मुसहरको पहिलोे दसैंको टीका

मुसहरको पहिलोे दसैंको टीका

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीमा यस वर्षको दसैंमा रौंनक छाएको छ ।  मुसहरले पहिलो पटक दसैंको टीका ग्रहण गरेका छन् । जीवनमा गरिबीका कारण उठन नसकेका मुसहरले चाडपर्वमा मिठोमसिनो खाने दिने आएको छ ।

धुर्मुस–सुन्तलीले मुसहरका लागि एकीकृत नमुना बस्ती बनाइदिएपछि उनीहरुको दिनचर्चा निरन्तर फेरिदो क्रममा छ। १०४ वर्षीया मरनीदेवीको हातबाट उनीहरुले टीका ग्रहण गरेका हुन् । टीका कार्यक्रममा बर्दिबास नगरपालिका पूर्व कार्यकारी अधिकृत रामकुमार कार्की, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतम, एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर सहभागी थिए ।

बस्तीका बच्चादेखि वृद्धवद्धाहरुले विजयादशमीको टीका लगाएका छन् । टीकापछि बस्तीका स्थानीयले संयुक्तरुपमा भोज खाएका थिए । मुसहरहरुलाई बर्दिबास नगरपालिका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्कीले  दसैंको अवसरका सामुहिक भोज खुवाएका हुन् ।

मुसहर बस्तीमा कार्कीले पिङको व्यवस्था पनि गरिदिएको मञ्जय मुसहरले जानकारी दिए । उनीहरुले घर घरमा खसी काटेर दसैं मनाएका छन् । रोहित मुसहरले जीवनमा पहिलो पटक दसैको टीका लगाउँदा आफूहरु दंग भएको बताए । ‘हामी पनि खुसी छौं,बच्चा पनि रमाएका छन्,’ उनले भने । 


Source annapurnapost

Share