अभिनेत्री श्वेता खड्काको दशैँका दर्जन किस्सा : पिङ खेल्दा लुगा च्यातिन्थ्यो

अभिनेत्री श्वेता खड्काको दशैँका दर्जन किस्सा : पिङ खेल्दा लुगा च्यातिन्थ्यो

कलाक्षेत्रमा अभिनेत्री श्वेता खड्काको परिचय निर्माताका रूपमा पनि छ । उनले पछिल्लो समय निर्माण गरेको चलचित्र ‘कान्छी’ केही पहिले प्रदर्शनमा आएको थियो । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग ‘कहाँ भेटिएला’मा स्क्रिन सेयर गर्दै अभिनयमा भित्रिएकी श्वेताले केही सफल चलचित्र दिएकी छन् । पछिल्लो समय समाजसेवामा समेत सक्रिय देखिएकी उनले  स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम श्वेताश्री फाउन्डेसन स्थापना गरेर सिन्धुपाल्चोकको माझी बस्तीमा ६२ घर निर्माणसमेत गरिरहेकी छन् । उक्त घरहरू अहिले निर्माणको अन्तिम चरणमा रहेको उनले सुनाइन् । चाडपर्वसँग पनि उनको विशेष लगाव रहने गरेको छ । देशैँ उनको मनपर्ने चाड पनि हो । उनी हरेक दशैँ उत्साहका साथ मनाउँदै आएकी छन् । उनी विगतका दशैँका केही किस्सा यसरी सम्झिन्छिन् ।

डिमान्ड धेरै गर्थें
सानोछँदा दशैँ एकदमै रमाइलो लाग्थ्यो । अहिले पनि राम्रो नलाग्ने भने होइन । तर बच्चामा भने अहिलेभन्दा बेग्लै किसिमको उत्साह हुन्थ्यो । दशैँका नजिकिँदै गर्दा  आफूलाई घरका मानिस कसले कस्तो कपडा किन्दिन्छन् होला भन्ने कौतुहल हुन्थ्यो ।

सपिङका लागि मलाई बजार लगियो भने पसलमा सजाएर राखिएका डमी नै देखाएर त्यो चाहिन्छ भनेर जिद्दी गर्थें । म सानोमा पहिरनको डिमान्ड धेरै गर्थें । त्यतिबेला धेरै डिमान्ड गरेर किनेको पहिरन अहिले पनि याद छ ।

त्यो जामा र प्यारलाल कुर्था सुरुवाल थियो । उक्त कुर्था मैले भारतीय सिरियल ‘कसौँटी जिन्दगी’मा स्मृति पात्रले लगाएको देखेकी थिएँ । सोही कुर्था बागबजारको एउटा सोरुमा देखेपछि डिमान्ड गरेँ ।
उक्त कुर्थासुरुवाल चाहियो भनेर मैले गरेको जिद्दीको अगाडि परिवारले सुख्ख नै पाएनन् । रातो कलरको सो कुर्थासुरुवालको मूल्य कति थियो । थाहा छैन तर निकै महँगो भने थियो ।

हिरोइन भइसकेको थिइनँ
बुबाले मलाई सानोमा टमवे टाइपको गेटअप गरेको मन पराउनु हुन्थ्यो । उहाँ पाइट, हाफ पाइन्ट, टिसर्ट लगाउन प्रेरित गर्नुहुन्थ्यो । ‘टिपिकल्ली कुर्था सुरुवाल लगाउने नक्कली जस्तो हुन्छन्’, उहाँ भन्नुहुन्थ्यो । मेरो भने सानैदेखि कुर्था सुरुवाल, लेहेङ्गा, स्कर्टमा मन बसेको थियो ।

कुरो त्यतिबेलाको हो, जतिबेला भर्खर मैले प्लस टु सकेकी थिएँ । सो समय किनेको लेहेङ्गा दशैँ पहिरनमा अहिलेसम्मकै राम्रो हो । सो लेहेङ्गा मेरा दिदीहरू, साथीहरूले सेयर गरेर पनि लागाए । त्यति मात्र कहाँ हो र त्यही पहिरनमा धेरैले फोटोसुटसमेत गरेका थिए ।

सो लेहङ्गा मैले दशँै अफरको विज्ञापनमा पत्रिकातिर देखेको थिएँ । उक्त लेहेङ्गा स्काइब्लु र डार्क कलरको थियो । मैले लगाएको समय सबैको आँखा उक्त ड्रेसमै अडिएको देखिन्थ्यो ।

त्यही लेहेङ्गा लगाएर म मङ्सिरमा एकजना दाइको विवाहमा पनि सरिक भएको थिए । उक्त ड्रेसका कारण सबैले मलाई कस्तो राम्रो हिरोइन जस्तो देखिएको भनेर प्रसंशा गरेका थिए । सो समय म हिरोइन भने भइसकेको थिइन । त्यसको केही समयपछि चलचित्र ‘कहाँ भेटिएला’मार्फत हरोइन भएँ ।

दक्षिणा धेरै दिने माइलो मामा
दशैँमा टीका लगाएर दक्षिणा दिने चलनले गर्दा पनि सानोमा दशैँ विशेष लाग्थ्यो । सबैभन्दा धेरै दक्षिणा मलाई मामुले दिनुहुन्थ्यो । मामुले जुनै समयमा पनि मलाई दिदी, बहिनीहरूको भन्दा बढी दक्षिणा दिनुहुन्थ्यो । त्यो दक्षिणा अरूले देखे रिस गर्थे । त्यसैले पाउने बित्तिकै लुकाउनुपथ्र्योे ।

त्यसपछि धेरै दक्षिणा दिने भनेको माइलो मामा । अहिले पनि उहाँ धेरै दिनुहुन्छ । म सानो छँदा पनि उहाँ एक सय बढी दिनुहुन्थ्यो । उहाँले दिने दक्षिणा मलाई भन्दा अरूलाई कम हुन्थ्यो । मामाले दिएको दक्षिण मेरो धेरै भनेर बहिनीहरूले झगडासमेत गर्थे ।

दशैँ मामाघर जान पाइने कारणले पनि विशेष नै थियो । किनभने दशैँ घरमा भन्दा पनि मामाघरमा धेरै रमाइलो हुन्थ्यो । त्यहाँ आफ्नै उमेरका मामाका छोराहरू थिए । उनीहरू साथीभाइ जस्तै भए । मामा माइजुले पनि निकै माया गर्नुहुथ्यो । उहाँहरूकी सानो भान्जी म मात्र थिएँ । अरू सबै ठूला भइसकेका थिए ।

सबैकी मनपर्ने भान्जी थिएँ
दशैँको स्कुल छुट्टी हुनुअगाडि नै म मामाघर जान मन गर्थें । तर शिक्षकहरूले जानु हुँदैन, पढाइ बिग्रन्छ भनेर परिवारलाई रोक्थे ।

दशैँ आयो कि मेरा नयाँ पहिरन धेरै हुन्थ्यो । घरको सबै सदस्यको अलवा मामाघरमा पनि किनिदिएको हुन्थ्यो । राम्रा डिजाइनका जामा, फ्रकहरू मामाले किनिदिनु हुन्थ्यो । खानेकुरा पनि रोजाएर किनिदिनु हुन्थ्यो । उहाँहरूको म सबैभन्दा मन पर्ने भान्जी थिएँ । मामा माइजु पनि त्यसै भन्नुहुन्थ्यो ।

चलफ्रासमा जहिले पनि जित्छु
सानोमा तास खेल्न त्यति जान्दिनथेँ । मैले एसएलसी दिएपछि तास खेल्न थालेको हो । त्योभन्दा अगाडि म लङ्गुरबुर्जा ग्रुपमा पर्थे । लङ्गुरबुर्जामा जितेको भनेको कहिल्यै हुँदैन थियो । तर पनि आमासँग पैसा मागीमागी खेल्थे । मेरो घर अगाडि बसपार्क थियो । बसपार्क वरिपरि लङ्गुरबुर्जा खेलाउने धेरै हुन्थे ।

ठूलो हुँदै गएपछि मलाई चलफ्रास मनपर्यो । यसमा त म जहिले पनि जित्छु । मेरो परिवार, आफन्त सबैले अहिले पनि भन्ने गर्नुभएको छ, ‘चलफ्रासमा यसले जहिले पनि जित्छ’ । यो खेलेर म सबैको दक्षिणा जित्थे । खेलखेल्दै जाँदा एक पटक मनोज भन्ने भाइको जुत्ता किन्न राखेको पैसासमेत जिते ।

तर पछि मैले फिर्ता दिएँ । अहिले पनि सधैँ दशैँमा उसले सो कुरो मलाई सम्झाउने गरेको छ । दशैँ आयो कि हामी पहिलेका यस्ता मुमेन्ट सेयर गरेर रमाइलोसमेत गर्छौं । गतवर्षको दशैँमा पनि मैले तासमा सबैको पैसा जितेको थिए । सबैले अबदेखि मसँग तास नखेल्ने भने । मसँग सानोसानो बच्चा पनि खेल्न आउँछन् । सबैको पैसा जित्ने मै हुँ ।

दक्षिणा राति समातेरै सुत्थेँ 
दशैँको दक्षिणा कलेक्सन गर्ने बानी सानोमा मेरो थियो । जहाँजहाँ टीका लगाउँथे । त्यहाँ त्यहाँ दक्षिणा कति भयो भनेर गन्थेँ । केही थपियोकी कतिभयो भनेर एक्साइटे हुन्थे ।

दक्षिणा अरूले चोरी दिन्छन् भनेर राति पनि समातेर सुत्र्थे । सिरानमा राखेर सिरान च्यापेर सुत्थे । दशैँभरी जम्मा भएको पैसा सबै ममीलाई दिन्थेँ । केहीमा खर्च हुँदैन थियो । मलाई चाहेको कुरो सबै ममी, दिदीहरूले किनिदिन्थेँ ।

पिङ खेल्दा लुगा च्यातिन्थ्यो
हाम्रो घर पनौती बजारमै थियो । घर अगाडि नै पिङ हाल्थेँ । पिङ खेल्न मलाई निकै मनपथ्र्यो । तर उभिएर खेल्न भने डर लाग्थ्यो । अहिले पनि डर लाग्छ । धेरैजसो बसेर खेल्थेँ । पिङ खेल्न सजिलै पाइँदैन थियो । लाइन बसेर पालो आउनुपथ्र्यो ।

म धेरै समय पिङमा झुन्डिन्थे । कहिले काहीँ त खाना पनि खादिनँ थिएँ । पिङ धेरै खेल्दा लुगा च्यातिन्थ्यो । पिङमा भीड भएपछि एउटा नाइके तोकिन्थ्यो । त्यो नाइकेले पालैपालो पिङ खेलाउँथ्यो । आफ्नो पालो कहिले आउँछ भन्ने सोधेर नाइकेलाई हैरान पार्थे । पालो आएपछि अरू भन्दा धेरै खेल्थे । कहिले काहीँ रहर नपुग्दै ओराल्थे । सो समय झगडासमेत गर्थें ।

मन्दिरमा नियमित जान्थेँ
जब दशैँका लागि भनेर स्कुल बिदा हुन्थ्यो, त्यतिबेला मेरो भुइँमा खुट्टा हुँदैन थियो । स्कुल जान पर्दैन, घम्न पाइन्छ भनेर । आमासाथीहरूसँग दशैँभरी म मन्दिर जान्थेँ । दिनदिनै भिन्नभिन्नै मन्दिर गइन्थ्यो । हाम्रो घर वरिपरि धेरै मन्दि थिए । मेरो घरबाट १५ मिनेटको बाटोमा कुलदेवताको मन्दिर थियो ।

उक्त मन्दिर पनौती बजारको भगवती मन्दिर हो । सो मन्दिर अहिले पनि निकै पपुलर छ । उक्त मन्दिरमा म नियमित जान्थे । सो मन्दिरमा दशैँको बेला मेला लाग्ने गरेको छ ।
बिहान सधैँ नयाँ नयाँ लुगा लगायो । मन्दिर गयो । दिनचर्या यस्तै थियो । मन्दिर जाने ग्रुपमा ममी, मेरा साथीहरू र उनीहरूको ममीहरू पनि हुन्थे । कहिले काहीँ साथीसाथी मात्र पनि जान्थ्यौँ ।

सधैँ पार्टी हुन्थ्यो
दशैँमा छरिएर रहेका आफन्तसँग पनि भेट हुन्छ । मेरा दिदीहरू कोही भैरहवा, कोही विदेशतिर र कोही कता छरिएर रहेका छन् । दशैँमा सबैजना घरमा भेला हुन्थे । वर्षाैंदेखि नभेटेको व्यक्तिसँग भेट हुन्थ्यो ।
घरमा सधैँ विभिन्न परिकार पाक्थे । सधैँ पार्टी हुन्थ्यो । यो जमघटले मलाई दशैँ स्पेसल लाग्थ्यो । आफन्तलाई आफन्तसँग भेटाउने दशैँको यो पाटो अहिले पनि महत्वपूर्ण लाग्छ ।

मैले दिदीका छोराहरू, भाइबुहारी लगायतलाई टीका लगाउनुपर्छ । हाम्रोमा आफूभन्दा सानोलाई टीका लगाउने चलन छ । कसले कसलाई टीका लगाउने भन्ने उमेरअनुसार निर्धारण हुन्छ । घरमा सबैभन्दा सानो उमेरकाले टीका लगाउन घन्टौँ कुर्नुपर्छ ।

घरमा मार हान्न दिइनँ
पहिले हाम्रो घरमा दशैँमा एक दिन बोका र अर्काे दिन खसी चढाउने चलन थियो । म बुझ्ने भएदेखि सो चलन हट्यो । त्यति बेलादेखि मैले घरमा मार हान्न दिइनँ । सो समय म ८ कक्षामा पढ्थे ।

घरका सबैलाई कन्भिन्स गरेर मार हान्न रोकेकी हुँ । सो समयदेखि मासु खाने तर घरमा नकाट्ने । बाहिरबाट ल्याउने चलन चल्यो । अहिले पनि त्यही नियम छ ।

यो पटक पनि त्यस्तै गर्ने डिसकस भइसक्यो । मासु किन्दा फोहोर, जे पनि गरेको, पहिलै मरेको पनि पर्छ भनेर आफ्नै अगाडि काटेर ल्याउने गरेका छौँ ।

केही दिन अगाडि खसी घरमा ल्याएर बाँध्यो । कराउँछ । खानेकुरा दिनुपर्यो । ऊ दुब्लाउँछ पनि, कराएर हामी राति सुत्न पनि पाउँदैनौँ । फेरि केही दिन पालेपछि त्यसैलाई काटेर खाँदा नरमाइलो लाग्दो रहेछ ।
त्यसैले बाहिर काटेर ल्याउने चलन चलाएको घरमा । चढाउनुपर्ने ठाउँमा नरिवल चढाउने गरिएको छ ।

मामाघर जानेबेला हात भाँचियो  
करिब म १० वर्षको थिए होला । मामाघर जानका लागि आफूले रोजेको कुर्था सुरुवाल लगाएर निस्किको थिए । राम्रो पहिरन र मामाघर जाने भनेपछि निकै दङ्ग थिएँ । भुइँमा खुट्टै थिएन । आमाहरू भन्दा केही अगाडि सिट कुर्न बसपार्क निस्किएँ ।

सिटकुर्दै गर्दा बस छुट्ने बेला भयो । सो बेलासम्म पनि आमाहरू नआएपछि बस जानेबेला भयो भन्दै म दगुर्दै आमाहरूलाई बोलाउन घरतिर लागेँ । घर पुगेर भर्याङ चढ्दै थिएँ । सो समय काठको भर्याङ थियो । भर्याङमा चिप्लिएर तल पछारिएँ । हात पनि भाँचियो ।

मामाघरमा लङ्गुरबुर्जा निकै खेलिन्थ्यो । घरमा खेल्दा हारे पनि मामाघरमा भने कहिल्यै हार्दैनथेँ । हारे भने पनि जिद्दी गरेर मलाई जित्नै पथ्र्याे ।

दशैँमा हामी सधैँ मामाघरको हजुरबुबा, हजुरमुमा बस्ने घरमा जम्मा हुन्थ्यौँ । मामाहरू बिहानैदेखि घरमै तासमा रमाउनु हुन्थ्यो । माइजूहरूलाई खानेकुरा पाकाउन भ्याई नभ्याई हुन्थ्यो ।
फूलपातीको दिनदेखि नै मासुका परिकारहरू घरमा बन्थ्यो । दशैँमा लामो यात्रा भनेको मेरो काठमाडाँै पनौती हुन्थ्यो ।

१७ हजार आईसीको लेहेङ्गा
मैले लगातार दुई वर्षको दशैँ मनाइनँ । सो कारणले मेरो परिवारले पनि मनाएन । गतवर्ष तीन वर्षमा दशैँ मनाएको थिए । श्री जी (अभिनेता श्रीकृष्ण श्रेष्ठ)को निधनले दुई वर्ष दशैँ मनाउनु पर्छ भन्ने फिलिङ नै आएन । तीन वर्षपछि मैले दशैँ मनाएको भनेर मिडियामा पनि आएको थियो ।

दशैँ अहिले पनि निकै रमाइलो लाग्छ । दशैँमा पहिरन लगाउन पनि म शौखिन छु । दशैँमा कस्तो पहिरन लगाउने, के लगाउने भन्ने पहिले आफैले डिसिजन गर्थें । अहिले ड्रेस डिजाइनरले तय गर्ने गरेको छ ।
यो दशैँमा मैले लगाउने ड्रेस डिजाइनरले तयार गरिसकेका छन् । सबै ठाउँमा जाँदा । ६ दिनसम्म पनि टीका लगाउन हिँड्नुपर्ने हुन्छ ।

५, ७ वर्ष अगाडि इन्डिया गएको थिएँ । सो समय मैले किनेको लेहेङ्गा दशैँ पहिरनमा अहिलेसम्मकै महँगो थियो । १७ हजार आईसी त्यसका लागि तिरेको थिएँ । उक्त लेहेङ्गा अहिले मसँग छैन । मैले कसैलाई दिए ।

Source ratopati

Share