरा जहिले पनि मलाई खतरनाक लाग्छ । संसारको जुनैकुनामा पनि यो हुन्छ । त्यही पेरिफेरिमा मलाई राम्रो लागेको फिल्म ‘लाइफ इज ब्युटिफुल’ हो ।

यो इटालीको फिल्म हो । अस्कर पनि जितेको यो साँच्चिकै अत्यन्त सुन्दर फिल्म हो । बाबु र छोरा एउटा नाजी क्याम्पभित्र थुनिएको कथा यसले समेटेको छ ।

भर्खरको छोरा, नाजी क्याम्पभित्रको त्रासदी केही होइन है । योभित्र पनि रमाइलो छ, रोमाञ्चित छ लाइफ भनेर उसको बाबुले जोक्कर सरह व्यवहार गरेको फिल्म देख्न सकिन्छ ।

बाबुले आफ्नो बच्चाको बालमनोविज्ञानलाई त्रासदीबाट जोगाउन त्यही अनुरूपको व्यवहार गरेर सधैँ रमाइलो वातावरण दिने कोसिसले भरिएएको यो फिल्म एकदमै पीडादायक पनि छ ।

शासकहरू जब दमनमा उत्रन्छन्, उनीहरूले मानिसको सुन्दर जीवन तहसनहस बनाउँछन् । शासकले तहसनहस गर्दैमा जीवन तहसनहस हुन्छ भन्ने छैन । कहीँ न कहीँबाट जीवन उदाएर आउँछ । जीवन एकदमै सुन्दर छ । यो फिल्मले भन्न खोजेको छ ।

द पियानिस्ट :


‘लाइफ इज ब्युटिफुल’ जस्तै कथा बोकेको अर्को फिल्म हो ‘द पियानिस्ट’ । यसलाई रोमन पोलस्कीले निर्देशन गरेका हुन् । यो फिल्मले पनि हिटलरको नरहसंहार कालखण्डको कथा भन्छ । यो पोल्यान्डमा भएको दुईवटा घटनामा आधारित छ । यसले एउटा पियानो बजाउने मानिसले पियानोकै कारण सोच्न पनि नसक्ने वातावरणमा बाँच्नका लागि गरेको सङ्घर्षको कथा भन्छ । उसले भोगेको अकल्पनीय यातनामय जीवनको कथा हो यो । त्योभित्र एउटा कालखण्ड छ ।

बाबेल :

यो एक महत्वपूर्ण फिल्म हो । यसका सम्बन्धमा एकअर्काेलाई बुझ्नु छ भने एकअर्काको कुरा सुन भन्छ । हाम्रो समाज त ‘माइग्रेडेट’ समाज हो ।

एक ठाउँको अर्काे ठाउँमा गएर बस्ने क्रम निरन्तर चलिरहेको हुन्छ । यसले गर्दा हामीलाई एक अर्काेको भाषा बुझ्दैनौँ, संस्कृति बुझ्दैनौँ । नबुझे पनि कमसेकम सुन र त्यो सुनाइले उसको अनुहारमा देखिएको पीडालाई अनुभूति गर भन्छ ‘बाबेल’ले ।

त्यस कारण पनि यो फिल्म सुन्दर छ । फिल्मले तीन देशको परिवारको सङ्घर्ष छ । ती मानिसको घटना, परिघटना एकअर्काेसँग बाँधिएको देखाइएको छ । यसले जीवन जहाँ भए पनि कतै न कतै कोही न कोहीको जीवन गासिएको महसुस गराउँछ ।

दशैंले पनि एक किसिमले एकता, सहअस्थित्वको मर्म बोकेको छ । त्यस्तै भाव यो फिल्मले बोकेको छ ।

एक ठाउँम कसैलाई पीडा भयो भने त्यसको कारणले अर्काे ठाउँका वा अरू कोही पीडित हुन्छ भन्ने फिल्मले देखाएको छ ।

यसका निर्देशक एलेजान्द्रो गोन्जालेज इनारितु हुन् । मेक्सिकोका यी निर्देशक दक्षिण अमेरिकाको फिल्महरूको प्रतिनिधि मानिन्छन् ।

त्यो क्षेत्रको फिल्ममा कथा भन्ने शैली फरक छ । दक्षिण अमेरिकी क्षेत्रको फिल्महरूको कथा भन्ने शैलीको अनुभव गर्नका लागि यो फिल्म राम्रो उदाहरण हो ।

ट्री अफ लाइफ :

यो फिल्म जीवन कसरी बुझ्न सकिन्छ भन्नेमा केन्द्रित छ । फिल्मको नाम चाहिँ ट्री अफ लाइफ हो ।

दशैं एक किसिमले हेर्दा प्रकृतिको पूजा पनि हो । प्रकृति र मानिसको जीवन बीचमा के सम्बन्ध छ ? प्रकृति नबुझी जीवन बुझ्न सकिँदैन । यसकारण पनि फिल्म ‘ट्री अफ लाइफ’ हेर्नु अत्यावश्यक छ ।

मेरा लागि अहिलेको समयको सबैभन्दा अत्यान्त विद्ववान, सबैभन्दा सिर्जनशील केही फिल्म मेकर मध्ये एक हुन् यस फिल्मका निर्देशक– टेरेन्स मल्लिक । यिनी अस्तित्ववादी दर्शनबाट एकदमै प्राभावित छन् ।

अतित्ववादले मानिसको अस्तित्व उसको सोच र परिस्थितिले निर्धारण गर्छ भन्छ । यो एक किसिमले भन्ने हो भने दर्शनिक फिल्म हो ।

जीवन दर्शनबिना सम्भव छैन भन्ने मलाई लाग्छ । त्यसैले पनि म दार्शनिक फिल्म रुचाउँछु । अर्काे कुरा हरेक फिल्म मेकरको एक न एक उद्देश्य हुनुपर्छ भन्ने मेरो विचार हो । फिल्म बनाइरहँदा उनले के उद्देश्य लिएका छन् भन्ने हुन्छ ।

टेरेन्च आफ्ना फिल्ममा जीवनको अर्थ खोजिरहेको देख्न सकिन्छ । यिनको फिल्म हेर्दा लाग्छ, जीवन के हो भनेर खोज गरिरहेका छन् ।

हामी जीवनलाई ख्याल गर्दा धर्ममा ध्यान गर्छांै । यी मेकर फिल्ममा ध्यान गर्छन् । तर यिनको फिल्मले पनि दर्शनको माध्यमबाट अध्यात्मको यात्रा गर्छन् । यी आध्यात्मिक फिल्म मेकर पनि हुन् ।

इन्टरस्टेलर :

यस फिल्मलाई क्रिस्टोफर नोलनले बनाएका हुन् । यी पनि मलाई मन फिल्म मेकर हुन् । यी मेकरको बेसिक मानव विज्ञान हो । उनको एक ‘इन्टरस्टेलर’ भन्ने फिल्म छ ।

यो फिल्म दशंैमा हेर्नुहोस् भनेर सबैलाई भन्छु म । यी मेकरले समय खोजेर समयको वैज्ञानिकता फिल्ममा प्रस्तुत गरेका छन् । नेपाली फिल्म निर्माणलाई नियाल्ने हो भने अधिकांश फिल्ममेकर कुनै पनि चीजबाट प्रभाव नपरेको देख्न पाउँछौं ।

तर यी फिल्ममेकर अतित्वको विज्ञानबाट प्रभावित छन् । उनले यो फिल्ममा समयको ज्ञानलाई अध्ययन गरेका छन् । फिल्मले समय के हो भन्ने कुरा अचम्मलाग्दो तरिकाले प्रस्तुत गर्छ ।

यो छुटाउनै नहुने, हेर्नै पर्ने फिल्म भन्छु म । नोलानकै अर्काे ‘इन्सेक्सन’ भन्ने फिल्म पनि छ । यसमा सपनाभित्रका सपनाको कथा हो । अर्काे ‘मोमेन्टो’ भन्ने फिल्म उल्टै स्टालिस छ ।

यो चाहिँ स्मरण गुमाएको व्यक्तिले स्मरण हासिल गर्न गरेको सङ्घर्षको कथा हो । (हिन्दी फिल्म गजनी यही फिल्मबाट प्रभावित भएको हो तर यो गजनीभन्दा धेरै स्तरीय छ ।

नोलानको फिल्म मनोरञ्जनको साधन मात्र होइन, सत्यको खोज र विज्ञानको उजागर पनि हो ।

पल्प फिक्सन :
पछिल्लो समयका चर्चित निर्देशकमा क्वेन्टिन टेरेन्टिनो पनि पर्छन् ।

हलिउडले जुन सहज अवधारणामा फिल्म बनाउँथ्यो, यिनले त्यो अवधारण नै भत्काइदिए । यिनी विद्रोही फिल्ममेकर पनि हुन् । उनलाई हलिउड फिल्मको प्रतिरोधी आवाज मानिन्छ ।

फ्रान्समा यस्तै काम ज्याँ लक गोर्दादले गरेका थिए ।

क्वेन्टिनले हलिउडमा तहल्का मच्चाइदिए । उनलाई ‘पल्प फिक्सन’ले चिनायो तर ‘रिजरभ्वायर डग’ उनको पहिलो फिल्म हो । दुवैमध्ये कुनै एक फिल्म हेर्दा हुन्छ । उनको फिल्मले दिमागलाई हिंसात्मक ढङ्गले हल्लाइदिन्छ । हिंसालाई पनि उनले अत्यन्त रोचक ढङ्गले प्रस्तुत गरिदिएका छन् ।

हिंसालाई पनि कलात्मक तरिकाले प्रस्तुत गर्न सक्ने यी साँच्चिकै आधुनिक फिल्ममेकर हुन् । यिनले फिल्मलाई आधुनिकताको टच दिए ।

अधिकांश चलचित्र दुई कुराले बन्ने गरेका छन् । त्यो हो समय र स्पेस । यी दुवै कुरा टेरेन्टिनोले पनि प्रयोग गरेका छन् । उनको प्रयोगले नै बलियो मनोरञ्जन दिन्छ । त्यस कारण पनि उनका फिल्म हेर्दा हुन्छ ।

मेमोरिज अफ मडर :

कोरियन फिल्मको अवधारणा अन्यभन्दा अलि फरक छ । कोरियन फिल्महरूका पनि मलाई मेमोरिज अफ मडर भन्ने फिल्म छ । यो कोरियन फिल्म इतिहासको एउटा सुन्दर फिल्म हो ।

यो फिल्म एउटा सिरियल किलिरको खोजीका बारेमा छ । सबै कुरा सफल हुन्छ भन्ने छैन । त्यो पात्रहरूले मनोविज्ञान अवथा हत्यारा खोजी गर्दाको सूक्ष्मता त्यसमा प्रस्तुत छ ।

दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’

कोरियनहरू फिल्ममा विषयवस्तुलाई अत्यन्त सूक्ष्म तरिकाले प्रस्तुत गर्न सक्छन् ।

कोरियन फिल्मको सबैभन्दा महत्वपूर्ण पाटो भनेको छायाङ्कन र सम्पादन हो । पछिल्लो समय कोरियन फिल्म प्रेमका विषयमा आएका छन् । कोरियन फिल्मले ठूलो दर्शन दिन खोज्दैन । तर उनीहरूले जीवनलाई निकै राम्रोसँग देखाएका हुन्छन् ।

यदि कुनै मान्छे यस्तो परिस्थितिमा फस्यो भने के होला त ? भन्ने प्रश्नमा फिल्मले पुर्याउँछ । प्रश्न उब्जाउने र प्रश्न खोजी गर्ने कुरामा कोरियन फिल्म अत्यन्त शक्तिशाली हुन्छन् । यो फिल्म आफैमा शक्तिशाली भएका कारणले हेर्ने हो भन्ने लाग्छ ।

मासुम र सद्मा :

भारतका छुटाउनै नहुने दुई फिल्म छन् । ती हुन् ‘मासुम’ र ‘सद्मा’ । यी दुवै फिल्ममध्ये एउटा अत्यन्त व्यावसायिक मोडालिटीको फिल्म हो ।

अर्काे चाहिँ वैकल्पिक धार अर्थात जीवनलाई जस्ताको तस्तै प्रस्तुत गर्ने र धेरै रोमाञ्चकता नभएको फिल्ममा पर्छ । यी दुई फिल्मको बीचबाट भारतमा मध्यमार्गीय धारको पनि विकास भएको छ, जसले फिल्ममा संवेदनशील विषयमा उठाउने र त्यसमा रोमाञ्चितता पनि भर्ने, धेरै खर्च पनि नगर्ने गरे ।

तर जीवनको पीडा र भाव राम्रोसँग प्रस्तुत गर्ने सिर्जनाका रूपमा यी दुवै फिल्म पाउरफुल छन् । त्यसैले यी दुवै फिल्म हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

‘मासुम’ फिल्ममेकर शेखर कपुर हो, भने बलु महिन्द्र भन्नेको ‘सद्मा’ हो । यी दुवै फिल्मले साउथ र तामिल दुवैको उत्कृष्ट एलिमेन्टलाई समायोजन गरेको छ । यी दुई चलचित्रले जीवन र सम्बन्धको विषयलाई पनि अत्यन्त सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन् ।

यसले मानवीय समवेदनालाई पनि गहन रूपले नियाल्दै भित्री मनबाट आँखा रसाउने बनाएको छ । हिन्दी फिल्ममा मलाई शक्तिशाली लागेका फिल्ममध्ये दुई यी हुन् ।

‘रेज द रेड लाल्टिन’ र ‘नट वान लेस’ :

चिनियाँ फिल्महरूमा जीवनलाई हेर्ने दृष्टिकोणको नै फरक हुन्छ । झाङ युमु चिनियाँ निर्देशकमध्ये सबैभन्दा लोकप्रिय प्रभावशाली निर्देशक हुन् ।

उनको दुईवटा फिल्म महत्वपूर्ण छन् । ‘रेज द रेड लाल्टिन’ र नट वान लेस । यी दुईमध्ये जुनै फिल्म हेर्दा पनि हुन्छ ।

‘नट वान लेस’ माओकालीन युद्धको प्रभावमा जीवनको अत्यन्त गहिरा व्याख्याहरू छन् । चिनियाँ समाजमा पनि हाम्रो जस्तो जमिनदार प्रथा र सामन्ती प्रथा पहिलेदेखि नै थियो । तर चिनियाँ समाजको सबैभन्दा सुन्दर पक्ष भनेको विद्रोह हो ।

विद्रोह ठूलो हुनुपर्छ भन्ने छैन । हाम्रोमा विद्रोह ठूलो हुनुपर्छ, लड््नुपर्छ, बन्दुक हान्नुपर्छ भन्ने छ । उनीहरूको यस्तो विद्रोह छ, जुन विद्रोहमा सामान्य मानिसले पनि सङ्घर्ष गर्छ । ती सङ्घर्षको सालिन प्रस्तुति यी दुई फिल्म हुन् । यी फिल्म मेरा विचारमा अत्यन्त शक्तिशाली छन् ।

‘क्राउचिङ टाइगर र हिडन ड्र्यागन’ :

याङ ली अर्का चिनियाँ मुलका अङ्ग्रेजी फिल्ममेकर हुन् । उनले हलिउडमा पनि राम्रा फिल्महरू बनाएका छन् ।

उनले चिनियाँ फिल्म निर्माणको क्षमतालाई बढवा दिए । उनले ‘क्राउचिङ टाइगर र हिडन ड्र्यागन’ भन्ने फिल्म बनाए । हलिउडमा प्रवेश गरेपछि उनले दुई निकै बलियो फिल्म बनाए ।

ती ‘लाइफ अफ पाई’ र ‘ब्रोकब्याक माउन्टेन’ भन्ने हुन्  । तर दशंैमा म ‘लाइफ अप पाइ’ भन्ने फिल्म हेर्न सुझाउँछु ।

यो फिल्मले जीवनमा जस्तोसुकै कठिन परिस्थति नै किन नहोस् जीवनको सौन्दर्य सङ्घर्ष गर्नुमा छ, बाँच्नुमा छ भन्ने कुरा प्रस्तुत गरेको छ ।

यी निर्देशक प्रविधिको अत्यन्त सुन्दर प्रयोग गर्न सक्ने फिल्मनिर्माता हुन् । यो फिल्म आधुनिक प्रविधिको अत्यन्त सुन्दर प्रयोग गरेर जीवनको सबैभन्दा सौन्दर्य पक्ष यो फिल्मले प्रस्तुत गरेको छ ।

डकुमेन्ट्री फिल्म : ‘फोर हर्स म्यान’ 
यस अगाडि भनेका सबै फिल्म फिक्सन फिल्म हुन् । संसार कसले र कसरी चलिरहेको छ भन्ने जान्नका लागि भने डकुमेन्ट्री फोर हर्स म्यान छ । यो हेरिसकेपछि संसार कसरी चलिरहेको छ छर्लङ्ग हुन्छ । हामी कसका दास हौँ । कसरी हामी हाम्रो जीवनको आधारहरू निर्धारण गर्छौं भन्ने समेत फिल्ममा छ ।

‘ग्रेटर नेपाल’ : 
म मैले बनाएको फिल्म ‘ग्रेटर नेपाल’ पनि हेर्न सुझाव दिन्छु । ‘ग्रेटर नेपाल’ इतिहासबारेमा छ । नेपालको इतिहास जान्नका लागि यो फिल्मले धेरै हदसम्म सहायता गर्छ ।

Source ratopati

Share